वैदेशिक रोजगारीको दुखान्त

स्वदेशमा पर्याप्त रोजगारी नहुँदा नेपालबाट लाखौँ कामदार विदेश जान बाध्य छन् । कर्णालीका धेरै जसो नागरिक रोजगारीका लागि भारत जाने गरेका छन् । तर वैदेशिक रोजगार बोर्डमा उनीहरूको तथ्यांक छैन । कर्णाली प्रदेशका ६० प्रतिशत युवा रोजगारीका लागि भारत र तेस्रो मुलुकमा जाने गरेका छन् । त्यसमध्ये धेरैजसो परिवारसहित भारतमा रोजगारीका लागि जाने गरेका छन् । यसरी वैदेशिक रोजगारीमा गएका नागरिकको ज्यान गुमाउने संख्या बढ्दो छ । रोजगारीका लागि विदेश गएकाहरूले अकालमा जीवन गुमाउनु परिरहेको छ ।

गत कार्तिक १७ गते भारतमा दुर्घटनामा परेर सुर्खेतको चौकुनेका एकै परिवारका पाँच जनाको मृत्यु भयो । रोजगारीको सिलसिलामा कर्नाटक राज्यको गुलवर्गा जिल्लाअन्तर्गत अवजलपुरको तलकामा उनीहरूको मृत्यु भएको हो । चौकुने गाउँपालिका–७ अमलाटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता, छोराहरू पाँच वर्षीय मिलन, दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवारको मृत्यु भएको हो । यस्तै, गत पुस २० गते भारतमै भएको सडक दुर्घटनामा दैलेखको दुल्लू नगरपालिका १० का एकै परिवारका दुई जनाको मृत्यु भयो । दुर्घटनामा मैना विक र उनका छोरा दिनेश विकको मृत्यु भएको हो । उनीहरू पनि रोजगारीका लागि भारतको गुजरात पुगेका थिए । वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्षमा कर्णालीका ३५ जनाले रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका छन् । यो संख्या बोर्डबाट मृतकको परिवारले क्षतिपूर्ति लिएकाका हो । श्रम स्वीकृति नलिइ विदेश जाने र अन्य भिसामा गएकाको तथ्यांक कार्यालयले राख्दैन ।

कर्णाली प्रदेशबाट चालु आर्थिक वर्षमा दुई हजार तीन सय ४३ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या अनलाइनको माध्यमबाट श्रम स्वीकृति लिनेहरूको हो । वि.सं. २०७५ माघदेखि श्रम तथा रोजगार कार्यालय स्थापना गरी सुुर्खेतबाटै श्रम स्वीकृतिको सेवा दिइँदै आएको छ । पछिल्लो समय अनलाइन माध्यमबाट श्रम स्वीकृति सेवा दिन थालिएपछि कार्यालयमै आएर सेवा लिनेको संख्या घटेको छ । भारतमा रोजगारीका लागि गएका नेपाली कामदारलाई वैदेशिक रोजगारीको मान्यता नदिएकाले उनीहरूले सरकारको तर्फबाट कुनैपनि राहत पाएका छैनन् । ज्यान गुमाएका आफन्तहरूले सरकारबाट राहत पाउनुपर्ने माग गरिरहेका छन् । राज्यले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न पनि नसक्ने र वैदेशिक रोजगारीमा जाँदा मृत्युवरण गर्नुपर्ने अवस्थाले थुप्रै परिवार प्रताडित भएका छन् ।

प्रकाशित मितिः   ७ बैशाख २०८१, शुक्रबार ०५:०३