अकोरावको प्रदेश भेला सम्पन्न

सुर्खेत, ७ चैत ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) प्रदेश नम्बर ६ को भेला ७ बुँदे घोषणापत्र जारी गर्दै सोमवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । घोषणापत्रमा एक जिल्ला एक नमुना रेडियो स्थापना गर्न पहल गर्ने उल्लेख गरिएको छ । त्यस्तै महिला, बालबालिका, पिछडिएको क्षेत्र, लोपोन्मुख समुदाय तथा स्थानीय भाषालाई प्राथमिकता दिने, विपद्, प्रकोप, महामारीका बारेमा समुदायलाई शिक्षा दिने सामग्री प्रशारणमा बढवा दिँदै उच्च प्राथमिकता दिने घोषणापत्रमा उल्लेख छ ।
यसैगरी सबै सामुदायिक रेडियोहरूले १० वर्षे रणनैतिक योजना निर्माण गरी कार्यान्वयन गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, विकास निर्माण र सुशासन तथा मानवअधिकार कार्यान्वयनको क्षेत्रमा सरोकारवालासँग सहकार्य गर्ने बताइएको छ । जल, जंगल, जडिबुटी र पर्यटन क्षेत्रको विकासको लागि ६ नम्बर प्रदेशका रेडियोहरूमार्फत् प्राथमिकता दिने र स्थानीय तहसँगको सहकार्यलाई स्थापित गर्ने निर्णय भएको अकोराव प्रदेश नम्बर ६ का सदस्य सूर्यप्रकाश कँडेलले जानकारी दिए ।
कार्यक्रममा अकोरावका केन्द्रीय अध्यक्ष सुवास खतिवडाले यस क्षेत्रका सामुदायिक रेडियोका माध्यमबाट नै विकासको बाटो पहिल्याउन सकिने भन्दै दिगो विकासका लागि स्थानीयस्तरका सबै निकायले साझेदारी गर्नुपर्ने जिकिर गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका
केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतम, अकोरावका केन्द्रीय महासचिव गोविन्द देवकोटा, कोषाध्यक्ष लक्ष्मण खड्का, पूर्व लेखासमिति संयोजक तुला अधिकारी, निमित्त क्षेत्रीय प्रशासक जगत बस्नेत, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल, जिल्ला समन्वय समितिका सचिव अमृत लम्साल लगायतले आ–आफ्ना भनाइ राखेका थिए । कार्यक्रम अकोराव प्रदेश नम्बर ६ का अध्यक्ष रमेश गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   ८ चैत्र २०७३, मंगलवार १५:१३