प्रहरी सक्रियता

पछिल्लो समय सुर्खेत प्रहरीले फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र रूपले अघि बढाएको छ । अदालतबाट दोषी ठहर भइ कैद तथा जरिवाना भुक्तान गर्न बाँकी, फरार सूचिमा रहेका र अदालत तथा प्रहरीमा मुद्दा परी फरार रहेका अभियुक्तहरूको खोजी कार्यलाई तीव्र पारिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले त्यस्ता व्यक्तिहरूको खोजीमा सक्रियता बढाएसँगै पछिल्ला दिनमा दैनिकजसो दोषी तथा अभियुक्तहरू पक्राउ परिरहेका छन् । अदालतबाट कैद जरिवाना तोकी फरार रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइ अदालत पेस गर्ने गरिएको छ । अभियुक्तको खोजीका लागि ‘फरार प्रतिवादी पक्राउ अप्रेसन’ सुरु गरिएको छ । सादा पोसाकमा फरार प्रतिवादीलाई पक्राउ गर्न छुट्टै तीन जना प्रहरी परिचालन गरिएको छ ।

जिल्लामा प्रहरी र अदालतमा मुद्दा परेर सम्पर्कमा नआएकाको पनि खोजतलास भइरहेको छ । अदालतले फैसला गरी दोषी ठह¥याइएका र अदालतमा मुद्दा चलिरहेका अभियुक्त तथा प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने तर फरार सूचिमा रहेकाहरूको खोजी भइरहेको हो । प्रहरीकाअनुसार दैनिक रूपमा एक/दुुई जना फरार सूचिकालाई पक्राउ गर्ने गरिएको छ, पछिल्लो समय अभियुक्तहरूको खोजीमा पनि प्रहरी सक्रियताका साथ लागेको छ । जिल्ला अदालत सुर्खेतको विवरणअनुसार जिल्लामा सजाय तोकेका एक हजार एक सय ७४ जना फरार छन् । फागुन मसान्तसम्मको प्रतिवेदनमा कैद जरिवाना लागेका ती व्यक्तिहरूबाट कूल दुई हजार चार सय ५७ वर्ष तीन महिना २० दिन लगत कैद असुली हुन बाँकी छ । जसमा एक हजार एक सय ७३ जना स्वदेशी नागरिक छन् एक जना विदेशी नागरिक हुन् । कैद सजाय मात्र तोकिएका दुुई सय ८७ जना, जरिवाना तोकिएका तीन सय १२ जना र कैद तथा जरिवाना दुवै लागेका पाँच सय ७४ जना रहेको जिल्ला अदालत सुर्खेतले जनाएको छ । यसैगरी एक हजार एक सय ७४ जनाबाट ६ करोड २९ लाख ९६ हजार रूपैयाँ जरिवाना असुल हुन बाँकी ।

अदालतबाट लगत असुलीको विवरण प्रहरीमा दिने र प्रहरीको सहयोगमा प्रतिवादी पक्राउ गर्ने गरिएको छ । एक हजार एक सय ७४ जना अझै फरार सूचिमा छन् । अदालतबाट लगत फरार एक हजार एक सय ७४ जनामध्ये सुर्खेत प्रहरीले हालसम्म ३९ जनालाई पक्राउ गरेको छ । त्यसमध्ये पछिल्लो एक महिनामा मात्र १४ जना फरार अभियुक्त पक्राउ गरिएको हो । यसैगरी चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएका मुद्दामध्ये एक सय ८३ जना फरार प्रतिवादी रहेकोमा ६९ जना पक्राउ परेका छन् ।

प्रकाशित मितिः   १५ चैत्र २०८०, बिहीबार ०५:०३