आजदेखि एसईई: कर्णालीमा ३५ हजार परीक्षार्थी

सुर्खेत: आज(बिहीवार) देखि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुँदैछ । कर्णालीबाट यो वर्ष ३५ हजार आठ सय आठ जना विद्यार्थी परीक्षमा सहभागी हुँदैछन् । शिक्षा विकास निर्देशनालयले परीक्षाको सबै तयारी पूरा गरिसकेको छ ।

निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले परीक्षाका लागि प्रदेशभर एक सय ८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिइन् । जिल्लागत विवरण अनुसार सबैभन्दा धेरै सुर्खेतबाट आठ हजार तीन सय ४८ जना विद्यार्थीले एसईई दिँदैछन् । यहाँ ३३ वटा परीक्षा केन्द्र तोकिएको छ । रूकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र छन् भने तीन हजार पाँच सय ९३ जना परीक्षार्थी छन् । चार हजार पाँच सय ८२ परीक्षार्थी रहेको सल्यानमा २५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

सबैभन्दा कम डोल्पामा जम्मा सात सय ३३ जना विद्यार्थीले एसईई दिँदैछन् । चार वटामात्रै परीक्षा केन्द्र तोकिएको छ । हुम्लामा ६ वटा परीक्षा केन्द्र छन् भने परीक्षार्थी एक हजार एक सय ९५ छन् । मुगुमा ८ वटा परीक्षा केन्द्र र एक हजार एक सय १३ परीक्षार्थी छन् । यस्तै २४ वटा परीक्षा केन्द्र रहेको कालिकोटमा तीन हजार सात सय ३६ जना परीक्षार्थी छन् । जुम्लामा दुई हजार पाँच सय ५७ परीक्षार्थीका लागि १६ परीक्षा केन्द्र तोकिएको छ । जाजरकोटमा २२ परीक्षा केन्द्रमा चार हजार ६ सय ९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्रमा पाँच हजार दुई सय ५७ परीक्षार्थीले एसईई दिँदैछन् ।

प्रकाशित मितिः   १५ चैत्र २०८०, बिहीबार ०५:०१