कर्णालीको मुख्यमन्त्रीमा कँडेल

संघीय सरकारको मन्त्री भइसकेका कँडेलका लागि पहिलो पटक प्रदेशको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । संसदीय राजनीतिमा उनको लामो अनुभव छ ।

सुर्खेत: कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलवार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कँडेललाई एमालेसहित गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन दिएका छन् । तीन दलका २४ सांसदको हस्ताक्षरसहित उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । कँडेल कर्णालीको चौथो मुख्यमन्त्री बनेका छन् । मंगलवार नियुक्त भएका उनले बुधवार (आज) दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिनेछन् ।

संघीय सरकारको मन्त्री भइसकेका कँडेलका लागि प्रदेशको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । संसदीय राजनीतिमा उनको लामो अनुभव छ । शिक्षण पेसामा सक्रिय उनलाई २०३६ सालमा सुर्खेतको दशरथपुरमा भएको किसान आन्दोलनले पूर्णकालीन राजनीतिमा तान्यो । पञ्चायती शासनविरुद्धको किसान आन्दोलनमा चार जनाले ज्यान गुमाएको उक्त घटनाले कँडेललाई राजनीतिमा लाग्न प्रेरित गरेको थियो ।

त्यसपछि उनी विद्यार्थी संगठनमा आवद्ध भए । २०४० देखि २०४६ सम्म पार्टीको काठमाडौं उपत्यकाको विद्यार्थी कमिटीमा क्रियाशील भएका कँडेल २०४९ सालमा एमाले सुर्खेतको प्रथम अधिवेशनबाट सचिव बने । २०४९ को स्थानीय निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको पहिलो नगर प्रमुखसमेत भए । २०५१ सालमा नगर प्रमुखबाट राजीनामा दिएर मध्यावधि निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

२०५४ सालमा एमाले विभाजन हुँदा उनी वामदेव गौतम नेतृत्वको नेकपा मालेमा सामेल भए । त्यही बेला नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री बनेका हुन् । त्यसपछि २०५६ को संसदीय निर्वाचनमा मालेको तर्फबाट उम्मेदवार बनेका उनी सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट पराजित भए ।

यसबीचमा उनी दुई पटक जेलसमेत परेका छन् । २०४१ सालमा शान्ति सुरक्षा मुद्दामा काठमाडौंस्थित भद्रगोल जेलघरमा उनले नौ महिना बिताए । त्यसपछि पनि २०६२/०६३ को आन्दोलनका क्रममा तीन महिना सुर्खेत कारागारमा बिताए ।

२०६४ सालमा एमालेको तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट संविधान सभा सदस्य निर्वाचित भएका कँडेल २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने पराजित हुन पुगे । त्यसपछि २०७४ र २०७९ का दुई वटै निर्वाचनमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

कर्णालीबाट राष्ट्रिय राजनीतिमा पहुँच बनाउने नेताहरूमध्येका एक कँडेललाई प्रदेशको मुख्यमन्त्री हुन भने निकै मेहेनत गर्नुप¥यो । २०७४ मा एमाले कर्णाली प्रदेशसभाको पहिलो दल भएपनि सत्तागठबन्धनका कारण उनी मुख्यमन्त्री हुन पाएनन् । त्यो बेला एमाले–माओवादीबीचको समीकरणले माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । २० सिट जितेको एमालेसँग बहुमतका लागि १ सिट अपुग थियो । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन २१ सिट आवश्यक थियो । केन्द्रबाटै कर्णाली माओवादीको भागमा पर्दा कँडेलसामु महेन्द्रलाई स्वीकार्नु बाहेक विकल्प थिएन । प्रत्यक्षमा एक सिट जितेको कांग्रेसले सरकारको नेतृत्व गर्नै अवसर पाउँदासमेत कँडेल प्रतिपक्षको कुर्सीमा बस्न बाध्य भए ।

२०७९ मा पनि उनी प्रदेशसभा सदस्यमा निर्वाचित भए । यसपटक एमाले सभाको तेस्रो दल बन्यो । सुरुवातमा एमाले र माओवादीसहितको गठबन्धनले सरकार बनाएपनि कर्णाली माओवादीकै भागमा पर्दा कँडेल मुख्यमन्त्री हुन पाएनन् । त्यतिबेला ढाई वर्ष माओवादीले नेतृत्व गर्ने र त्यसपछि एमालेलाई दिने सहमति भएको थियो । तर लगत्तै गठबन्धन भत्किएर एमाले सरकारबाट नै बाहिरियो ।

पछिल्लो पटक पुनः माओवादी–कांग्रेस गठबन्धन भत्किएपछि कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने अवसर पायो । यसपटक एमाले–माओवादी गठबन्धनमा कर्णाली एमालेको भागमा परेपछि कँडेल मुख्यमन्त्री हुन पाए । निकै लामो पर्खाइपछि मुख्यमन्त्री बनेका कँडेलसँग गठबन्धनको अर्को दल माओवादी र एकीकृत समाजवादीसँग समन्वय गर्दै सरकार सञ्चालन गर्नुपर्ने चुनौती छ ।

प्रकाशित मितिः   २८ चैत्र २०८०, बुधबार ०५:०५