पत्रकार महासंघको साधारणसभा, ‘विकास र समृद्धिका लागि पत्रकारिता’
साझा बिसौनी संवाददाता
सुर्खेत, २२ माघ ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २१ औं वार्षिक साधारणसभा शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । ‘प्रेस स्वतन्त्रता आजको आवश्यकता, विकासका लागि अबको पत्रकारिता’ भन्ने मूल नाराका साथ भएको सभाका सहभागीहरूले अबको पत्रकारिताले विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव संगीता खड्काले मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनमा नेपाली पत्रकारिताले निकै ठूलो भूमिका निर्वाह गरिसकेको भन्दै अब देशको समग्र विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याइन् । आम जनताको चाहना विकास नै भएकाले अब नीति निर्माण तहमा रहेका व्यक्ति र निकायहरूलाई त्यसतर्फ प्रेरित गर्न र निरन्तर निगरानी गर्न जरुरी रहेको उनले बताइन् । सत्य र तथ्य पत्रकारहरूको धर्म भएकोले यसमा अडिग रहन समेत सुझाव दिइन् । पत्रकारितामा थुप्रै समस्या र जटिलताहरू भए पनि मोफसलमा पत्रकारिताको विकास भइरहेकोमा खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘मोफसलको पत्रकारितामा अनेक चुनौतीहरू छन् तिनलाई चिर्दै अबको पत्रकारिता विकासका लागि हुनुपर्ने आवश्यकता छ ।’
सांसद सीता नेपालीले आम जनतालाई सत्य सूचना सम्प्रेषण गरी सुसूचित गराउने कार्यमा पत्रकारहरूको भूमिका उल्लेखनीय रहेको बताइन् । उनले पत्रकारिता पेसालाई मर्यादित र अनुशासित बनाउन आग्रह गर्दै महिला पत्रकारहरूको संख्यामा वृद्धि गर्न सुझाव दिइन् । यस्तै प्रेस स्वतन्त्रता सेनानी बालाराम शर्माले सुर्खेतको पत्रकारिताले अबको छैठौं प्रदेशको नेतृत्व गर्नुपर्नेमा जोड दिए । मोफसलमा चुनौती र समस्याकाबीच पनि पत्रकारिता भइरहेको उल्लेख गर्दै उनले राज्यले पर्याप्त सहयोग नगरेको बताए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ सुर्खेतका सल्लाहकार श्रीधर पौड्याल, नेकपा एमालेका मोहन बडुवाल, एमाओवादीका दानसिंह सुनार, नेमकिपाका धनेन्द्र विक, प्रेस चौतारी नेपाल सुर्खेतका अध्यक्ष सूर्य प्रकाश कँडेल लगायतले शुभकामना दिएका थिए ।
साधारणसभामा सम्मान तथा पुरस्कार वितरण समेत गरिएको छ । महासंघ सुर्खेत शाखाका पूर्व अध्यक्षहरू पीताम्बर ढकाल, चिरञ्जीवि अर्याल, कमलेश डीसी, मोतीलाल पौडेल, श्रीधर पौड्याल र दुर्गा थापालाई सम्मान गरिएको छ । सुर्खेतको पत्रकारिताको विकासमा महŒवपूर्ण योगदान गरेको भन्दै उनीहरूलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै महासंघ सुर्खेत शाखाको पत्रकारिता अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गर्ने सांसद सीता नेपाली, पूर्व मन्त्री यामलाल कँडेल, जिल्ला विकास समिति, वीरेन्द्रनगर नगरपालिका, झुप्रा बृहत खानेपानी तथा सरसफाइ संस्था, अन्तरनिर्भर समाज, सिद्धार्थ सञ्चार सहकारी संस्था, सिद्धार्थ शनि रिसोर्ट र व्यवसायी लक्ष्मण कँडेललाई पनि सम्मान गरेको छ । त्यसैगरी दुई लाख ५१ हजार रूपैयाँ बराबरको पत्रकारिता अक्षयकोष स्थापना गर्न सहयोग गर्ने व्यवसायी सूर्यबहादुर खड्का तथा एक लाख ११ हजार एक सय एघार रूपैयाँको अक्षयकोष स्थापना गर्ने देउती दर्शन वाटर एण्ड वेभरेज इण्डष्ट्रिजका सञ्चालक भीमबहादुर भण्डारीलाई पनि सम्मान गरिएको छ । त्यस्तै सोही अवसरमा उत्कृष्ट वर्ष पत्रकारिता पुरस्कार २०७१ बाट सुर्खेत पहिचान दैनिकका सम्पादक दुर्गा थापा र २०७२ का सोही पुरस्कारबाट रेडियो भेरी एफएममा कार्यरत पत्रकार दीपा कोइरालालाई पुरस्कृत गरिएको छ ।
साधारणसभाले महासंघ सुर्खेत शाखाका सचिव ललितबहादुर बुढाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष टेकेन्द्र विकले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । त्यसैगरी शाखाको कार्ययोजना र सदस्यता शुद्धीकरण प्रस्ताव पनि सर्वसम्मत् रूपमा पारित गरिएको हो । साधारणसभा अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा सम्पन्न भएको हो ।
थापा पुरस्कृत
यसैबीच यस दैनिकका संवाददाता गीता थापा पुरस्कृत भएकी छिन् । खानेपानी तथा सरसफाइको क्षेत्र कलम चलाएको भन्दै नेपाल पत्रकार महासंघले यस वर्षदेखि सुरु गरेको खानेपानी तथा सरसफाइ वर्ष पत्रकारिता पुरस्कारबाट थापा पुरस्कृत भएकी हुन् । थापा र हाम्रो नयाँ नेपाल दैनिकका पत्रकार खेमराज वलीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । व्यवसायी भीमबहादुर भण्डारीको सहयोगमा नेपाल पत्रकार महासंघले यसै वर्षदेखि उक्त पुरस्कार प्रदान गर्न थालिएको हो ।
साझा बिसौनी संवाददाता ।