‘पार्टीलाई लोभ लाग्दो बनाउनेछु’

कमलराज रेग्मी
तपाईंको उम्मेदवारी किन ?
म वि.सं. २०४६ सालदेखि नै कांग्रेसको राजनीतिमा निरन्तर लागेको छु । विद्यार्थी राजनीतिबाटै मैले आफ्नो पार्टीप्रतिको जिम्मेवारी निर्वाह गर्दै आएको छु । पार्टी राजनीतिमा क्रियाशील रहँदा नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्यसमेत भइसकेको छु । यस्तै क्षेत्र नं. २ मा लगातार तीन कार्यकाल सभापतिको पदमा रहेको काम गरेको अनुभव पनि म सँग छ । एक पटक जिल्ला कार्यसमितिको सदस्य भइसकेको छु । सङ्गठन निर्माण र पार्टीलाई जनताको बीचमा परिचित गराउने काममा मेरो योगदान र त्याग रहेको छ । यही भूमिकाका कारण मैले यसपटक पार्टीको जिल्ला सभापतिमा उम्मेदवारी दिएको हुँ ।
तपाईंका मुख्य एजेण्डाहरू के–के हुन् ?
मेरो पहिलो एजेण्डा भनेकै पार्टीको सङ्गठनलाई चुस्त र दुरुस्त बनाउने हो । सबै कार्यकर्तालाई समेट्ने, पार्टीको जिल्ला कार्यालयलाई थप व्यवस्थित बनाउने, जिल्लाको विकास निर्माणलाई समानुपातिक रूपमा गर्नका लागि पहल गर्ने, जिल्लाका हरेक क्षेत्रमा पार्टीलाई जनताको माझमा स्थापित गराउने र युवाहरूलाई नेतृत्वका लागि प्रोत्साहन गर्ने मेरा मुख्य एजेण्डा हुन् । पार्टीलाई आउँदो स्थानीय निकायको निर्वाचनमा सशक्त रूपमा प्रस्तुत गर्ने र नम्बर एक बनाउने लक्ष्य पनि मेरो रहेको छ । समग्रमा सुर्खेत कांग्रेसलाई लोभलाग्दो र अब्बल बनाउनु नै मेरो प्राथमिकता रहनेछ ।
कांग्रेसभित्र अहिले पनि गुटहरू कायमै छन्, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
पार्टीभित्र नेतृत्व चयन गर्ने र लाभ लिने बेलामा गुट उपगुटहरू देखा पर्दछन् । यसलाई स्वभाविक रूपमा नै लिनु पर्दछ । जहाँसम्म सुर्खेतमा पार्टीभित्र देखापरेका गुटहरूलाई म मिलाउन सक्षम छु । मलाई पूर्ण विस्वास छ, अहिले पार्टीभित्र मात्र होइन प्राय सबै भातृ सङ्गठनहरूमा समेत गुटको समस्या रहेको छ । त्यसलाई पनि चिर्दै कांग्रेसलाई बलियो पार्टीको रूपमा स्थापित गर्नेछु । सबैको भावनालाई आत्मसाथ गर्दै अग्रज नेताहरूको सुझाव र कार्यकर्ताहरूको चाहना अनुसार म आफूलाई प्रस्तुत गर्नेछु । 
तपाईंले चुनाव जित्ने आधार के–के छन् ?
मलाई त अहिले पनि मेरो नाममा नै सर्वसम्मत हुन्छ भन्ने विश्वास छ । किन भने म आम कार्यकर्ताहरूको चाहना र नेताहरूको सुझावका आधारमा उम्मेदवार बनेको हुँ । अधिवेशन हो, सर्वसम्मत नभएको खण्डमा निर्वाचनमा जानैपर्दछ । त्यसका लागि म तयार छु । मलाई वर्तमान सभापति तप्तबहादुर विष्ट, नेता हृदयराम थानी र शिवराज जोशीले साथ दिनुभएको छ । उहाँहरूको आग्रहमा नै म उम्मेदवार बनेको हुँ । अर्कोतर्फ मैले लामो समयसम्म कार्यकर्ताकै बीचमा रहेर काम गरेको छु । मेरो क्रियाशीलता, इमानदारिता र निरन्तरताका कारण मलाई सबैले विश्वास गर्नुहुनेछ । यस्तै गाउँ तथा नगरबाट आउनुभएका प्रतिनिधिहरू पनि मेरो पक्षमा नै बढी छन् । त्यसकारण म विजयी हुनेमा ढुक्क छु ।
यदि निर्वाचित भएको खण्डमा पहिलो तीन महिनाभित्र तपाईंबाट कार्यकर्ताले के पाउलान् ?
अबको एक महिना हामी केन्द्रीय महाधिवेशनमा नै व्यस्त रहनेछौं । त्यसकारण चैत पछिको तीन महिनामा सुर्खेतको कांग्रेस एक कदम अगाडि हुनेछ । तल्लो तहमा रहेका आम कार्यकर्ताले समेत पार्टीभित्र नयाँ अनुभूति गर्नेछन् । अहिलेको जस्तो कांग्रेस हुने छैन । अबको तीन महिनाभित्र सुर्खेत कांग्रेसको सङ्गठन बलियो र क्रियाशील हुनेछ । जिल्ला पार्टी कार्यालयलाई थप व्यवस्थित र कार्यकर्तामैत्री बनाइनेछ । समग्रमा पहिलो तीन महिनामा सुर्खेत कांग्रेस कार्यकर्ताहरूको बीचमा सशक्त रूपमा उपस्थित हुनेछ ।
यदि पराजित हुनुभयो भने तपाईंको भूमिका कस्तोे रहन्छ ?
पहिलो कुरा त पराजित हुने सम्भावना नै छैन । मैले त्यो कल्पना नै गरेको छैन । चुनाव प्राविधिक विषय हो । हार र जीत हुने सम्भावना रहन्छ । यदि कुनै कारण म पराजित भइहालें भने पनि म निराश हुने छैन । आजसम्म जिल्ला सभापति नहुँदा पनि मेरो भूमिका क्रियाशील नै छ । मेरै संयोजकत्वमा जिल्ला पार्टी कार्यालयको भवन बनेको हो । अहिले पनि त्यो भवन अपूरो छ । त्यसलाई पूर्ण बनाउनका लागि म निरन्तर लाग्नेछु । आम कार्यकर्ताहरूको बीचमा पार्टीको सिद्धान्त र विचारलाई स्थापित गराउनेछु । निर्वाचित हुने नेतृत्वलाई कुनै पूर्वाग्रह नराखेर सहयोग गर्नेछु । व्यक्ति भन्दा पार्टी र सङ्गठन ठूलो हो । त्यसका लागि म आफूलाई सधैं क्रियाशील बनाउने छु ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
वास्तवमा हामी निर्णायक क्षणमा छौं । आगामी पाँच वर्षका लागि सुर्खेत कांग्रेसले अभिभावक खोजिरहेको छ । नयाँ नेतृत्व चयन गर्ने सुवर्ण अवसर हाम्रो बीचमा आएको छ । यो अवसरलाई सबै पार्टीका नेता तथा कार्यकर्ताहरूले एक पटक गम्भीर रूपमा सोच्दै, विचार गर्दै र कामको सही मूल्याङ्कन गरी सक्षम नेतृत्व छनौट गर्न जरुरी छ । जिल्लाको अन्य पार्टीहरूसँगको समन्वय र सहकार्य गर्नसक्ने नेतृत्व आवश्यक छ । यी कुराहरूलाई मध्यनजर गर्दै यो जिल्ला अधिवेशनमा मलाई अत्याधिक मतले विजयी गराउन हुन सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछु । मलाई विश्वास छ, मैले सबैको साथ र सहयोग पाउनेछु । यहाँहरूको विश्वास र साथले सुर्खेतमा कांग्रेस थप बलियो र सशक्त हुनेछ ।
प्रकाशित मितिः   २५ माघ २०७२, सोमबार १२:०५