क्यान्सरको जोखिम
कर्णाली प्रदेशमा पछिल्लो समय क्यान्सर रोग बढ्दो क्रममा छ । प्रदेश अस्पताल सुर्खेतमा दैनिक तीन÷चार जनामा क्यान्सर रोग देखा पर्ने गरेको छ । सुर्खेत जिल्लामा पनि क्यान्सर रोगका बिरामी बर्सेनि थपिँदै गएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका छन् । त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको संख्या धेरै रहेको छ ।
चालु आर्थिक वर्ष २०८०÷०८१ मा सुर्खेत जिल्लामा एक सय दश जना क्यान्सर रोगका बिरामी फेला परेका छन् । यो संख्या उपचारमा सहुलियत लिनका लागि आएकाको हो । यो वर्ष जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट ५० जनाले प्रतिव्यक्ति २० हजारका दरले सहूलियत यातायात खर्च लिएका छन् । अन्य ६० जनाले सहूलियत लिनका लागि निवेदन पेस गरेको कार्यालयले जनाएको छ । सहुलियतका लागि यो वर्ष प्रदेश सरकारले कार्यालयलाई दश लाख बजेट पठाएको छ । उक्त रकम वितरण भइसकेकाले थप रकम माग गरिएको हो । यसैगरी स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले समेत क्यान्सरका बिरामीलाई उपचार सहुलियत दिने गरेको छ । विपन्न नागरिक यातायात सहायता कार्यक्रममार्फत् रकम दिने गरिएको निर्देशनालयले जनाएको छ । यो वर्ष एक सय ३० जना क्यान्सरका बिरामीलाई सहायता रकम दिइएको छ । प्रदेश सरकारले ‘विपन्न नागरिक यातायात सहायता कार्यक्रम’ का लागि ५० लाख बजेट निर्देशनालयमा पठाएको थियो । उक्त रकमबाट एक सय ३० जना क्यान्सरका बिरामीले सहुलियत यातायात खर्च लिइएका छन् । जिल्ला–जिल्ला अनुसार फरक–फरक रकम दिइएको निर्देशनालयले जनाएको छ । दैलेख, सुर्खेत र सल्यानका बिरामीले २० हजार, जाजरकोट, कालीकोट, रुकुमपश्चिम र जुम्लाका बिरामीले २५ हजार र मुगु, डोल्पा र हुम्लाका बिरामीले ३० हजारका दरले यातायात सहुलियत पाएका छन् ।
उपचारमा सहुलियत पाउन थालेपछि बिरामीहरू पनि खुल्न थालेका छन् भने उपचारका लागि स्वास्थ्य संस्था पुग्नेको संख्या पनि वृद्धि भएको छ । विभिन्न प्रकारका रङ प्रयोग गरिएका खानेकुरा, पोलेको, तारेको, भुटेको परिकारका कारण पनि क्यान्सर रोग धेरै फैलिने गरेको छ । यस्ता अखाद्य वस्तु बजारमा छ्यापछ्याप्ती छन् । होटलका खाने कुरा र मिठाइमा यस्ता अखाद्य रङ प्रयोग गरिन्छ तर नियमन र अनुगमन हुन सकेको छैन । अखाद्य रङ प्रयोग गरी तयार गरिएको वस्तुको उपभोगले तत्काल समस्या नदेखिए पनि दीर्घकालीन रूपमा क्यान्सरसमेत गराउने विज्ञहरू बताउँछन् । यसबाहेक सुर्तीजन्य, मादक पदार्थजन्य वस्तुको अत्यधिक सेवन, प्रदूषणयुक्त वातावरणमा काम गर्नु, खानपानमा ध्यान नदिनुजस्ता कारणले पनि रोग देखिने गरेको छ ।
प्रकाशित मितिः १८ चैत्र २०८०, आईतवार ०५:०३
सम्पादकीय ।