कुडा कर्णालीका

इपिसेन्टर

 

कर्णाली उत्सवको पाँचौं संस्करणको पहिलो सत्र हो, इपिसेन्टर । केही समयअघि जाजरकोटको बारेकोटस्थित राम्रीडाँडा केन्द्रबिन्दु भएर गएको भुइँचालो र त्यसले पारेको असर तथा समग्र कर्णाली प्रदेशमा रहेका सम्भावित जोखिमको अवस्थाबारे बुझ्न र नीतिगत सुझाव दिन उक्त सत्रको आयोजना गरिएको थियो ।

छलफलमा भूकम्प प्रभावित क्षेत्र जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरी, रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवी केसी, नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिमका सभापति रमा गौतम तथा भूकम्पविद् डा. लोकविजय अधिकारी सहभागी थिए भने रुकुमका पत्रकार राजु लामिछानेले छलफललाई सहजीकरण गरेका थिए । सोही छलफलका वक्ताहरूले व्यक्त गरेका विचार यहाँ समेटिएको छ ।


 

‘अब अग्लो होइन, सुरक्षित घर’

बीरबहादुर गिरी

 

 

२०७९ कार्तिक १७ गते राती ११ः४७ बजे भूकम्प गयो । सुरुमा त्यसको केन्द्रबिन्दु थाहा थिएन । मानिसहरू भूकम्प गयो भन्दै उज्यालो बालेर घरबाहिर निस्किए । म त्यतिबेला मस्त निन्द्रामा थिएँ । हल्ला भएपछि ब्युँझिएर बाहिर निस्किदा बारेकोटको चारैतिर उज्यालो थियो । एकले अर्कालाई सोधिरहेका र खोजिरहेका थिए ।

रातीको १२ बजेतिर गाउँपालिकाका उपाध्यक्ष र म दुई वटा बाईकमा नौ वटै वडाको अवस्था बुझ्न निस्कियौँ । सबैजसो ठाउँमा पुग्दा मानवीय क्षती भएको भेटिएन बरु धेरै ठाउँमा घरहरू भत्किएको र मानिसहरू घरबाहिर निस्केर बस्को पायौँ । बिहान ८ बजेसम्म सबै वडामा पुग्यौँ र पालिका केन्द्रमा फर्केर सामाजिक सञ्जालबाट सोही कुराको जानकारी दियौँ । पछि जानकारी प्राप्त गर्दै जाँदा भेरी नगरपालिका, कुशे गाउँपालिका र रुकुमपश्चिमका केही बस्तीमा ठूलो मानवीय क्षति भएको सूचना प्राप्त भयो र त्यसले हामी निकै चिन्तित र त्रसित भयौँ । भूकम्पको पहिलो सवाल त्रसित सामाजिक मनोविज्ञान हो । मानिसहरूले जीवनप्रतिको आशा र भविष्यप्रतिको भरोसा गुमाएको अवस्था थियो । त्यस अवस्थामा हामीले आशा र भरोसा जगाउनुका साथै उद्धार र राहतका काममा लाग्यौँ ।

नेपालमा हामीले समय–समयमा ठूला–साना भूकम्प भोग्दै आएका छौँ । यस्तो विपत्तिबाट बच्न सिँगो राष्ट्रले नै राष्ट्रिय संकल्प लिन जरुरी छ । एउटा राष्ट्रिय अठोट निर्माण गर्न जरुरी छ । जसले जहाँ र जुनसुकै बेला आउने ठूलो विपत्तिबाट हामीलाई जोगाउन सकोस् । धनजनको क्षति कमभन्दा कम होस् । २०७२ सालको ठूलो भूकम्पका बेला पाठ सिकेको भए सायद अहिले हामीले यसलाई सजिलै झेल्न सक्थ्यौँ ।

मलाई लाग्छ हामीले सुरक्षित नेपाल निर्माणका निम्ति पुनःनिर्माण र नवनिर्माणको अभियान चलाउन जरुरी छ । यसका साथसाथै घर नै सम्पन्नताको प्रतिक मान्ने नेपाली समाजको सामाजिक संस्कार फेर्नुपर्छ । अब अग्लो होइन सुरक्षित घर बनाउन जरुरी छ । यसैलाई सबै तहका सरकारले नीति तथा कार्यक्रममा समेट्नुपर्छ । स्वेच्छाचारी ढङ्गले संरचना निर्माण गर्ने कुरा रोक्नुपर्छ । अब बन्ने सबै भौतिक संरचना नागरिकमैत्री हुनुका साथै सुरक्षित हुनु जरुरी छ । पुनर्निर्माणको काम सुरु हुनासाथ मैले बारेकोट गाउँपालिकामा यो मापदण्ड राख्छु । भौगोलिक बनावट भिरालो भएकाले र धेरैजसो बस्ती जोखिममा रहेकाले सुरक्षित नेपाल निर्माणको अभियान चलाउँदा बस्ती व्यवस्थापन कार्यक्रमलाई समेत अघि बढाउन सुझाव दिन्छु ।


 

 

‘अविलम्ब उद्धारमा लाग्यौँ’

रमा गौतम

 

 

भूकम्प गएदेखिनै हामी तत्काल उद्धार तथा राहतका काममा जोडिएका छौँ । रेडक्रसको टिमका सदस्यले समयमा खान र सुत्न पनि पाएको छैन । भूकम्पका बेला हामीले समग्र जिल्लामा काम ग¥यौँ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमपश्चिमको गोदाममा पाँच परिवारलाई मात्र राहत सामग्री थियो । जिल्लामा कुनै पनि स्वयम्सेवकहरू थिएनन् । एक जना कार्यालय सहयोगी र म मात्र थियौँ । भूकम्प गएपछि सबैभन्दा पहिला घरपरिवारका सदस्यलाई फोन गरेँ र दोस्रो फोन प्रमुख जिल्ला अधिकारीलाई । १७ गते राती साढे १ बजे जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्यो । त्यतिबेलैदेखि एम्बुलेन्स र साना गाडीहरू सानी भेरी गाउँपालिकातर्फ पठाइएको थियो ।

हामीले विभिन्न स्थानीय तहमा स्वयम्सेवक परिचालन ग¥यौँ । विभिन्न अस्पतालमा रहेका घाईतेलाई रेखदेख गर्ने तथा रिफर भएका घाइतेलाई प्लेनबाट सुर्खेत नेपालगञ्ज र काठमाडौं पठाउन सहयोग ग¥यौँ । जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा प्रभावित घर परिवारलाई राहत सामग्री तत्काल मगाएर वितरण गरियो । राहत वितरणका बेला एकद्वार प्रणाली अवलम्बन गरिएको थियो । यसो गर्दा कति मात्रामा राहत सामग्री कुन ठाउँमा पुग्यो भन्ने थाहा हुन्थ्यो । यद्यपी यसले वितरणमा ढिलासुस्ती भने भएको थियो ।

सुरुसुरुमा त्रिपाल र कम्बलको माग बढी भयो । विस्तारै खानेकुराको माग भयो । त्यसपछि गएर महिला संवेदनशील तथा महिला मर्यादित सामग्रीहरूसमेत वितरण गरियो ।


 

‘यस्तो दिन फेरी भोग्नु नपरोस्’

रवी केसी

 

 

भूकम्प जाँदा म घरमै सुतिरहेको थिएँ । आज यहाँहरूको बीचमा बसेर आफ्नो अनुभूति राख्न पाउँदा म आफैलाई भाग्यमानी ठानेको छु ।

भूकम्पले रुकुमपश्चिमको आठबिसकोट नगरपालिकालाई क्षतविक्षत अवस्थामा पु¥यायो । आठबिसकोटमा मात्रै ४४ जनाले ज्यान गुमाउनुप¥यो ।

भूकम्प जानासाथ फोन पनि लागेन । बजारका सबैजसो मानिस आत्तिदै घरबाहिर निस्केका थिए । लगत्तै सबै वडामा फोन सम्पर्क भयो । सबैतिरबाट ठूलो मानवीय क्षति भएको र सडकहरू अवरुद्व भएका सूचना आए । हामीले नगरपालिकाभित्र रहेका साना गाडीहरू र अवरुद्ध नभएका सडकहरू खोजी गरी ११ वटा निजी र नगरपालिकाका चार वटा गाडी परिचालन ग¥यौँ । नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरी धेरै क्षति भएका वडामा छिटो पुग्ने प्रयास ग¥यौँ । राती सवा १२ बजे वडा नम्बर ११ मा चार जना मृतकको लाश निकाल्यौं भने चार जनाको जीवितै उद्धार गरियो ।

हामीले भूकम्पपछि मानवीय र भौतिक क्षति व्यहोर्नुप¥यो । धेरैले आफन्त मात्रै गुमाएनौँ भौतिक पूर्वाधारसमेत नष्ट भए । त्यसबेला मलाई ठूलो चुनौतिसामु उभिएको एउटा सिपाहीजस्तो महसुस भएको थियो ।

बिहान ७ बजेसम्म हामीले सबै मृतकका लाश नगर अस्पतालमा लगिसकेका थियौँ । सिकिस्त एक सय ४७ जनामध्ये कतिपयलाई प्रदेश अस्पताल सुर्खेत र केहीलाई अन्यत्र सिफारिस गरियो । दुई सय १४ जना सामान्य घाइतेलाई नगर अस्पतालमै उपचार ग¥यौँ । र हामीले यस्तो दिन फेरी भोग्नु नपरोस् भन्ने भयो ।

पुनर्निर्माणका सम्बन्धमा प्रदेश सरकार र संघीय सरकारलाई मेरा पनि प्रश्न छन् । अस्थायी आवास निर्माणको काममा ढिलाइ भएको छ । स्थानीय सरकारले मात्रै धेरै गर्न सक्ने अवस्था छैन । यस्तो बेला हामीले संघीय सरकारसँग माग राखेका छौँ । पुनर्निर्माणका सन्दर्भमा कुरा गर्दा हामीसँग कार्यविधि छैन । आफै घर बनाउन सक्नेले पनि कार्यविधिको अभावमा केही गर्न सकेको छैन । प्रदेश र संघ सरकारले यसमा विश्ष ध्यान दिनु जरुरी छ । घर र आफन्त दुवै एकैपटक गुमाउनुपर्दा मानिसहरू हतोत्साही भएका छन् । धेरैका सपना भत्किएका छन् । कतिमा बाँच्ने आशा पनि नहोला । किनभने के खाने के लाउने भन्ने चिन्ता छ । सुत्केरी आमा र बच्चाहरू चिसोले गल्दै गएका छन् ।

अहिलेको मुख्य कुरो भनेकै पुनर्निर्माणसम्बन्धी कार्यविधिको निर्माण हो । कार्यविधि भएमा मात्रै संघ–संस्थाहरूको सहयोग लिन सजिलो हुन्छ । योजना र निर्माणका काम अघि बढाउन सकिन्छ । अब हामी पुनर्निर्माणमा जाँदा स्थानीय स्रोत साधनको प्रयोग गरेर भूकम्प प्रतिरोधी संरचनाहरू बनाउने कुरामा जोड दिनुपर्छ । ठूलाभन्दा हलुका घरहरू बनाउनुपर्छ ।

 


 

‘भूकम्पीय शिक्षाकै कमी छ’

 

डा. लोकविजय अधिकारी

 

जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पका बेला म सुर्खेतमै थिएँ । भोलिपल्ट काठमाडौं जानुपर्नेमा म भूकम्प प्रभावित क्षेत्र पुगेँ । जाजरकोट जिल्ला अस्पताल पुग्दा सबैजसो घाइतेको प्रभावित क्षेत्रबाट उद्धार गरेर उपचारका लागि नेपालगञ्ज वा सुर्खेत पठाइएको थियो । त्यसपछि नलगाड पुगेँ, जहाँ सबैभन्दा धेरै क्षति भएको थियो । नलगाड–१ को चिउरीमा सबैभन्दा धेरै मानवीय क्षती भएको थियो । त्यहाँ सदगत नगरेका १४ वटा लाश थिए । राहत सामग्री पुगेको भएपनि वितरणको कुनै प्रभावकारी पद्धति बनेको थिएन । दाउराको कमीका कारण एउटै चितामा २–३ वटा लाशहरू सँगै जलाएको पनि पाइयो ।

जाजरकोटको बारेकोट इपिसेन्टर वा भूकम्पको केन्द्रबिन्दु थियो । तर त्यहाँभन्दा अन्यत्र धेरै क्षति भएको छ । बारेकोटमा मानवीय क्षति छैन । भवनहरू पनि निकै कम क्षति भएका छन् । केन्द्रबिन्दुबाट टाढा रहेका भेरी नगरपालिका, आठबिसकोट नगरपालिकामा भने धेरै क्षति भएको छ । यसले केन्द्रबिन्दुभन्दा टाढा पनि क्षति हुन सक्छ भन्ने देखाउँछ । २०७२ सालमा गोर्खा केन्द्रबिन्दु भएको भूकम्पले टाढाका जिल्लामा पनि धेरै क्षति पुगेको थियो ।

नेपाल सरकारले भूकम्प सुरक्षा दिवस मनाउन थालेको २६ वर्ष भयो । जसले भूकम्पसम्बन्धी जनचेतना, सूचना प्रसारण तथा बहस र नीति निर्माणमा सहयोग गरेको छ । यद्यपि, अहिले पनि सबै संरचना भूकम्प प्रतिरोधी छैनन् । ६.४ रेक्टर स्केलको भूकम्प जाँदा पनि घरहरू भत्किएका छन् । किनभने हामीले अहिलेसम्म पनि भवन आचारसंहिता पूर्ण रूपमा लागू गर्न सकेका छैनौँ । जहाँ मन लाग्यो त्यहीँ संरचना निर्माण गर्छौं । अर्को कुरा कतिलाई भूकम्प कहाँ–कहिले जान्छ र कसरी सुरक्षित बस्नुपर्छ भन्ने पनि थाहा छैन । एउटा तीन तलाको घर भत्किएर पाँच जनाको ज्यान गएको छ । क्षति कसरी कम गर्ने भन्ने पनि हामीलाई थाहा छैन ।

अध्ययन गर्दा के पाइन्छ भने पृथ्वीको सबै ठाउँमा भूकम्प जाँदैन । केही भागहरू मात्रै भूकम्पीय जोखिममा छन् । नेपाल पनि भूकम्पीय जोखिमका दृष्टिले संवेदनशील छ । विभिन्न सञ्चार माध्यममा पनि यसबारे खबरहरू आइरहेकै छन् । भूकम्प हामीले भोग्दै पनि आएका छौँ ।

पृथ्वी बाहिरबाट गोलो देखिएपनि यो विभिन्न टुक्रामा विभाजित छ । त्यसलाई अंग्रेजीमा प्लेट भनिन्छ । दक्षिणमा इन्डियन प्लेट र उत्तरतर्फ यूरेशियन प्लेट छ । जहाँ तिब्बतको पठार पनि पर्छ । पाँच करोड वर्षपहिलेदेखि यी दुई प्लेट जुध्ने क्रम सुरु भयो । यी दुई प्लेटको बीचमा पहिला टेथिस सागर थियो । इन्डियन महाद्वीप र यूरेशियन भागमा एउटा महासागर थियो । त्यो सागर पनि पुरिएर त्यो सर्दै आउँदा दुइ महादेशहरू ठोकिए । त्यो ठोकिएको ठाउँ नै हिमालय हो । त्यो हिमालय पश्चिममा अफगानिस्तानदेखि लिएर पूर्वमा म्यानमारसम्म २५०० किलोमीटरको लामो भाग छ । जसलाई हामी हिमालय भन्छौँ । त्यो हिमालयको ८०० किलोमीटर करिब एक तिहाई भाग नेपालले लिएको छ । अफगानिस्तानदेखि म्यानमारको बीचमा नेपाल छ ।

यसले गर्दा करोडौं वर्षदेखि यहाँ भुइँचालो आइरहेको छ भन्ने कुरा बुझ्न¥यो । तिनै भुइँचालाहरूका कारणले गर्दा नै हिमालयको सिर्जना भयो । त्यो हिमालयले हामीलाई फेरी अर्को छुट्टै फाइदा गरेको छ भन्ने अर्को छुट्टै बहसको पाटो छ र सँगसँगै जोखिम पनि लिएर आयो । हामीसँग देशमा भएको तथ्याङ्कलाई हे¥यो भने चाँहि करिब सम्बत १२५५ भन्दा सात आठ वर्ष अगाडिसम्म गएको भूकम्पको बारेमा हामीलाई थाहा छ । त्यो भन्दा पहिला गएको भूकम्पको बारेमा थाहा छैन ।

अब भूकम्पबाट कसरी जोगिने भन्ने कुरा गरौँ । भूकम्प एउटा गाउँपालिकाको मात्रै होइन देशको मात्र होइन यो समग्र देशको साथै अन्तराष्ट्रिय रूपमा सामना गर्ने कुरा हो । नीति नियम बनेर मात्र पनि हुँदैन । अहिले बझाङ र जाजरकोटमा गएको भूकम्पले पनि देखाउँछ । यसका लागि निम्न काम गर्न जरुरी छ ।

पहिलो, हामी भूकम्पीय जोखिममा रहेको कुरा जनतालाई बुझाउनुपर्छ । ढलान घर भत्किन्न भन्ने भ्रम छ, जुन सत्य होइन । भूकम्पीय सूचनालाई शिक्षासँग जोड्नैपर्छ । दोस्रो, भूकम्पीय जोखिम न्यूनीकरणबारे अध्ययनहरू हुनु जरुरी छ ।

प्रकाशित मितिः   ११ बैशाख २०८१, मंगलवार ०६:५३