नौ महिनामा आठ अर्ब खर्च

सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा साढे आठ अर्ब रूपैयाँ मात्रै बजेट कार्यान्वयन गरेको छ । चैत्र मसान्तसम्म जम्मा आठ अर्ब ५७ करोड ५१ लाख दुई हजार रूपैयाँ मात्र खर्च भएको हो ।

प्रदेश सरकारले ल्याएको कूल ३३ अर्ब ३७ करोड ५७ लाख सात हजार बजेटमध्ये नौ महिनामा २५.६६ प्रतिशत मात्रै खर्च भएको छ । चालुतर्फ चार अर्ब ८३ करोड ९९ लाख ८५ हजारभन्दा बढी अर्थात् ३४.९८ प्रतिशत बजेट खर्च भएको छ भने पुँजीगततर्फ तीन अर्ब ७२ करोड ५१ लाख १७ हजार अर्थात् १९.०८ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चैत महिनामा मात्रै सरकारले एक अर्ब २६ करोड सात लाख ४८ हजाररूपैयाँ पुँजीगत बजेट खर्च गरेको छ ।

एक अर्ब ३० करोडभन्दा बढी बजेट रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालको चैतसम्म ४.६९ प्रतिशत अर्थात् ६ करोड ५६ लाख ७५ हजार बराबरको बजेट कार्यान्वयनमा ल्याइएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चैत मसान्तसम्म १७.७९ प्रतिशत अर्थात् एक अर्ब ७२ करोड ६८ लाख ७७ हजार ५९६ रूपैयाँ खर्च गर्न सफल भएको छ ।

यस्तै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलले कूल तीन अर्ब २६ करोड ७१ लाख बराबरको वार्षिक विकास बजेटमध्ये १९.९७ प्रतिशत अर्थात् ६५ करोड २३ लाख ८० हजार खर्च गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलको ६० करोडभन्दा बढी विकास बजेट रहेकोमा चैत मसान्तसम्म ३७.२७ प्रतिशत अर्थात् २२ करोड ३८ लाख ४२ हजार नौ सय रूपैयाँ मात्र कार्यान्वयन भएको छ ।

दुई अर्ब ७८ करोड १५ लाख बराबर विकास बजेट रहेको सामाजिक विकास मन्त्रालयले हालसम्म ३०.५६ प्रतिशत अर्थात् ८६ करोड ५१ लाख ८० हजार रूपैयाँ कार्यान्वयन गर्न सफल भएको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको एक अर्ब १९ करोडभन्दा बढी विकास बजेटमध्ये १४.२९ प्रतिशत अर्थात् १७ करोड सात लाख ५४ हजार मात्र कार्यान्वयनमा ल्याइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आठ करोड ६६ लाख २९ हजार वार्षिक विकास बजेटमा अहिलेसम्म १८.८२ प्रतिशत रकम मात्र खर्च गरिएको छ ।

प्रकाशित मितिः   ७ बैशाख २०८१, शुक्रबार ०५:०१