महिनावारी सचेतना

महिनावारीको समयमा महिलाहरूले अझै पनि अनेक समस्या झेल्नु परिरहेको छ । एकातिर महिनावारीलाई लिएर समाजमा केही भ्रम कायमै छन् । नकारात्मक धारणा स्थापित छन् । गलत बुझाइका कारण महिलाहरूको रजस्वलाको नियमित प्रक्रियालाई छुवाछुतसँग जोडेर हेर्ने गरिएको छ । यसले विभेद सिर्जना गरेको छ । अर्कोतिर महिनावारीको समयमा सरसफाई र स्वच्छताका लागि समेत समस्या झेल्नुपर्ने अवस्था छ । विद्यालयमा अध्यनरत किशोरीहरू अझ बढी समस्यामा पर्ने गरेको पाइएको छ ।

कालीकोटका ६ वटा सामुदायिक विद्यालयमा आधारभूत स्वास्थ्य सर्वेक्षण गरिएको थियो । विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन र खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी सूचकका आधारमा आधारभूत स्वास्थ्य सर्वेक्षण गरिएको हो । सान्नीत्रिवेणी गाउँपालिकाका पाँच र नरहरीनाथ गाउँपालिकाको एउटा गरी ६ वटा सामुदायिक विद्यालयमा सर्वेक्षण गरिएको थियो । दुई वर्षअघि गरिएको सर्वेक्षणमा सहभागी बालिकाहरूले महिनावारीका समयमा अनेक समस्या झेल्नुपर्ने बताएका थिए । कतिसम्म भने सर्वेक्षणमा ५८ प्रतिशत बालिकाले महिनावारीसम्बन्धी ज्ञान नै नभएको बताए । ६७ प्रतिशत बालिकाले विद्यालयमा बालिकाका लागि छुट्टै शौचालय नभएको र ९१ प्रतिशतले सरसफाइको अभाव रहेको बताएका थिए । यसैगरी ८७ प्रतिशत बालिकाहरूले शौचालयमा नियमित पानी नआउने बताएका छन् । ७४ प्रतिशत बालिकाहरूले विद्यालयहरूमा छुट्टै हातधुने स्टेशनहरूमा पानी प्रवाह नभएको जनाएका छन् भने ९१ प्रतिशतले साबुन नहुने गरेको जनाएका छन् । त्यसैगरी ८८ प्रतिशत बालिकाहरूले विद्यालयमा सेनेटरी प्याड नपाएको र विश्राम कोठा नभएको जनाएका छन् । ८३ प्रतिशत बालिकाहरूले सेनेटरी प्याड डिस्पोजल सुविधा नभएको बताएका छन् ।

उल्लेखित तथ्यांकले के देखाउँछ भने विद्यालय उमेर समूहका किशोरीहरू महिनावारीको समयमा खानपान, आराम र सरसफाइमा अनेक समस्या झेल्न बाध्य छन् । विद्यालयहरूले महिनावारीको बेला निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने गरेका छन् । तर यस्तो समयमा विद्यालयमा नै आराम कक्षको व्यवस्थापन पनि उत्तिकै अपरिहार्य हुन्छ । त्यसो त बालिकाहरूलाई महिनावारी अवस्था र उक्त समयमा गर्नुपर्ने प्रभावकारी सरसफाईको बारेमा समेत पर्याप्त ज्ञान र जानकारी नभएको देखिन्छ । विद्यालयहरूले बालबालिकाहरूलाई नै यसबारेमा सचेतना कक्षा सञ्चालन गर्न जरुरी छ । गलत बुझाइका कारण महिनावारी भएको वा स्वास्थ्यमा देखिएका समस्याका बारेमा अरुलाई भन्न नसक्ने र त्यसले गर्दा अनेक कठिनाई भोग्नुपर्ने बालिकाहरूको अनुभव छ । उचित सचेतना भएमा यसबारेमा खुलेर कुरा गर्न र आफ्ना समस्या राख्न सहयोग गर्दछ । जसले गर्दा महिनावारी हुँदा सरसफाई, स्वच्छता र स्वास्थ्य समस्याबाट मुक्त हुन पनि सघाउ पुग्दछ ।

प्रकाशित मितिः   १२ बैशाख २०८१, बुधबार ०५:०४