सरकार गठनबारे गठबन्धनभित्रै गलफत्ती
सुर्खेत: कर्णाली प्रदेश सरकार गठनबारे गठबन्धनका दलबीच नै गलफत्ती चलेको छ । नयाँ सरकार गठन गर्ने वा अहिलेकै सरकारलाई पुनर्गठन गरेर निरन्तरता दिने भन्ने विषयमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच सहमति जुट्न सकेको छैन ।
दुवै पार्टीका केन्द्रीय नेतृत्वबीच कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भइसके पनि प्रदेशभा भने अलमल देखिएको छ । माओवादीले सरकारको नेतृत्व छोड्न मानिरहेको छैन । मुख्यमन्त्री राजकुमार शर्माले मंगलवार नै विश्वासको मत लिने तयारी गरेका थिए । तर दुई दलबीच सहमति हुन नसकेपछि बुधवार (आज)का लागि सारिएको छ ।
माओवादीले तत्कालका लागि शर्माले नै विश्वासको मत लिएर केही महिना सरकार सञ्चालन गरेपछि एमालेलाई नेतृत्व हस्तान्तरण गर्ने अडान लिएको छ । मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा पत्र पठाएर प्रक्रियामा गइसकेकाले पहिले विश्वासको मत लिएर मात्रै राजीनामा दिने माओवादी नेताहरू बताउँछन् । यद्यपि, मुख्यमन्त्री शर्माले आगामी बजेट ल्याएर सरकार छोड्न चाहेको बताइएको छ । नयाँ आर्थिक वर्षको लागि बजेट ल्याउने समयअघि नै सरकार छोड्न उनले मानिरहेका छैनन् । त्यसैले केही महिना एमालेले कुर्नुपर्ने अडानमा उनी छन् ।
केन्द्रीय नेताहरूबीच सहमति भइसकेकाले सरकार छोड्न शर्मालाई माओवादीकै नेताहरूले आग्रह गरेपनि उनले आफ्नो अडान यथावत राखेका छन् । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश इन्चार्ज कालीबहादुर मल्लसहितका नेताहरूले मंगलवार पटक–पटक शर्मासँग छलफल गरेर पार्टी अध्यक्ष पुष्पकमल दाहालको निर्देशनअनुसार सरकार छोड्नुपर्ने बताएका थिए । यद्यपि, शर्माले भने दुई वर्ष सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने बताउने गरेका छन् । त्यसो नभए पनि अहिलेलाई विश्वासको मत लिएर केही महिनापछि सरकार छोड्ने विकल्पमा सहमति गर्न सकिने उनको तर्क छ ।
मंगलवार बसेको माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठकले पनि विश्वासको मत लिनुपर्ने निर्णय गरेको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि मात्रै राजीनामा दिने भएका छन् । परियारले भने, ‘विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ । सत्ता साझेदार दलहरूको तर्फबाट अहिले विश्वासको मत लिने र केन्द्रको सम्झौताको मर्म र भावनालाई कदर गरेर केही समयपछि सत्तालाई जसले पाउने भएको छ, उसलाई दिने निर्णय भयो ।’ परियारले बुधवार मुख्यमन्त्री शर्माले विश्वासको मत लिने जनाए । उनले विश्वासको मत लिएको केही दिनपछि सत्ता हस्तान्तरण हुने बताए । संसद्मा विश्वासको मत लिनका लागि पत्र दर्ता भएकाले विश्वासको मत लिएर मात्रै सत्ता हस्तान्तरण हुने उनले बताए ।
एमालेले भने शीर्ष नेतृत्वमा भएको सहमतिअनुसार नै मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोल्नुपर्ने बताएको छ । यस्तो अवस्थामा मुख्यमन्त्री शर्मालाई नै विश्वासको मत दिन नसकिने एमालेको अडान छ । मंगलवार माओवादी र एमालेका नेताहरूबीच पटक–पटक छलफल भएको छ । तर दुवै पक्ष आ–आफ्नै अडानमा रहँदा सहमति जुट्न भने सकेको छैन । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइँले केन्द्रमा भएको सहमतिअनुसार नै अघि बढ्नुपर्ने बताए । उनले मुख्यमन्त्रीले विश्वासको मत लिनेभन्दा पनि राजीनामा दिएर एमाले नेतृत्वको सरकार गठनमा सहयोग गर्नुपर्ने बताए ।
एकदिन सारियो बैठक
मंगलवार सहमति हुन नसकेपछि कर्णाली प्रदेशसभाको बैठक एकदिन सारिएको छ । मंगलवारको बैठक स्थगित गरेर बुधवारका लागि आह्वान गरिएको हो । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने कार्यसूची थियो ।
मंगलवार अपरान्ह ३ बजेका लागि तोकिएको बैठक साँझ ५ बजे स्थगित भएको हो । एमाले र माओवादीबीच छलफल भए पनि सहमतिमा नपुगेपछि प्रदेशसभा बैठक बुधवारसम्मका लागि स्थगित गरिएको हो । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले तोकिएको समयभन्दा ढिला भएकाले स्थगित गर्नुपरेको बताए । ‘हाम्रो नियमावलीमा निर्धारित समयभन्दा ढिलो भए स्थगन गर्न पाउने व्यवस्था छ । त्यसअनुसार स्थगित गरिएको हो,’ उनले भने ।
प्रकाशित मितिः २१ चैत्र २०८०, बुधबार ०५:०५
साझा बिसौनी ।