सम्झौता सकियो, भवन निर्माण अधुरै

सुर्खेत: वीरेन्द्रनगरमा निर्माणाधीन दुई वटा सरकारी भवन अधुरै छन् । सम्झौता अवधि सकिए पनि भवन निर्माण कार्य सकिएको छैन ।

प्रदेश आयुर्वेद औषधालयको भवन निर्माण अवधि २०८० चैत २१ गते सकियो । पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माणको काम अधुरै छ । निर्माण कार्य २०७८ असारबाट सुरु गरिएको थियो । आयुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपरस्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । संघीय सरकारको १८ करोड २२ लाख बजेटमा निर्माण सम्झौता गरिएको हो । निर्माण कार्य सुरु गरिएको साढे दुई वर्षमा ३० प्रतिशत मात्र भौतिक प्रगति हासिल भएको छ । सम्झौताअनुसार २०८० चैत २१ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म भवनको पहिलो तलाको ढलानसमेत भएको छैन ।

१५ शैड्ढयाबाट सेवा दिनेगरी भवन निर्माणको काम थालिएको थियो । सम्झौता भएको साढे दुई वर्ष बितिसक्दा एक तला पनि ढलान हुन नसकेको आयुर्वेद औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले बताए । निर्माण कम्पनीको लापरबाहीका कारण निर्माण कार्य समयमा हुन नसकेको उनको भनाइ छ । ‘सम्झौता भएको साढे दुई वर्ष बितिसक्दा एक तला पनि ढलान भएको छैन । अहिले सम्झौता अवधि नै सकियो । भवन नहुँदा सेवा दिन सास्ती भइरहेको छ’ रिजालले भने । अस्पतालजस्तो संवेदनशील क्षेत्रको भवन निर्माणमा ढिलासुस्ती हुँदा सेवा प्रवाहमा असर परिरहेको डा. रिजाल बताउँछन् । भौतिक संरचनाको अभावमा औषधालयले साँघुरा कोठाहरूबाट सेवा दिइरहेको भन्दै उनले म्याद थपिरहने तर काम नगर्ने ठेकेदारलाई कालोसूचिमा राख्नुपर्ने जनाए । लामो समयसम्म पनि भवन निर्माणले पूर्णता नपाउँदा सेवा प्रवाहमा समस्या परेको रिजालको भनाइ छ । सेवा विस्तार भएपनि आवश्यक भौतिक पूर्वाधार नहुँदा समस्या हुनेगरेको छ ।

भवन निर्माणको अनुगमन तथा नियमन गर्ने निकाय सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी पूर्णप्रसाद शर्माले पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण लक्ष्य अनुरूप काम हुन नसकेको जानकारी दिए । भवन निर्माण समयअवधि २०८० चैत २१ सकिएको भन्दै उनले अहिले कार्यालयमा निर्माण कम्पनीले पुनःम्याद थपका लागि निवेदन पेस गरेको बताए ।

यस्तै, कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माण कार्य पनि अधुरै छ । सझौताअनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । जगदम्बा शिवालय सुपरस्ट्रार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसारको अवधिमा काम नसकिएपछि पटक–पटक म्याद भइरहेको छ । पछिल्लो पटक २०८० असोजमा म्याद सकिएको हो । अहिलेसम्म पुन म्याद थप गरिएको छैन ।

भवनको सम्झौता अवधि सकिएको भएपनि भवन निर्माण अधुरै रहेको कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताए । भवन निर्माणमा ढिलाइ हुँदा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र भाडाको घरबाट सञ्चालन भइरहेको उनले जानकारी दिए । मासिक ४० हजार तिरेर भाडाको घरबाट आपूर्ति केन्द्र सञ्चालन भइरहेको छ । भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधि नेपालगञ्जमा स्ट्रोर गर्ने गरिएको छ । भाडाको घर भएकाले आवश्यक उपकरण र औषधि भण्डारण गर्न समस्या हुने गरेको उनले बताए । निर्माण व्यवसायीको ढिलाइले गर्दा भवन निर्माण कार्य अधुरै रहेको छ । औषधि भण्डारका लागि ठाउँ नहुँदा जिल्लाबाट माग भएका र तत्काल जिल्लामा पठाउनुपर्ने औषधि मात्र केन्द्रमा ल्याउने गरिएको उनले बताए ।

 

म्याद थपको तयारी

एउटै निर्माण कम्पनीले दुई सरकारी भवन अलपत्र अवस्थामा पु¥याएको छ । जिम्मेवार निकाय र ठेकेदारको लापरबाहीले भवन निर्माण कार्य अधुरै बनेको हो । दुई वटै सरकारी भवन निर्माणका लागि म्याद थप गर्न सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतमा निवेदन पेस गरिएको छ ।

यता कार्यालयले भने कार्य प्रगतिको आधारमा मात्र म्याद थप गरिने जनाएको छ । कार्यालय प्रमुख रामकृष्ण आचार्यले दुई वटै भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनी एउटै भएको बताए । उनले कार्यालयमा म्याद थपका लागि निवेदन पेस गरिएको भन्दै अन्तिम पटक म्याद थप गर्न सकिने जानकारी दिए । सार्वजनिक खरिद ऐन २०६३ को १३औँ संशोधनको प्रावधानले म्याद थपको बाटो खुल्ला गरेको भन्दै उनले अन्तिम पटक म्याद थपिने जनाए । समयमा नै काम गर्न ताकेता दिएको भएपनि निर्माण कम्पनी अटेरी गरेर काम नगर्ने गरेको पाइएको छ ।

प्रकाशित मितिः   २७ चैत्र २०८०, मंगलवार १०:४२