साहित्य महोत्सव हुँदै

 

सुर्खेत: वीरेन्द्रनगरमा आज (मंगलवार) कर्णाली साहित्य महोत्सव हुँदैछ । फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा एक दिने साहित्य महोत्सव हुन लागेको हो ।

कर्णालीमा भाषा साहित्यको प्रवद्र्धन तथा लेखन र पठन संस्कृतिको विकासमा सघाउ पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाइएको छ । महोत्सवका संयोजक नवराज केसीले कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकासमा यसले टेवा पु¥याउने बताए । ‘महोत्सवमा कर्णालीका बारेमा विभिन्न विधामा लेखिएका पुस्तकहरूको खोजी, संकलन र प्रर्दशनी गरिनेछ, लेखक र पाठकसँग सम्बन्ध विस्तार हुनेछ,’ उनले भने, ‘कर्णालीमा लेख्ने, प्रकाशन गर्ने र पढ्ने परिपाटीलाई प्रेरित गर्दै पठन संस्कृतिकको विकास गर्ने उद्देश्य राखिएको छ ।’

महोत्सवका आयोजकसमेत रहेका लेखक माधव चौलागाईंले साहित्य महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त लेखकहरूलाई आमन्त्रण गरिएको जानकारी दिए । महोत्सवले पठन तथा लेखन संस्कृतिको विकास हुनुका साथै कर्णाली प्रदेश सरकार र स्थानीय तहको शैक्षिक योजना निर्माणमा सहयोग पुग्ने बताइएको छ । साहित्यकार देवकी तिमिल्सेनाले खस भूमि कर्णालीमा आयोजना हुने कर्णाली साहित्य महोत्सवले विश्व पुस्तक दिवसको अवसर पारेर हरेक वर्ष वैशाख ११ गते निरन्तरता दिने बताइन् । महोत्सवमा छलफलसहित पुस्तक प्रदर्शनी, कविता वाचन, गजल बाचन, पुस्तक विमोचनलगायतका गतिविधि समेटिएको छ ।

प्रकाशित मितिः   ११ बैशाख २०८१, मंगलवार ०६:५९