गड्यौला मल उत्पादनमा कृषकको आकर्षण

सुर्खेत: गड्यौला मल उत्पादनमा कृषकहरूको आकर्षण बढ्न थालेको छ । कम लगानीमै उत्पादन गर्न सकिने भएकाले पछिल्लो समय कृषकहरू गड्यौला मल उत्पादनमा लागेका हुन् ।

वीरेन्द्रनगर नगरपालिका–१२ कि लिला आचार्यले गड्यौला मल उत्पादन गर्दै आएकी छन् । उनले दुई वर्ष अगाडिबाट गड्यौला मल उत्पादन गर्न थालेकी हुन् । दुई वर्ष अगाडि आत्मनिर्भर समाज सुर्खेतले एक किलो गड्यौला सहयोग गरेको थियो । अहिले आचार्यले गड्यौला मल र गड्यौला बिक्रीबाट राम्रै आम्दानी पनि गर्न थालेकी छन् । उनको वार्षिक आम्दानी साढे पाँच लाखसम्म हुनेगरेको छ । गड्यौला मलको प्रयोगले उत्पादन बढाउने भएकाले किसानले गड्यौला मल प्रयोग गर्न थालेको उनले बताइन् । उनले भनिन्, ‘गड्यौला मल सस्तो हुन्छ । उत्पादन बढाउँछ । जग्गाको माटो बिग्रिदैन त्यसैले गड्यौला मलको प्रयोग बढेको छ ।’

रासायनिक मलले उत्पादन पनि घटाउने, महँगो पनि हुने, मल अभाव पनि हुने भएकाले किसानले गड्यौला मलको प्रयोग बढाएको आचार्य बताउँछिन् । किसानहरूले गड्यौला मलको प्रयोग बढाएसँगै उनलाई अहिले मलको माग धान्नै मुश्किल परेको छ । उनले भनिन्, ‘एग्रोभेट, फूल नर्सरी, किसानले मल मागिरहेका छन्, तर पु¥याउन सकिएको छैन्, मलको माग बढेको छ ।’ मल प्रतिकेजी ३५ रूपैयाँ र गड्यौला प्रति केजी एक हजार पाँच सय रूपैयाँमा बिक्री गर्ने गरेको उनले बताइन् ।

वीरेन्द्रनगर नगरपालिका १२ किसान लिलाराम ढकालले गड्यौला मल उत्पादनबाट मनग्य आम्दानी गरिरहेका छन् । व्यावसायिक रूपमा गड्यौला मलको उत्पादन गर्न थालेपछि उनले मनग्गे आम्दानी गर्न थालेका हुन् । ढकालले सुरुमा आफ्नै खेतबारीमा प्रयोग गर्न मात्र गड्यौला मल उत्पादन सुरु गरेका थिए । विस्तारै वरिपरिका किसानले यसको महŒव बुझेर खरिद गर्न आउन थालेपछि उनले व्यावसायिक रूपमै गड्यौला मल उत्पादन सुरु गरे । पाँच वर्षअघि आत्मनिर्भर समाज सुर्खेतले गड्यौला मल बनाउने तालिम सञ्चालन गरेको थियो । ढकालले सोही तालिमबाट गड्यौला मल बनाउने विधि सिके । तालिमका आयोजकले नै निःशुल्क उपलब्ध गराएको एक किलो गड्यौला सहयोगसमेत उनले पाए ।

पहिलो वर्ष रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन राम्रो भयो । आफ्नो सात कठ्ठा जमिनमा लगाउने खेतीमा गड्यौला मल मात्रै प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेर अन्य किसानले पनि गड्यौला मलको प्रयोग गर्न थालेको ढकालले बताए । अन्य किसानले गड्यौला मल प्रयोग गर्न थालेसँगै मलको बिक्री बढेपछि ‘नित्तेश कृषि फर्म’ दर्ता गरेर मल उत्पादन गर्न थालेको ढकालको भनाइ छ । गड्यौला मल मागअनुसार उत्पादन गर्न नसकिएको ढकालले बताएका छन् ।

अहिले गड्यौला मल र गड्यौला बिक्री गरिरहेको उनले जानकारी दिए । उनीसँग अहिले पाँच क्वीन्टल गड्यौला छन् । गड्यौला र मल बिक्री धमाधम भइरहेको छ । ढकालले प्रतिकेजी ३० देखि ३५ रूपैयाँमा मल बिक्री हुने गरेको जानकारी दिए । गड्यौला भने दुई हजार किलोमा बिक्री भइरहेको छ ।

वीरेन्द्रनगर ४ की रम्भा गिरीले चार वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आइरहेकी छन् । उनको कृषि फर्ममा गड्यौला मात्र चार क्वीन्टल छन् । गड्यौला मल उत्पादन गरिरहेकी गिरीले माटोको उर्वराशक्ति जोगाएर स्वास्थ्य वद्र्धक तरकारी खेतिसमेत गरिरहेकी छन्् । ‘सुरुमा गड्यौला मलको प्रयोगबारे किसानलाई चेतना नै थिएन, हामीले सुरुवात गरेपछि गड्यौला मलको उपयोगबाट हुने फाइदाबारे किसान सचेत हुँदै गएका छन्’ गिरीले भनिन्, ‘बर्सेनि यसको माग बढ्दै गइरहेको छ, किसानले माटो सुधार्न धान, गहुँ, मकै, केरा खेतीमा समेत गड्यौला मलको प्रयोग गर्न थालेका छन् ।’

सजिलै पाइने कच्चा पदार्थको प्रयोगबाट थोरै जग्गामा गड्यौला मल उत्पादन गर्न सकिने र बजारको माग पनि बढ्दै गएपछि वीरेन्द्रनगरमा गड्यौला मल उत्पादन गर्ने किसानहरूसमेत बढ्दै गइरहेका छन् । गिरीले अहिले गाईको गोबरबाट गड्यौला मल उत्पादन गर्दै आइरहेकी छन् । गड्यौला मलको प्रयोगले माटोको उर्वराशक्ति बढाउने र अर्गानिक उत्पादन गर्न सकिने हुँदा चार वर्षदेखि गड्यौला मल प्रयोग तथा बिक्री आइरहेको उनको भनाइ छ । ‘खासगरी पाँच वटा गाईको मलबाट गड्यौला मल तयार भइरहेको छ’, उनले भनिन्, ‘तरकारी खेतिमा गड्यौला मल प्रयोग गरेपछि पहिलेभन्दा माटो उब्जाउ देखिन थालेको छ ।’ अहिले प्रतिकेजी ३० देखि ३७ रूपैयाँका दरले बिक्री गर्ने गरिएको छ । उनको वार्षिक आम्दानी करिब आठ लाख हुनेगरेको छ ।

 

 

प्रकाशित मितिः   २४ चैत्र २०८०, शनिबार १२:२५