‘पार्टीलाई विधिमा चलाउनेछु’

यज्ञबहादुर बिसी
तपाईंको उम्मेदवारी किन ?
म वि.सं. २०३६ सालदेखि नै कांग्रेसको राजनीतिमा निरन्तर लागेको छु । पञ्चायतविरुद्ध मैले विद्यार्थीकालदेखि नै सङ्घर्ष सुरु गरें । देशमा भएका राजनीतिक परिवर्तनहरूमा मेरो रगत र पसिना बगेको छ । मैले व्यक्तिगत र पारिवारिक स्वार्थलाई त्यागेर अहिलेसम्म कांग्रेसको राजनीतिमा जीवन बिताएको छु । म पार्टी र कार्यकर्ताप्रति निरन्तर क्रियाशील छु । क्षेत्र नं. ३ मा लगातार चार पटकसम्म क्षेत्रीय सभापति भएर काम गरिसकेको छु । एक पटक जिल्ला कार्यसमितिको उपसभापति भएर जिम्मेवारी पूरा गरिसकेको छु । अब जिल्लाको मूल नेतृत्व सम्हालेर सुर्खेतमा कांग्रेसलाई बलियो पार्टीको रूपमा स्थापित गराउनका लागि यस पटक मैले जिल्ला सभापतिमा उम्मेदवारी दिएको हुँ ।
तपाईंका मुख्य एजेण्डाहरू के–के हुन् ?
मेरो मुख्य एजेण्डा सुर्खेत कांग्रेसलाई विधिमा चलाउनु हो । अहिले पार्टी सिष्टम र विधानमा भन्दा पनि नेताहरूको तजबिजले चल्ने गरेको छ । कार्यकर्ताको भावनालाई नेतृत्वले आत्मसात् गर्न सकेको छैन । त्यसकारण जिल्ला पार्टीलाई पार्टीको सिद्धान्त र विधि अनुसार अगाडि बढाउनका लागि मेरो मुख्य प्राथमिकता हुनेछ । वडादेखि जिल्ला तहसम्मका सम्पूर्ण कार्यकर्ताहरूलाई अपनत्व हुने गरी नेतृत्व प्रदान गर्ने, पार्टीलाई क्रियाशील र लोकप्रिय बनाउने, भ्रातृ संस्थाहरूलाई जुझारु बनाउने र राजनीतिक तथा आर्थिक रूपमा कांग्रेसलाई सशक्त बनाउने मेरा मुख्य एजेण्डा हुन् । अबका हरेक निर्वाचनमा कांग्रेस कहिल्यै दोस्रो हुने छैन । पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न म निरन्तर क्रियाशील रहनेछु ।
पार्टीभित्रका गुटलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
एउटा जीवन्त पार्टीभित्र सामान्य मतभेद र विवाद हुनु अन्यथा होइन । तर पनि कहिलेकाहीं व्यक्ति र समूहका नाममा पार्टीभित्र गुटहरू देखिने गरेका छन् । यो हाम्रो पार्टीमा मात्र होइन प्रायः सबै पार्टीमा समस्याको रूपमा रहेको छ । सुर्खेत कांग्रेसको सन्दर्भमा देखापरेका सबै प्रकारका समस्याहरू समाधान गर्नका लागि मेरो प्रत्यत्न रहनेछ । सबै कार्यकर्ता र शुभेच्छुकहरूको भावनालाई आत्मसात् गर्दै उनीहरूको चाहनाअनुसार पार्टीलाई एकताबद्ध बनाउनेछु । अब कांग्रेसभित्र गुटहरू पूर्ण रूपमा अन्त्य हुनेछन् । पार्टी व्यक्तिबाट होइन विधि र विधानबाट सञ्चालन हुने परम्पराको सुरुवात म गर्नेछु । 
तपाईंले चुनाव जित्ने आधार के–के छन् ?
मुख्य कुरा पार्टीप्रतिको लगाव र त्याग नै हो । मैले पार्टीका लागि व्यक्तिगत तथा पारिवारिक स्वार्थहरू त्यागेको छु । पार्टीलाई कठिन अवस्थामा पनि जनताको बीचमा स्थापित गराउन मैले खेलेको भूमिका अहिले पनि ताजा नै छ । कार्यकर्ताहरूकाबीचमा मैले हालसम्म व्यतित गरेको समय र नेताहरूको सुझावलाई आत्मसात् गर्न सक्ने क्षमता म सँग रहेको छ । यीनै कुराहरू नै मेरा लागि चुनाव जित्ने मुख्य हतियार हुन् । इमान्दार र त्यागलाई कार्यकर्ताहरूले पनि मूल्याङ्कन गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । मेरो इमान्दारितालाई आम कार्यकर्ताहरूले विगतदेखि नै मूल्याङ्कन गर्दै आउनुभएको छ । त्यो मूल्याङ्कनको परिणाम यो जिल्ला अधिवेशनबाट देखिनेछ ।
यदि निर्वाचित भएको खण्डमा पहिलो तीन महिनाभित्र तपाईंबाट कार्यकर्ताले के पाउलान् ?
मुख्य रूपमा कार्यकर्ताले पार्टीलाई प्रणालीमा चलेको अनुभूति गर्नेछन् । हालसम्मको नेतृत्वले कहिल्यै पनि पार्टीका राजनीतिक तथा आर्थिक प्रतिवेदनहरू कार्यकर्ताकाबीचमा बहसका विषय बनाएनन् । केवल व्यक्तिगत विचारहरूलाई हावी बनाए । आम कार्यकर्ताको भावनालाई उनीहरूले आत्मसात् गर्न सकेनन् । अबको तीन महिनाभित्र म निर्वाचित भएको खण्डमा पूर्व घोरेटादेखि पश्चिमको लगामसम्मका कांग्रेसहरूले अपनत्व महसुस गर्नेछन् । कार्यालयलाई थप आधुनिक र व्यवस्थित बनाउने छु । जिल्ला र वडाको समन्ध थप निकट हुनेछ । कांग्रेसका हरेक कार्यकर्ताले शीर ठाँडो बनाएर हिँड्न सक्ने वातावरणको सिर्जना हुनेछ । 
यदि पराजित हुनुभयो भने तपाईंको भूमिका कस्तोे रहन्छ ?
म पराजित हुनका लागि उम्मेदवार बनेको होइन । आजसम्म मेरो विचार र व्यवहारले कहिल्यै पनि हारेको छैन । यो जिल्ला अधिवेशनमा पनि म पराजित हुने अवस्था छैन । तर निर्वाचनमा सबैको जीत हुँदैन । एक पक्षले जित्दा अर्को पक्षले हार्नुपर्छ । यदि म पराजित भइहालेछु भने पनि मेरो पार्टीप्रतिको लगाव थप सशक्त हुनेछ । आउँदा अधिवेशनहरूमा कार्यकर्ताको मन जितेर विजयी हुनका लागि तयार हुनेछु । पार्टीलाई थप क्रियाशील बनाउँदै जिल्ला सभापतिको कुर्चीमा बस्न नसके पनि कार्यकर्ताको बीचमा सधैं रहनेछु ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
सुर्खेत राम्रो हुनका लागि यहाँको नेतृत्व सक्षम र इमान्दार हुन जरुरी छ । त्यसका लागि हामीले कांग्रेसलाई बलियो र जुझारु बनाउन जरुरी छ । कांग्रेस जनताको बीचमा लोकप्रिय भएको खण्डमा मात्र हामी पहिलो शक्ति हुनेछौं । त्यसका लागि जिल्ला नेतृत्व छनौट गर्दा आम कांग्रेसजनहरूले गम्भीर रूपमा सोच्नुपर्ने बेला भएको छ । असल र सक्षम नेतृत्व चयन गर्ने यो मौकालाई कसैले पनि गुमाउनु हुँदैन । एक पटक गम्भीर भएर पार्टीको आगामी उज्वल भविष्यका लागि सही दिशानिर्देश गर्न सक्ने नेतृत्व चयन गर्न म आग्रह गर्दछु । त्यसका लागि एक पटक मलाई सभापतिमा विजयी गराउनु हुन सम्पूर्ण प्रतिनिधि तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछु ।
प्रकाशित मितिः   २५ माघ २०७२, सोमबार ११:५६