प्रदेश राजधानीमा खानेपानी समस्या

सुर्खेत: कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको समस्या सुरु भएको छ । गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो । स्रोत पर्याप्त नहुँदा वीरेन्द्रनगरमा बर्सेनि खानेपानीको समस्या हुने गरेको छ ।

वीरेन्द्रनगर–४ कुमाइचोककी पार्वती खड्कालाई दिनहुँ खानेपानीको चिन्ता हुन्छ । गर्मी मौसम सुरु भएसँगै पानीको चरम अभाव भएको उनले बताइन् । घरमा बिहान उठेदेखि साँझ नसुत्दासम्म चाहिने पानीका लागि गाउँमा भरपर्दाे स्रोत छैन । खड्का भन्छिन्, ‘जारको पानी किनेर खानुको विकल्प छैन, यो वर्ष झनै समस्या भएको छ ।’

त्यस्तै शोभा पुरी पनि वीरेन्द्रनगर–४ कै बासिन्दा हुन् । गर्मी मौसम सुरु भएसँगै धारामा चार दिनमा एक पटक पानी आउने गरेको उनले बताइन् । नियमित र पर्याप्त पानी नआउँदा निकै समस्या भएको पुरीको भनाइ छ । सोही ठाउँकी यामुना गिरीले एक महिनादेखि खानेपानीको संकट बढ्दै गएको बताइन् । ‘भएका इनार सुके, धारामा पानी आउँदैन, किनेर पानी खानुको विकल्प छैन’ उनले भनिन् । बर्सेनि खानेपानीको समस्या भइरहने भए तापनि स्थानीय तथा प्रदेश सरकारले यस विषयमा ध्यान नदिएको गिरीको गुनासो छ ।

वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले पानी वितरण गर्दै आएको छ । तर गर्मी लागेसँगै मुहानमा पानी घटेपछि ७२ घण्टाको फरकमा पानी वितरण गर्न थालिएको छ । संस्थाका प्रमुख डम्मर गौतमले मुहानमा ४० प्रतिशत पानी घटेको बताए । ‘गर्मीयाम सुरु भएपछि मुहानमै पानीको स्रोत घटेको छ, ७२ घण्टापछि मात्रै धारामा पानीको पालो आउँछ,’ उनले भने ‘खानेपानी समस्या देखिएको छ ।’

संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । खडेरीमा हरेक वर्ष उपत्यकामा पानीको हाहाकार हुन्छ र मागअनुसार पानी पु¥याउन नसकेको गौतम बताउँछन् । संस्थाले हाल झुप्रा खोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गर्दै आएको छ ।

यसैबीच उपत्यकाको खानेपानी समस्या समाधानको दीर्घकालिन विकल्पकारूपमा भेरी पम्पिङ आयोजनाअन्तर्गत निर्माणपूर्वका काम धमाधम अघि बढेका छन् । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भइसकेको छ । प्रदेश राजधानी सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यले विश्व बैंकको सहयोगमा भेरी पम्पिङ आयोजना निर्माण गर्न लागिएको हो ।

६ वर्षपहिलेदेखि नै अध्ययनको काम थालिएको थियो । २०८० जेठ ४ गतेदेखि वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी काम भइरहेको छ । २०८० असोज १२ गते आयोजना निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो । जसमा सात वटा टेन्डर परेका थिए । परेका सात वटा टेन्डर मध्ये पाँच टेन्डर छनोटमा परेका छन् । प्राविधिक छनोटका आधारमा पाँच वटा टेन्डर छनोट गरिएको र अब ती टेन्डरको आर्थिक प्रस्तावका आधारमा छनोट गरिने आयोजनाले जनाएको छ ।

पहिलो चरण अन्तर्गतका काम धमाधम भइरहेको आयोजना प्रमुख सञ्जीवकुमार शाहले बताए । उनका अनुसार आयोजना निर्माणका लागि सात वटा टेन्डर परेका थिए । ती मध्ये पाँच वटा प्राविधिक प्रस्तावका आधारमा छनोट भएका हुन् । अब आर्थिक प्रस्तावका आधारमा छनोट गरिनेछ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत भेरी पम्पिङ आयोजनाको पहिलो चरणको काम भएको थालिएको हो ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ देखि १६ सम्मका सबै वडामा खानेपानी तथा सरसफाइको अवस्थाको विश्लेषण पनि गरिएको छ । ६ वटा सूचकका आधारमा अवस्था विश्लेषण गरिएको आयोजना प्रमुख शाहले जानकारी दिए । उनका अनुसार १६ वटै वडाको अवस्था विश्लेषणका आधारमा आयोजनाको काम सुरु गरिनेछ । उनले पहिलो चरणअन्तर्गत अबको एक महिनामा ठेक्का सम्झौता गर्नेगरी काम अघि बढाइएको जनाए ।

यसैगरी दोस्रो चरणको काम पनि सुरु गरिएको आयोजनाले जनाएको छ । अहिले दोस्रो चरणअन्तर्गत सर्वे डिजाइनको काम भइरहेको छ । पहिलो चरणको कामको ठेक्का सम्झौता गरेर दोस्रो चरणको काम सुरु गरिने आयोजना प्रमुख शाहले बताए । तीन वर्षमा परियोजना सम्पन्न गर्नेगरी काम अघि बढेको भन्दै उनले परेका टेण्डरको छनोट भइरहेको जनाए । अबको एक महिनामा टेन्डर छनोट गरिसक्ने लक्ष्य आयोजनाको छ । ६ वर्षअघिदेखि भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउन विभिन्न अध्ययन र सर्वे भएका थिए ।

आयोजनाको भौतिक संरचना निर्माण गर्ने स्थानमा वन क्षेत्रले ओगटेको छ । भेरी पम्पिङ खानेपानी आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ । पहिलो चरणमा संरचना निर्माणका लागि तीन अर्ब २३ करोड रूपैयाँ लागत अनुमान छ । जसअन्तर्गत मुहान इन्टेक, रिर्जब ट्याङ्की, पाइपलाइन निर्माण र दोस्रो चरणमा सेवा विस्तारका काम हुनेछन् । आयोजनाका निर्माणका लागि रू. ६ अर्ब लाग्ने अनुमान छ ।

भेरी पुल र झुप्रा खोलाको दोभान नजिकबाट पानी पम्पिङ गरी अमृतडाँडा ल्याउने र त्यहाँबाट उपत्यकामा वितरण गर्ने योजना छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार भेरीको पानी चार सय मिटरमाथि प्रशोधन गर्ने ट्याङ्कीमा खसालेपछि त्यसबाट अमृतडाँडासम्म सात किलोमिटर लामो पाइप बिछ्याइनेछ । पाँच सय ५० मिलिमिटर वा सोभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखी मुख्य ट्याङ्कीसम्म जडान गरिनेछ । त्यहाँ बनाइने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ ।

प्रकाशित मितिः   ११ बैशाख २०८१, मंगलवार ०६:५५