निर्वाचन कार्यालयमा धर्ना
सुर्खेत, ७ चैत ।
निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्णय गरेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेतले सोमवार जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा धर्ना दिएको छ ।पार्टीले देशव्यापी रूपमा तय गरेको आन्दोलन अन्तर्गत सुर्खेतमा पनि धर्ना दिइएको हो ।
स्थानीय मंगलगढीचौकबाट ¥यालीसहित गएका राप्रपाका कार्यकर्ताहरूले निर्वाचन कार्यालयलाई ज्ञापनपत्र बुझाउनुका साथै एक घण्टा धर्ना दिएका हुन् । निर्वाचन आयोगले पार्टीको मुख्य एजेण्डा हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रलाई खारेज गरी पार्टीको विधानबाट हटाउने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी त्यसको विरोधमा उत्रिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर बजारमा सनातन हिन्दु राष्ट्र कायम गर, धर्म निरपेक्षता खारेज गर, संवैधानिक राजसंस्था कायम गर, अवैधानिक निर्णय खारेज गर लगायतका नारा लगाउँदै राप्रपाका नेता तथा कार्यकर्ताले वीरेन्द्रनगर बजार परिक्रमा समेत गरेका थिए ।
प्रकाशित मितिः ८ चैत्र २०७३, मंगलवार १५:१९
साझा बिसौनी संवाददाता ।