डाक्टर नहुँदा न्युरो सेवा प्रभावित

सुर्खेत: चिकित्सक नहुँदा कर्णाली प्रदेश अस्पतालको सेवा प्रभावित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि अस्पतालको न्यूरो(नसासम्बन्धी) सेवा प्रभावित भएको हो ।

विगत तीन वर्षदेखि काम गर्दै आएका न्यूरोलोजिस्ट डा. निलम खड्का काजमा ट्रमा अस्पताल काठमाडौंमा फर्किएका छन् भने, कर्णाली प्रदेश अस्पतालका लागि मन्त्रालयले पठाएका चिकित्सक हाजिर भएका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले २०८० भदौ १७ गते न्युरोलोजिस्ट डा. ओमविक्रम शाह, डा. प्रभात झा, डा. सुतप यादव र डा. चित्रराज शर्मालाई कामकाजका लागि प्रदेश अस्पताल, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो । जसमध्ये पहिलो ६ महिना डा. प्रभात र डा. चित्रराज प्रदेश अस्पतालमा हाजिर भएर गइसकेका छन् । अहिले प्रभात नारायणी अस्पताल पर्सामा छन् भने चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत छन् ।

त्यस्तै, पहिलो ६ महिना नारायणी अस्पताल पर्सामा हाजिर भएका डाक्टरद्धय ओमविक्रम र सुतप हालसम्म पनि प्रदेश अस्पताल सुर्खेतमा हाजिर भएका छैनन् । जसका कारण अस्पतालको न्यूरो सेवा प्रभावित भएको अस्पतालमा निर्देशक डा. डम्बर खड्काले बताए । मन्त्रालयको शाखाले पठाएको पत्रअनुसार उनीहरू फागुन १७ गतेभित्र प्रदेश अस्पतालमा हाजिर हुनुपर्ने थियो । तर, उनीहरू हालसम्म पनि हाजिर हुन आएका छैनन् । ‘तीन हप्ता अगाडि उहाँहरू आइसक्नुपर्ने थियो’ उनले भने, ‘तर हालसम्म पनि उहाँहरू हाजिर हुनुभएको छैन । जसले गर्दा अस्पतालको सेवा प्रभावित भएको छ ।’

अस्पतालमा नसा रोगसम्बन्धीका बिरामी आइरहन्छन् । डा. खड्काका अनुसार दैनिक २५ जना ओपिडी र तीन जनाको संख्यामा सघन अप्रेसन गर्नुपर्ने हुन्छ । ‘दैनिक हुने सडक दुर्घटना र अन्य न्युरोको उपचार गर्न बाहिर पठाउनुपर्ने अवस्था भयो,’ उनले भने ।

प्रकाशित मितिः   १४ चैत्र २०८०, बुधबार १०:३६