साँघुरो घुम्तीले बोटोमै रोकिए ‘ड्रिलिङ’ मेसिन
सुर्खेत: पेट्रोलियम पदार्थ अन्वेषणका लागि ल्याइएका ‘ड्रिलिङ’ मेसिन बोकेका तीन वटा ट्रक बाटोमै रोकिएका छन् । कर्णाली राजमार्ग अन्तर्गत बराहताल गाउँपालिका वडा नं. ७ को स्याउलेमा तीन ट्रक बाटोमै रोकिएका हुन् । मोड साँघुरो भएका कारण मेसिन बीच बोटोमै रोकिएको प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक (असई) देवेन्द्र ओलीले जानकारी दिए ।
शनिवार बिहान करिब साढे सात बजे मेसिन त्यहाँ पु¥याइएको थियो । कडा चट्टान र साँघुरो मोड भएका कारण ट्रक अघि बढाउन सकस भएको जनाइएको छ । शुक्रवार मात्र नेपालगञ्जबाट तीन वटा ‘ड्रिलिङ’ मेसिन बोकेका ट्रक सुर्खेत आइपुगेका थिए । नेपालगञ्जदेखि सुर्खेतसम्म सहज रूपमा मेसिन ल्याइएको भएपनि कर्णाली राजमार्गमा साँघुरो मोडका कारण ट्रक रोकिएको पेट्रोलियम पदार्थ अन्वेषण आयोजना प्रमुख दिनेश नापितले बताए । उनका अनुसार परीक्षणका लागि तीन वटा मेसिन बोकेका ट्रक पहिलो चरणमा ल्याइएको हो ।
गत फागुन २२ गतेदेखि नेपालगञ्जको रूपैडिया नाकामा थन्किएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गतको ‘ड्रिलिङ’ मेसिनको सामान नेपालगञ्जको भन्सार कार्यालयमा राखिएको छ । मेसिन बोकेका ७० वटा ट्रक उक्त कार्यालयमा राखिएको नापितले बताए । केही सामान बोकेका ट्रक दैलेख पठाउन सुरु गरिएको थियो । साँघुरो घुम्तीका कारण बाटोमै रोकिएको नापितले जनाए । उनले भने, ‘यसअघि ठूला मेसिन नल्याएका कारण बाटोमा समस्या भयो । केही स्थानमा मोड सुधारका कामसमेत भएका छन् । अनुभव नभएका कारण पनि ठूला मेसिन ल्याउन समस्या भयो ।’
बिहीवार साँझदेखि नेपागञ्जबाट सामान छुट्न सुरु भएको भन्दै नापितले अझै दैलेखका ११÷१२ ठाउँमा मोड फराकिलो बनाउनुपर्ने देखिएको बताए । शुक्रवार साँझ मात्र नेपालगञ्जबाट थप तीनवटा मेसिन पनि हिँडेका छन् । नेपालगञ्जबाट ल्याइएका मेसिन सुर्खेतमै राख्ने तयारी गरिएको उनको भनाइ छ । सडक डिभिजन कार्यालय सुर्खेतसँग समस्या देखिएका स्थानमा मोड फराकिलो बनाउन पहल भइरहेको आयोजना प्रमुख नापितले बताए ।
एक महिना लगाएर भारतको कोलकाता बन्दरगाह हुँदै सामान रूपैडिया आइपुगेका थिए । तर सिमानामा समस्याका कारण नाकामै रोकिएका थिए । अहिले अर्को बाधा उत्पन्न भएको छ । नापितका अनुसार अहिलेसम्म नेपालमा ७० वटा ट्रक आइसकेका छन् । चीनबाट कोलकाता बन्दरगाह आउन ट्रकलाई एक महिनाको समय लागेको थियो । सबै मेसिन दैलेख पु¥याउन अझै एक महिनाको समय लाग्ने देखिएको उनको भनाइ छ ।
थप मोड सुधार गर्नुपर्ने
मेसिन बोकेका तीन वटा ट्रक बाटोमै रोकिएपछि थप मोड सुधार गर्नुपर्ने देखिएको छ । यसअघि १७ स्थानमा मोड सुधार गरिएको थियो । अन्वेषण आयोजनाले गरेको सर्वे अनुसार नै सडक फराकिलो पारिएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । तर अन्वेषण आयोजनाको त्रुटिका कारण मोड सुधारको काम प्रभावकारी नभएको कार्यालयका इन्जिनियर अशोक चौधरीले बताए । उनले भने, ‘आयोजनाले गरेको सर्वेका आधारमा मोड फराकिलो पारेको हो । ठेकेदारले काम सकेर विवरणसमेत पेस गरेको छ । अहिले मेसिन बोकेका ट्रक बाटोमै रोकिएका छन् ।’
समस्या देखिएको स्थानलाई हेरेर थप १२ स्थानमा मोड फराकिलो पार्नुपर्ने देखिएको चौधरीले बताए । आइतवार मात्र मोड फराकिलो बनाउने मेसिन सम्बन्धित स्थानमा पुग्नेछ । ठेकेदारले मेसिन नेपालगञ्ज रहेको र आइतवारसम्म मात्र ल्याउन सकिने बताएको इन्जिनियर चौधरी बताउँछन् । आयोजनाले प्राविधिक अध्ययन गरेको जनाएपनि पुनः परिक्षण गरेको थिएन ।
पूर्वाधार निर्माणको काम अन्तिम चरणमा
दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा मेसिन राख्नका लागि पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । अहिलेसम्म करिब ७५ प्रतिशत काम सकिएको छ । क्याम्प निर्माण, मेसिन ल्याएर राख्ने ठाउँ सम्म्याउने, बाटो निर्माण लगायतका काम धमाधम भइरहेको हो । पूर्वाधार निर्माणको करिब ७५ प्रतिशत काम सकिएको छ भने अब मेसिनरी काम मात्रै बाँकी छ । मेसिनको सामान दैलेख पुगे मात्र ‘ड्रिलिङ’ को काम सुरु हुनेछ ।
मेसिन जडान गर्दै ‘ड्रिलिङ’ गर्नुपर्ने हुन्छ । उक्त स्थानमा करिब चार दशमलव पाँच किलोमिटर गहिराइमा ‘ड्रिलिङ’ गरिने योजना छ । चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुँगो लाग्ने छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ ।
प्रकाशित मितिः १८ चैत्र २०८०, आईतवार ०५:०५
रजनी याेगी ।