विमर्शसहित साहित्य फेस्टिभल सञ्चालन

 

 

सुर्खेत:  विविध गतिविधिसहित कर्णाली लिटरेचर फेस्टिभल सम्पन्न गरिएको छ । विश्व पुस्तक दिवसको अवसर पारेर फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा मंगलवार वीरेन्द्रनगरमा फेस्टिभल गरिएको हो ।

फेस्टिभलमा विभिन्न शीर्षक सत्रहरूमा छलफलसहित पुस्तक विमर्श, कविता वाचन, गजल साँझ र पुस्तक प्रदर्शनी गरिएको छ । पहिलो सत्रको रूपमा ‘नेतृत्व र पठन’ शीर्षकमा बहस गरिएको थियो । उक्त सत्रमा वक्ता जनमत पार्टीका अध्यक्ष सिके राउतले नेतृत्व गर्ने व्यक्तिले पढ्नु अपरिहार्य भएको बताए । सामाजिक, आर्थिक लगायत देश–विदेशको अवस्थाका बारेमा जानकार हुनुपर्ने भएकाले कारण पढ्नु अनिवार्य भएको उनको भनाइ थियो । ‘अहिले किन पढ्नुप¥यो भन्ने खालको भाष्य पैदा भइरहेको छ, त्यो गलत हो,’ राउतले भने, ‘पढ्नु एकदमै आवश्यक छ, अहिले पढ्ने भन्दा पनि धन कमाउनेमा मान्छेको ध्यान जान थालेको छ ।’ व्यक्तिले कति किताब पढ्छ र कस्ता किताब पढ्छन् भन्ने कुराले उसको व्यक्तित्व झल्काउने उनले बताए । ‘म हरेक दिन पढिरहेको हुन्छु, कुनै बेला बिहान मैले दुई घण्टा पढिन भने त्यो दिन बर्बाद भएजस्तो ठान्थें,’ राउतले भने ।

वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले पछिल्लो पुस्तामा पठन र लेखन संस्कृतिको विकास हुन नसकेको बताइन् । युवाहरूले सामाजिक सञ्जालमा बढी समय दिने तर पठनपाठनमा ध्यान नदिने गरेको उनको भनाइ छ । नगरप्रमुख ढकालले इतिहासको बारेमा जान्न अध्ययन गर्न जरुरी रहेको जनाइन् । ‘पुस्तक अध्ययनको बानी पनि बसाल्न पठन संस्कृतिको विकास गर्नु जरुरी छ’ उनले भनिन् ।

यसबाहेक ‘भाषाको भूगोल, साहित्य सिमाना’, ‘भाषा, साहित्य र शिक्षा’ लगायतका सत्र सञ्चालन गरिएको थियो । कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश प्रमुख तिलक परियारले गरका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै परियारले कर्णालीको गौरवशाली विगत रहेको बताए । उनले लेखन, पढाइ र सोचलाई जोडेर विकासको नयाँ बाटोमा अघि बढ्नुपर्ने बताए ।

फेस्टिभलका संयोजक डा.नवराज केसीले नेपाली भेषभुषा, रीतिरिवाज, भाषा र परम्पराको सामाजिक, ऐतिहासिक, अध्यनको निम्ति यो क्षेत्र उर्वर रहेको बताए । कर्णाली रिडर्स सोसाइटीले कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको उनको भनाइ छ । कार्यक्रममा कर्णालीबारे लेखिएका पुस्तकहरूको प्रर्दशनीसमेत गरिएको थियो भने माधव चौलागाईले लेखेको पुस्तक ‘सपादलक्ष कर्णाली’ विमोचन पनि गरिएको छ ।

प्रकाशित मितिः   १२ बैशाख २०८१, बुधबार ०५:०३