निकास देऊ

कर्णाली प्रदेश सरकार गठनमा अलमल देखिएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधवार नै राजीनामा दिए पनि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको छैन । गठबन्धनका दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच मन्त्रालयको भागबण्डामा सहमति हुन नसक्दा सरकार गठनको प्रक्रिया अवरुद्ध भएको हो । सहमतिअनुसार अब सरकारको नेतृत्व एमालेले गर्नेछ । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने निश्चितप्रायः छ । तर मन्त्रालयको भागबण्डा नहुँदा उनले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न सकेका छैनन् । प्रदेश प्रमुख तिलक परियारले बुधवार नै नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिसकेका छन् । दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरेका हुन् । मुख्यमन्त्रीका लागी दाबी पेस गर्न चैत २७ गतेसम्मको समय दिइएको छ ।

प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरे पनि गठबन्धनभित्र नै भाबण्डा मिलेको छैन । प्रदेशमा अहिले आठ वटा मन्त्रालय छन् । जसमध्ये माओवादीले चार वटा मन्त्रालयमा दाबी गरेको छ । चार मन्त्रालयसहित सभामुख पनि पाउनुपर्ने दाबी माओवादीको छ । अहिले एमालेबाट नन्दा गुरुङ सभामुख छिन् । मुख्यमन्त्री एमालेले पाउँदा सभामुखसहित आधा मन्त्रालयमा माओवादीले दाबी प्रस्तुत गरेको जनाइएको छ । सभामुखसहित मन्त्रालयको टुँगो लगाएर सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्नेमा माओवादीको जोड छ । मुख्यमन्त्री नियुक्तिअघि नै सभामुखले राजीनामा दिनुपर्ने, मन्त्रालयको भागबण्डाको टुँगो लगाउनुपर्ने र दुई वर्षपछि पुनः सरकारको नेतृत्व माओवादीलाई दिने लगायतका सहमति गर्नुपर्ने माओवादीको माग छ । यी मागमा सहमत भएमा मात्रै मुख्यमन्त्रीका लागि समर्थन दिने जनाइएको छ । तर एमाले पहिले मुख्यमन्त्रीमा दाबी पेस गर्ने र त्यसपछि थप छलफलसहित मन्त्रालयको टुँगो लगाउने प्रस्ताव गरेको छ । जसमा सहमति हुन सकेको छैन ।

माओवादी सहमत नभएपछि एमालेले मुख्यमन्त्रीमा दाबी पेस गर्न सकेको छैन । कानुनी रूपमा मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि चैत २७ गतेसम्मको समयसीमा छ । तर गठबन्धनभित्र देखिएको बेमेलको अवस्थाले भने सकारात्मक संकेत दिँदैन । भोलिका दिनमा सरकार सञ्चालनमा समेत मनमुटावसहितको अवस्था रहने देखिन्छ । यसले गर्दा नयाँ बन्ने सरकारको कार्यसम्पादन समेत प्रभावित हुनेछ । माओवादी र एमालेबीचको आन्तरिक प्रतिस्पर्धा र टकरावको असरले सरकारको कामकारबाही पनि अपेक्षित हुन सक्ने छैन । त्यसैले सरकार गठनमा देखिएको अलमल र एकले अर्कोलाई गलाउने अवस्थालाई अन्त्य गरेर अहिलेको अवस्थालाई चिर्न जरुरी देखिन्छ । सरकार गठनमै देखिएको झमेलाले नागरिकमा समेत नकारात्मक सन्देश पैदा हुनेछ ।

प्रकाशित मितिः   २५ चैत्र २०८०, आईतवार ०५:०३