डढेलो निभाउँदा घाइते

सुर्खेत: सल्यानको र डोल्पामा लागेको डढेलो निभाउँदा १९ जना घाइते भएका छन् । सल्यानको कपुरकोट गाउँपालिका १ गर्पाको स्यालेडेरा सामुदायिक वनमा लागेको डढेलो निभाउँदा १५ जना घाइते भएका हुन् । हावाहुरी चलेका कारण आगोको लप्कोले लागेर १५ स्थानीय घाइते भएका हुन् ।

घाइते सबैको अवस्था सामान्य रहेको कपुरकोट रेन्जपोष्ट प्रमुख अन्जना शर्माले बताइन् । आगो निभाउँदा कसैको हातमा र कसैको खुट्टाका केही भागमा आगोले पोलेको उनले जानकारी गराइन् । उनका अनुसार घाइते हुनेमा स्थानीय उपभोक्ता टेकेन्द्र घर्ती, दिपक घर्ती, जमुना घर्ती, भीमा घर्ती, रामपाल बिक, दलबहादुर राना, गौरी बुढा, मनोज राना भीमबहादुर घर्ती, करण राना, तीलक राना, खष्न्द्रे भर्ती, नन्दराम घर्ती, अनुष्का बाठा र सीता बाठा छन् । घाइते भएक सबै सामान्य उपचारपछि ठिक भएका उनको भनाइ छ ।

सामुदायिक वनकी अध्यक्ष कौशिला रानाले शनिवारदेखि वनमा लागेको डढेलो निभाउन समुदायका सबैलाई हम्मेहम्मे परेको बताइन् । भौगोलिक बनावट र हावाहुरीका कारण २४ घन्टा पछि मात्र डढेलो नियन्त्रणमा लिन सफल भएको उनले जानकारी गराइन् । डढेलो निभाउँदा स्थानीय सामान्य घाइते भएपनि कसैलाई खासै समस्या नभएको उनको भनाइ छ । वन क्षेत्र नजिकै रहेको एक घर नजिकैबाट फैलिएको आगो वनभरि फैलिँदा ५० हेक्टर वन क्षेत्रफलमा भएका साना बिरुवा र काठ जलेर नष्ट भएको उनले जानकारी दिइन् ।

यसैगरी डोल्पामा डढेलो निभाउने क्रममा चार जना नेपाली सेना घाइते भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा चार जना घाइते भएका डोल्पा प्रहरीले जनाएको छ ।

आइतवार दिउँसोदेखि वनमा लागेको आगो अत्याधिक हावाहुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो । हावाहुरीका कारण सोमबार दिउँसो फेरि सुरु भएको आगलागी नियन्त्रण गर्न गएका देवीदत्त गुल्मका चार जना सेना आगो निभाउने क्रममा घाइते भएका हुन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आगलागीमा परि घाइते हुनेमा ३० वर्षीय विजय कोइराला, ३८ वर्षीय केशरबहादुर दर्जा मगर, २३ वर्षीय अशिष बुढा र २८ वर्षीय हेमन्त रावत रहेका छन् । घाइते भएकाहरूलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

प्रकाशित मितिः   २७ चैत्र २०८०, मंगलवार १०:३९