रक्तिमको सांस्कृतिक कार्यक्रम हुँदै

सुर्खेत, ६ चैत ।
सुर्खेतमा रक्तिम विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । माथिल्लो कर्णाली बचाऊ राष्ट्रिय अभियान केन्द्रीय समितिको आयोजनामा यही चैत १७ गते सुर्खेतमा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । अभियानले आइतवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।
माथिल्लो कर्णाली जलविद्युत आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्ने माग गर्दै र भारतीय कम्पनी जीएमआरलाई दिने निर्णयको विरोध गर्दै आएको माथिल्लो कर्णाली बचाऊ राष्ट्रिय अभियानले अभियानका लागि आर्थिक सहयोग जुटाउन सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । जस अन्तर्गत चैत १६ गते बाँकेको कोहलपुरमा, चैत १७ गते सुर्खेतमा र चैत १९ गते दैलेखमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष जीवन शाहीले जानकारी दिए ।
अभियानका लागि सहयोग जुटाउनुका साथै माथिल्लो कर्णाली जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउनुपर्छ भनेर जनचेतना जगाउनका लागि पनि कार्यक्रमको आयोजना गरिएको अभियानका केन्द्रीय अध्यक्ष भरत शाहीले बताए । उनले थोरै र स्वदेशी लगानीमा निर्माण गर्न सकिने आयोजना विदेशीलाई दिने निर्णय मुलुकको हितविपरित भएको बताए । अभियानका कोषाध्यक्ष बालकृष्ण सुनारले माथिल्लो कर्णाली बचाउनका लागि सबै एकजुट हुनुपर्ने बताए । उनले जनतालाई एकजुट गराउनका लागि पनि सांस्कृतिक कार्यक्रम गर्न लागिएको समेत
बताए । सांस्कृतिक कार्यक्रममा
रक्तिम अभियानका साथै मनोज गजुरेल लगायतका कलाकारहरूको प्रस्तुती रहनेछ ।

प्रकाशित मितिः   ७ चैत्र २०७३, सोमबार १७:१४