मुख्यमन्त्री कँडेलले गरे पदभार ग्रहण

कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पदभार ग्रहण गरेका छन् । बुधवार प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितको समर्थनमा उनी मंगलवार मुख्यमन्त्री नियुक्त भएका हुन् । बुधवार प्रदेश प्रमुख परियारलेसंविधानको धारा एक सय ६८ को उपधारा २ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
पदभार ग्रहणपछि कँडेलले सरकार गठनको विषयमा छलफल भइरहेको जानकारी दिएका छन् । सत्ता साझेदार दलहरूसँग नितरन्तर छलफल भइरहेको उनको भनाइ छ । ‘सत्ता साझेदार दलहरूसँग सरसल्लाहमा केही समय लाग्ने हुँदा ढिलाइ भइरहेको हो’ उनले भने । सत्तारुढ गठबन्धनमा कुरा नमिल्दा कँडेलले बुधवार एक्लै शपथ लिएका छन् । गठबन्धनभित्र मन्त्रालय भागबन्डाको विषय टुँगो लाग्न सकेको छैन ।

प्रकाशित मितिः   २९ चैत्र २०८०, बिहीबार ०५:०१