कांग्रेसको जिल्ला अधिवेशन आज, कसले मार्ला बाजी ?

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ माघ । 
नेपाली कांग्रेस सुर्खेतको जिल्ला अधिवेशन आज (सोमवार) हुँदैछ । अधिवेशनले पार्टीको पाँच वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । केन्द्रमा जस्तै जिल्लामा पनि संस्थापन र देउवा पक्षमा विभाजित नेताहरू छुट्टा–छुट्टै प्यानल बनाएर निर्वाचन लड्ने तयारीमा छन् । सर्वसम्मतिका लागि प्रयास नै नगरी दुवै पक्षले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । जसले गर्दा निर्वाचनमार्फत् नै नेतृत्व छनौट हुने निश्चितप्राय भएको छ ।
संस्थापन पक्षले शनिवार नै सभापति र सचिव पदको लागि उम्मेदवारी घोषणा गरेको थियो भने आइतवार कोषाध्यक्ष पदको उम्मेदवार पनि टुङ्गो लगाएको छ । संस्थापन पक्षबाट सभापतिमा कमलराज रेग्मी, सचिवमा टोपबहादुर रावत र कोषाध्यक्षमा अनन्त पौडेल उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला कार्यसमितिको प्रमुख तीन पदमा जिल्लाका तीनवटै क्षेत्रबाट एक÷एक जना उम्मेदवार बनाइएको छ । सभापतिका उम्मेदवार रेग्मी क्षेत्र नं. २ का हुन् भने सचिवका उम्मेदवार रावत क्षेत्र नं. ३ र कोषाध्यक्षका उम्मेदवार पौडेल क्षेत्र नं. १ का हुन् । यो समूहको नेतृत्व नेता हृदयराम थानीले गरेका छन् ।
यस्तै देउवा पक्षले भने आइतवार राती मात्र उम्मेदवारी घोषणा गरेको छ । क्षेत्र नं. ३ का निवर्तमान क्षेत्रीय सभापति यज्ञबहादुर बिसीलाई सभापतिको उम्मेदवार घोषणा गरिएको छ । यस्तै सचिवमा नारायणप्रसाद सापकोटा र कोषाध्यक्षमा झकबहादुर डाँगीले उम्मेदवारी घोषणा गरेका छन् । यो समूहको नेतृत्व नेता पूर्णबहादुर खड्काले गरेका छन् । संस्थापन पक्षले जस्तै देउवा पक्षले पनि जिल्लाका तीन वटै क्षेत्रलाई समेटेर उम्मेदवार घोषणा गरेको छ । सचिव पदका उम्मेदवार सापकोटा क्षेत्र नं. २ का हुन् भने कोषाध्यक्षमा उम्मेदवार डाँगी क्षेत्र नं. १ का हुन् । 
उम्मेदवारी घोषणासँगै दुवै पक्षले जिल्ला नेतृत्व हात पार्ने आ–आफ्ना दाबी अगाडि सारेका छन् । दुवै पक्षले कार्यकर्तालाई आफ्नो पक्षमा पार्नका लागि अन्तिम कसरत गरिरहेका छन् । यसअघि गाउँ, नगर तथा क्षेत्रीय अधिवेशनमा संस्थापन पक्षले क्षेत्र नं. २ र ३ मा पकड जमाएको छ । यस्तै क्षेत्र नं. १ मा भने खड्का पक्षले पकड जमाएको छ । यो अधिवेशनमा क्षेत्र नं. ३ निर्णायक हुने अनुमान गरिएको छ । जसका कारण खड्का पक्षले अन्तिम समयमा आएर बिसीलाई सभापतिमा अगाडि सारेको हो । बिसीलाई सभापतिमा अगाडि सारेपछि क्षेत्र नं. ३ को मत आफ्नो पक्षमा आउने खड्का पक्षका एक नेताले बताए । वर्तमान जिल्ला सभापति तप्तबहादुर विष्टले कमलराज रेग्मीलाई सभापतिको उम्मेदवारमा समर्थन गरेपछि खड्का पक्षले बिसीलाई सभापतिको उम्मेदवार बनाएको हो । यसअघि विष्ट र बिसी एउटै क्षेत्रका भएकाले एउटै समीकरण हुने विश्लेषण गरिएको थियो ।
प्रकाशित मितिः   २५ माघ २०७२, सोमबार १२:०८