नागरिक हितसहितको विकास

मदन भण्डारी राजमार्गअन्तर्गत पश्चिम सुर्खेतमा तीन वटा खण्डमा काम हुँदैछ । बड्डीचौरदेखि लगाम–बेनिघाट हुँदै सुदूरपश्चिमको डोटी जोड्ने गरी योजना अघि बढेको छ । पश्चिम सुर्खेतलाई तीन खण्डमा बाँडेर काम हुँदैछ । पहिलो खण्ड बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे खण्डमा निर्माण कामसमेत भइरहेको छ भने बल्दे–लगाम खण्ड निर्माणका लागि टेण्डरको प्रक्रियामा रहेको छ । तर पछिल्लो समय सडकको ट्रयाक परिवर्तन गर्न खोजिएको चर्चा चलेको छ । राजमार्गअन्तर्गत पश्चिम सुर्खेतमा नापजाँचसहित डीपीआरसमेत भइसकेको सडकको रुट परिवर्तन गर्न खोजिएको भन्दै स्थानीय नागरिकले विरोध जनाएका छन् । सोमवार जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत् सरकारलाई ध्यानाकर्षण पत्रसमेत बुझाइएको छ । चौकुने गाउँपालिका वडा नं. १ को लगामबाट धनरास–धामिसैन–बेनीघाट खण्डलाई नै सुनिश्चित गर्न माग गरिएको छ । कार्यान्वयनका लागि अघि बढीसकेको आयोजनाको रुट परिवर्तन गर्न खोज्नु अन्यायपूर्ण हुने उनीहरूको भनाइ छ ।

दुई वटा खण्डको निर्माण कार्यनै सुस्त छ । सम्झौताअनुसारकै समयावधिभित्र निर्माण सम्पन्न गर्नेगरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्ड निर्माणको काम अघि बढाइएको हो । बड्डीचौर–खम्बागाडे सडक सुधारका लागि काम भने भइरहेको छ । तर निकै सुस्त गतिमा । समयमा निर्माण नहुँदा सर्वसाधारणले सास्ती खेप्न परेको छ । ठाउँ–ठाउँमा जीर्ण सडकलाई निर्माण कम्पनीले फोडेर ग्राभेल गरेपछि सर्वसाधारणले झनै सास्ती खेप्न बाध्य छन् । साढे १२ किलोमिटरमा सडक खण्डका लागि प्रदेश सरकारले ४२ करोड बजेट विनियोजन गरेको छ । उक्त खण्डमा अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रूपैयाँमा प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको हो । २०७९ देखि काम सुरु भएको थियो । २०८१ असार १५ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ । हालसम्म कामको प्रगति निकै न्यून छ । त्यसैगरी विद्यापुर–बल्दे सडक खण्डमा अहिले नाला र वाल निर्माणको काम भइरहेको छ । पश्चिम क्षेत्रका तीन खण्डमध्ये यो तेस्रो खण्ड हो । २२ किलोमिटर सडक खण्ड निर्माणका लागि एक अर्ब २१ करोड रूपैयाँमा काम सम्पन्न गर्नेगरी बानियाँ मोतिदान डि.एस. जेभी काठमाडौंले ठेक्का सम्झौता गरेको छ ।

सडक निर्माणको गति सुस्त भइरहेकै बेला रुट परिवर्तनको चर्चाले स्थानीयमा निराशा छाएको छ । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्दा नै सबैभन्दा धेरै बस्तीलाई छोएर सडकको सिमांकन गरिएको छ । तर उक्त रुट लामो पर्ने भन्दै पछिल्लो समय परिवर्तन गर्न लागिएको जनाइएको छ । पूर्वाधारको विकास नागरिकको सहजता र सुविधाका लागि हुनुपर्दछ । धेरै बस्ती छुने गरेर बनाइएको डिजाइन परिवर्तन गर्नु उपयुक्त होइन ।

प्रकाशित मितिः   २१ चैत्र २०८०, बुधबार ०५:०३