महिलामा ‘आङ खस्ने’ समस्या, सुर्खेतमा ४२ प्रतिशत पीडित
सुर्खेत, ७ चैत ।
घुमखहरे निवासी टीका (नाम परिवर्तन) ले १४ वर्षको उमेरमै विवाह गरिन् । विवाह भएको एक वर्षमा नै उनको पहिलो बच्चाको जन्म भयो । उमेर नपुग्दै विहे गरेकी उनले उचित स्याहार पाइनन् । उनको (आङ) अर्थात् पाठेघर खस्यो । समयमा नै उपचार नगर्दा उनको पाठेघर नै झिकेर फालियो ।
उनी भन्छिन्, ‘धेरै पीडा सहें, कति–कति बेला त मरेर पनि बाँचिरहे । डरले गर्दा परिवार र श्रीमान्लाई भनिन, समयमा नै उपचार नहुँदा धेरै दुःख
पाएँ ।’ गाउँमा पाठेघर सम्बन्धी उपचार शिविर सञ्चालन भएको बेलामा छिमेकीले लगेपछि उनको पाठेघर नै झिकेर फाल्नुपर्यो । आफूले सानैमा बिहे गर्दा अहिले आधा शरीरको भरमा बाँच्नु परेको दुखेसो पोखिन् ।
वीरेन्द्रनगरकी मीना (नाम परिवर्तन) को पनि पीडा उस्तै छ । कक्षा सातमा पढ्दा–पढ्दै भागेर विहे गरिन । सानै उमेरमा विवाह गरेकी मीनाले १६ वर्षको उमेरमा नै बच्चा जन्माइन् । उनले सुत्केरी अवस्थामा राम्रो स्याहार पाइनन् । जसको परिणाम आङ खस्ने समस्याको सिकार भइन् । सानै उमेरमा बच्चा जन्माउँदाको परिणाम उनले अहिले भोगिरहेकी छिन् । उनले भनिन्, ‘पाठेघर खसेको आठ वर्ष भयो, ‘विवाह भएको केही वर्षसम्म त श्रीमान्सँग राम्रै सम्बन्ध थियो, तर जब मेरो पाठेघर खस्यो तब श्रीमान् टाढिनु भयो ।’ समयमा नै उपचार नपाउँदा र रोग लुकाउँदा उनको पनि पाठेघर झिकियो । त्यसपछि उनका श्रीमान्ले दोस्रो विहे गरे । पाठेघर खसेको पीडाभन्दा पनि ठूलो पीडा छ, उनलाई श्रीमान्ले आफूलाई छोडेकोमा । उनी भन्छिन्, ‘घरपरिवार र श्रीमान्लाई मेरो पीडा सुनाउन सकिन, आफै मर्नु न बाँच्नुको अवस्थामा पुगे ।’
बालविवाहका कारण नै महिलाहरूमा पाठेघर खस्ने समस्या बढ्दै गएको छ । सानै उमेरमा विवाह गर्दा मानसिक र शारीरिक रूपमा पर्ने असरका बारेमा थाहा नहुनु र बच्चा जन्माउनुले पनि पाठेघर खस्ने समस्या बढ्दै गएको एक तथ्यांकले देखाएको छ । जिल्लाका विभिन्न स्थानमा गरिएको अध्ययनले यस्तो समस्या देखाएको हो । प्रजनन् स्वास्थ्यको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्थाका अनुसार पनि सुर्खेतमा ४२ प्रतिशत महिला यो समस्याबाट पीडित छन् । सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम)ले दिएको जानकारी अनुसार यो जिल्लाका केही स्थानको मात्र तथ्यांक हो । जिल्लाको ग्रामीण क्षेत्रका महिलाहरूमा यो समस्या बल्झिंदै गएको संस्थाको भनाइ छ । कम उमेरमा विहे गर्ने र बच्चा जन्माउनाले यो समस्या बढेको हो ।
यस्तै सोमवार वीरेन्द्रनगरमा सम्पन्न एक कार्यक्रमका सहभागीहरूले पनि बालविवाह मुख्य कारक भएको बताए । वामको आयोजना र केड नेपालको सहयोगमा पाठेघर खस्ने समस्या विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा सुर्खेतका ४२ प्रतिशत महिलाहरूमा पाठेघर खस्ने समस्या रहेको जानकारी दिइएको थियो । सो अवसरमा केड नेपालका अरुणा चौधरीले सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा महिलाहरूमा बढी पाठेघर खस्ने समस्या देखिएको बताइन् । उनले कम जन्मान्तरमा धेरै बच्चा जन्मने जस्ता मुख्य समस्या र हानीकारक रितीरिवाज र संस्कारले गर्दा महिलाहरूमा मानसिक असर पर्ने गरेको बताइन् । नेपालमा अहिले करिब १० लाख महिला पाठेघर खस्ने समस्याबाट पीडित रहेको उनको भनाइ थियो । उनले बालविवाहलाई न्यूनीकरण गर्नका लागि विद्यालयस्तरमा प्रजनन् स्वास्थ्य सम्बन्धी पाठ्यक्रम तयार गर्नुपर्ने बताइन् ।
गर्भवती महिला, किशोरकिशोरी, बालबालिका र नवविवाहित जोडीलाई लक्षित गर्दै सुर्खेत जिल्लाको खानीखोला, डाँडाखाली, राकम, लेखगाउँ, कुनाथरी, पोखरीकाँडा, विद्यापुर, बजेडीचौर र गुटुमा बालअधिकार किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको केड नेपालका कार्यक्रम संयोजक रामविक्रम शाहले जानकारी दिए । केड नेपालका कार्यक्रम संयोजक चमेली जिसीले सुत्केरी अवस्थामा राम्रो स्याहार गर्नसकेमा केही मात्रामा पाठेघर खस्ने समस्यामा कमी आउने बताइन् । केड नेपालका क्षेत्रीय कार्यक्रम संयोजक सुमेस भट्टराईले सन् २०३० सम्ममा पाठेघर खस्ने समस्यालाई रोक्ने सरकारी लक्ष्य अनुसार सबै सरोकारवालाहरू लाग्नुपर्ने बताए । यस्तै वाम सुर्खेतका अध्यक्ष यमुना नेपालीले पाठेघर खस्ने समस्याको जरो बालविवाह नै भएको भन्दै यसतर्फ सचेत हुनुपर्ने उल्लेख गरिन् ।
साझा बिसौनी संवाददाता ।