आरसी–३२ को विजयी सुरुवात

सुर्खेत: सहिद स्मारक सी डिभिजन लिगमा सुर्खेतको आरसी–३२ फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ । बिहीवार भएको लिगको उद्घाटन खेलमा आरसी–३२ ले खालीबारी युथ क्लबलाई १–० ले हराएको हो ।

आरसी–३२ को जितमा बबिन बोहराले गरेको गोल नै निर्णायक हुन पुग्यो । उनले २२औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि भने दुवै टिमले केही अवसर बनाए पनि गोल हुन सकेन । दुवै टोलीले एक÷एक पेनाल्टीमा समेत गोल गर्न सकेनन् ।

दोस्रो हाफमा आरसी–३२ ले दोस्रो गोलको अवसर गुमाएको थियो । ६५औँ मिनेटमा आरसी–३२ ले पेनाल्टी पाएको थियो । तर त्यसलाई सदुपयोग गर्न सकेन । विवेक सन्तोसीको प्रहार खालीबारीका किपर मनोज तामाङले उत्कृष्ट बचाउ गरे ।

त्यसैगरी ८१औँ मिनेटमा खालीबारीले बराबरी गर्ने अवसर पनि गुमाएको थियो । पेनाल्टीमा गोल गर्न नसक्दा बराबरी गर्ने अवसरसँग पहिलो खेल पनि गुमाएको हो । आरसी–३२ का आशिष लावती म्यान अफ दि म्याच भए ।

गत संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गरेको आरसी–३२ ‘बी’ डिभिजनमा बढुवा हुनबाट चुकेको थियो । दुई अंक कम हुँदा माथिल्लो लिगमा बढुवा हुन सकेन । ‘सी’ डिभिजनमा तेस्रो भएको थियो । यसपटक ‘बी’ डिभिजनमा उक्लने लक्ष्यसहित आरसी–३२ लिगमा सहभागी भएको छ ।

प्रकाशित मितिः   २३ चैत्र २०८०, शुक्रबार ०५:०१