आँगनको सरकारलाई नियाल्दा

 

गणतन्त्र आएपछि जनताले खास के पाए भन्ने एउटा अहम प्रश्न छ, जसको चित्तबुझ्दो उत्तर कसैसँग छैन । तर सिंहदरबार बालुवाटार र प्रदेश सरकारमाथि रजाइँ गर्ने राजनीतिले ठूलो स्वार्थ लुटिरहेको कुरा दुनियाँले चाल पाएको छ । जनभावना र अपेक्षा विपरीत २०७२ सालको संविधान निर्माण भएको भन्ने सत्यबोधले आमरूपमा चित्त दुखाइ पनि छ । तथापि संविधान जारी भएपछि स्थानीय, प्रदेश र केन्द्र गरी तीन तहमा नै दुई पटक निर्वाचन सम्पन्न भइसकेको छ ।

दल–दलका आपसी खिचातानीका कारणले स्थानीय तहको निर्वाचन प्रक्रिया अवरुद्ध भइरहेको थियो । लामो समयसम्म जबरजस्ती कर्मचारीबाट चलेको स्थानीय निकायले निर्वाचनपछि जनप्रतिनिधिको नेतृत्व पायो । स्थानीय निकायको पहिलोभन्दा दोस्रो निर्वाचन आकर्षक हुन आयो । दलको दबदबालाई चिरेर बालेन्द्र शाह, हर्क साम्पाङ र गोपाल हमालजस्ता स्वतन्त्र व्यक्तिहरूले पालिका सरकार प्रमुखको पद कब्जा गरेर तहल्का मचाए । सदावहार चर्चाको शिखरमा रहने बालेनले अदालतको झमेला झेल्दै र सिंहदरबारसँग सिँगौरी खेल्दै बाटोघाटो र गाडी पार्किङको उचित व्यवस्थापन मात्रै गरेका छैनन्, सरकारी सार्वजनिक जग्गा अतिक्रमण गर्नेकाविरुद्ध कसैको केही नसुनी निर्मम ढंगले डोजर चलाइदिए । दुर्गन्धित समस्याको रूपमा बढेको फोहोरको पहाडलाई उचित व्यवस्थापन गरे । उनको कार्यशैलीले काठमाडौं महानगर पालिकाका जनता उत्साहित छन् ।

ताल न बेतालको बाजा बजाउँदै सुर न बेसुरको गीत गाएर आफ्ना विरोधीलाई सामाजिक सञ्जालमार्फत् आक्रोश पोखे पनि आफ्नो कर्ममा हर्क साम्पाङ अडिग देखिन्छन् । श्रमदानबाट समेत राजनीतिको परिभाषा बदल्न तम्सेका साम्पाङ काम गर्दागर्दै जंगलमा र बगरमा रात बिताएका छन् । दिनरातको अथक परिश्रमले ४५ किलोमीटर टाढा कोकाहा खोलाबाट पाइपमा पानी ल्याएर धरानका जनताको तिर्खा मेट्ने सपना साकार पारी छोडे । निर्वाचनमा विजय प्राप्त गरेपछि निधार टेकेर धरानलाई ढोगेको दृश्यले होस् कि कोकाहाको पानी पाइपबाट सुरुमा झर्दा साम्पाङ हर्षले रोएर वस्त्रसहित नुहाएको दृश्यले होस् मान्छेको मन तरल बनाइदिएको थियो । यसबाट साम्पाङ काममा दृढ छन् र दिलका सफा छन् भन्ने देखिन आउँछ ।

चर्चा र प्रचारबाट अलग बस्न मन पराउने गोपाल हमालले पनि धनगढीलाई विकासको गति दिइरहेका छन् । सुन्दर सुदूरपश्चिमाञ्चलका अभियान्ता हमालले मेयर बापतको कुनै सेवा सुविधा नलिने र भ्रस्टाचार न्यूनीकरण गर्ने संकल्प लिएबाट सबैको मनमा बस्न सफल भएका छन् । भ्रष्टाचार भयो भने सुशासन कायम रहन्न, सुशासनविना देश बन्दैन भन्ने हमाल अनेकौं बाधा व्यवधान पन्छाउँदै निरन्तर अगाडि बढिरहेका छन् ।

सयौं किलोमिटर टाढाका मेयरहरूको बखानमा शब्द खर्चने तर आफ्नो मेयरले गरेको केही नदेख्ने, के वीरेन्द्रनगरमा विकासका कुनै काम भएकै छैनन् त भन्ने ढंगको प्रश्न उठन सक्छ । त्यस्तो बिल्कुल होइन, कामको परिणाम नआउँदासम्म तारिफ गरिहाल्न अलि सबेरै हुन्छ कि भन्ने मनमा लागेकै हो । किन कि विमानस्थल विस्तारको सन्दर्भमा राजनीतिको दबाब–प्रभावमा परेर वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले विगतको आफ्नै निर्णयविरुद्ध अर्को निर्णय गर्दा विश्वासमा समस्या मात्रै पैदा हुन गयो । जनतालाई मर्का पारेर विमानस्थल विस्तार गर्न नहुने भन्ने ढंगको विगतको निर्णय कुल्चेर त्यही नगरपालिकाले विमानस्थल विस्तारको लागि प्रदेश र केन्द्र सरकारसँग माग गर्ने भन्ने निर्णय ग¥यो । एउटा निर्णय आज गर्ने र भोलि उल्टाउने गर्दा त्यसले स्टन्टबाज र कमजोर कार्यशैली मात्रै देखाउँछ। त्यसको हेक्का राख्नै पर्ने हुन्छ ।

प्रसंग उठिसकेपछि विमानस्थल विस्तारको थोरै चर्चा गरौं । सञ्चालनमा रहेकोे सुर्खेत विमानस्थल प्राविधिकको प्रतिवेदन अनुसार विस्तार गर्न नमिल्ने भएपछि ठूलो विमानस्थलका विकल्पमा मदानेचौरको अवधारणा आएको हो । प्रारम्भिक अध्ययन अनुसन्धानमा त्यतातिर पनि राज्यको ठूलो लगानी लागिसकेको छ । समीकरण भत्किएपछि फेरि राजनीतिक स्वार्थमा साविककै विमानस्थल जबर्जस्ती विस्तार गरिन खोज्नु र आन्तरिक उडानमा चल्ने ठूलाठूला जहाजहरूले सहजपूर्ण रूपमा उडान भरेर यहाँ निरन्तर सेवा दिइरहेको अवस्था हुँदाहुँदै पनि विस्तार गर्नैपर्छ भन्न ढंगले लिइरहेको बालहठलाई जायज मान्न सकिन्छ र ? विचारलाई विचारले काटोस्, बहसलाई बहसले र तर्कलाई तर्कले काटोस् र पो विश्वास जाग्दछ । अब के का लागि हो विमानस्थल विस्तार गर्नुपर्ने ? जहाज नचल्ने कतिपय ठाउँमा पनि के कारणले निर्माण हुन्छन् विमानस्थलहरू ? डाँडा र टाकुराहरूमा किन उभिएका छन् भ्युटावरहरू ? गणतन्त्रको विकासलाई यही तथ्यले छर्लङ्ग पारेको छैन र ?

नमरुन्जेलसम्म उथलपुथल पारिदिने सत्ता समीकरण र कार्यशैलीले गणतन्त्र बदनाम मात्रै भइरहेको छ । जनताको नजिकको सरकार स्थानीय निकाय यस्तो दलदलबाट जोगिनै पर्छ । जस्तो भएपनि जनताले प्रत्येक्ष सेवा लिने सिंहदरबार र स्थानीय सरकार नै हो, बीचको सरकार फुर्मास मात्रै हो भन्ने जस्तो देखिन्छ । विमानस्थलको विवाद बाहेक अन्य सन्दर्भमा कोही बोले पनि नबोले पनि, कसैले लेखे पनि र कसैले नलेखे पनि निष्पक्ष आँखाले हेर्दा वीरेन्द्रनगर नगरपालिकाले आज विकासका गतिविधि र काम धमाधम गरिरहेको छ यो सत्य कतै लुक्न सक्दैन ।

मुख्य बजारको साँघुरो सडक फराकिलो चौडा पारिनु सानो उपलब्धि होइन । ठाउँ–ठाउँका सडक चोकमा हाइमास्ट लाइट राखिएको कारण रातमा समेत झिलिमिली उज्यालो देखिन्छ, सुर्खेतको मुटु वीरेन्द्रनगर । सुर्खेत उपत्यका नगर विकास समितिको जग्गा व्यक्ति र संघसंस्थाले वर्षौंदेखि भोगचलन गरिरहेकोले फिर्ता गराउन डोजर नै चलाउनु पर्ने अवस्था आयो । कुनै आदेश छैन भनी प्रहरीसमेत तमासे बनिदिँदा समयले कठिन परीक्षा लियो मेयर मोहनमायासँग, तर उनले हार मान्न सकिनन्, ठूलो चुनौतीको सामना गरेर सफलता हात पारिन् ।

बच्चाहरूको लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । एकैचोटि देशको राजधानी चिनाउने होइन, बच्चाहरूलाई घरआँगन परिवेश सिकाउँदै उकाल्नु पर्छ । त्यसकारण यो प्रशंसनीय कार्य हो । बस्ती बाक्लिदै गएका कारण खानेपानीको ठूलो समस्या छ वीरेन्द्रनगरलाई, भेरी खानेपानी परियोजना सम्पन्न भएमा अवश्य तिर्खा मेट्ने छ । कला र संस्कृतिको फाँटमा ढुक्कले गतिविधि गर्नमिल्ने एउटा कलामन्दिरको सख्त आवश्यकता खड्कीरहेको थियो सुर्खेतमा । निरन्तर गतिविधि गर्नका लागि बागीना समूहसँग आफ्नो गतिलो भवनसम्म थिएन । यसमा चासो राखेर भवन निर्माणका लागि मेयरले पहल गरेको पनि सानो खुसीको कुरा होइन । यस्तो अनुकरणीय कार्यको मुक्त कण्ठले प्रशंसा नगर्ने कुरै भएन । भविष्यले चीरकालसम्म सम्झिरहने यो पुनीत कार्यलाई ।

बागीनालाई ध्यानमा राख्ने मेयरको संघर्ष र सफलताको परिचर्चा गरौँ । स्थानीय सरकार सञ्चालन गर्ने जिम्मेवारी पाए पनि सबैलाई विश्वासमा लिनु र मान्छेको मन जित्नु पनि सानो चुनौती थिएन महिला मेयरका लागि । तर पाँच वर्ष कार्यकालको उपमेयर पदले र कार्यवाहक मेयरले नै अनुभव आर्जन गर्ने ठूलो अवसर मिल्यो मोहनमायालाई, यो तथ्यलाई कसैले नकार्न मिल्दैन । सार्वजनिक जग्गा फिर्ता ल्याउने कार्यमा पहिलो ठेश लागे पनि प्रशासनसँग समन्वय गरि मैदानमा उत्रिएपछि उनको डोजरलाई कसैले रोक्न सकेन । बौद्धिक क्षमता र कार्य सफलताले उनको लोकप्रियतालाई निरन्तर उचालिरहेको छ । सम्भावनाका लागि चुनौतीसँग जुधेर परिणाम हत्याउने साहसिक र प्रभावशाली महिलाका रूपमा राष्ट्रियस्तरमा नै उनको चर्चा चलिरहेको छ ।

मेयरको कार्यशैली पछ्याउँदै विकासको लागि वीरेन्द्रनगर वडा नं. १२ का वडाअध्यक्ष चुडामणि चपाइँ पनि अहोरात्र खटी परेका छन् । अन्य वडाका अध्यक्षहरू पनि विकासका लागि अवश्य कुदिरहेका छन्, किन १२ का अध्यक्षको मात्रै बखान भन्ने प्रश्न यहाँ पनि खडा हुनसक्छ । त्यसको कारण छ । कारण के भने विमानस्थल विस्तार हुने हाउँगुजीले नै यहाँको विकास ठप्प रोकिदिएको थियो । मानौं दूरबस्तीको अनकन्टार गाउँ हो नेवारे । हाउँगुजीको त्यो कालो बादल फाटेपछि बाटाका धेरै ट्र्याक खोलिए, खोलिएका केही बाटा ग्राबेल भए र १५ किलोमीटरसम्म सडक कालोपत्रे भैसकेछ । ठाउँठाउँमा खानेपानीका लागि बोरिङ निर्माण भैरहेका छन् । कुलो, नाला र सिँचाइ पनि प्रशस्त विस्तार भैरहेको छ । अझ रसिलो कुरा के भने यहाँ ठूलो पोखरी र सदाकाल चल्ने पानीघट्ट पनि निर्माण भएको छ । अविश्राम लगनबाट अध्यक्ष चपाइँले यो छोटो अवधिमा उल्लेखनीय काम गरेर अन्य विकसित वडाको हाराहारीमा पुग्ने कोशिस गरिरहेका छन् ।

प्रशंसा र खबरदारीका बीच समग्र नगर विकासका लागि नगरपालिकाले नगरी नहुने काम तमाम छन् । जस्तो कि मोटरसाइकलले बजारको सडक ढाकिरहेका छन् । त्यसैको लागि सडक विस्तार गरिएको हो कि भने झैं देखिएको छ । त्यसकारण यो पार्किङको दुर्दशालाई व्यवस्थापन गरिहाल्न जरुरी देखिन्छ । हाम्रो ऐतिहासिक बुलबुले तालले विगत कालदेखि सुर्खेतको चिनारी बोकिरहेको छ । बुलबुलेमा फोटो खिचे वापत रकम तोक्ने निकायले त्यहाँको हालत देखेको छैन र ? बुलबुले यसरी दुर्गन्धित र बिरामी हुँदा नगरपालिकाले लाज मान्नुपर्छ कि पर्दैन ? बाटाघाटालाई ठाँउ ठाउँमा महलहरूले मिचेका छन्, खोलाहरूमा बस्ती बसेका छन् । तेल सकिएर हो कि किन हो त्यतातिर चल्न सकिरहेको छैन डोजर !

स्थानीय सरकारले अब निर्मम ढंगले पाइला चाल्नुपर्छ, मानवता र करुणाजस्ता कुरामा पटक्कै अलमलिने छुट हुनेछैन । मेयर सस्तो लोकप्रियता कमाउनका लागि कतै दौडिन पाइने छैन, त्यसका लागि त सिंहदरबार र बालुवाटार छँदैछन् । जालझेल र भ्रमलाई चिरेर नगरको बृहत् हित र विकासका लागि कोही कसैको दबाब प्रभावमा नपरी राजनीतिक स्वार्थ भन्दा माथिबाट कर्तव्य पालन गरेमा अक्षेप र आलोचना स्वतः मत्थर हुँदै जानेछन् ।

प्रकाशित मितिः   २५ चैत्र २०८०, आईतवार ०५:०४