‘मनले रोजेको जीवनसाथी पाएँ’

पिता कृपाल अधिकारी र माता तुलसा अधिकारीको कोखबाट २०३१ सालमा जाजरकोटमा जन्मिएका लिलाराम अधिकारीको बाल्यकाल दुःखद् थियो । उनले अरुले जस्तो बाल्यकालमा रमाइलो र सुखको अनुभव कस्तो हुन्छ गर्न पाएनन् । अरु साथीहरू रमाएर खेल्दा उनी घाँस दाउरा, मेलापातसँग रमाउने गर्थे । बाल्यकालमा अलि बढी आफैमा मुर्खाइ गर्ने स्वभावका अधिकारीले बाल्यकालमा अभाव र दुःखको सामाना गर्नसिके । उनी १० वर्षको हुँदा उनको बुबाआमाको निधन भयो । बुबाआमाको मृत्युपछि उनी दाइहरूको सहारामा हुर्किए । उनलाई बाल्यकालको रमाइलो पल कस्तो हुन्छ भन्ने अनुवभ नै भएन ।
अधिकारी चार भाईहरूमध्ये घरको कान्छा छोरा थिए । गाउँमा काम नगरेर खान नपुग्ने, पढाईसँगसँगै घरको सबै काम पनि गर्नुपर्ने थियो । अधिकारीको बाल्यकाल पनि पढाइसँगै घरको काम गर्दैमा बित्यो । उनी घरको कान्छो भाई भएकाले उनलाई दाईहरूले दुःख नै गरेर भए पनि पढाए । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनको पढ्ने इच्छा हुँदाहुँदै पनि एसएलसी दिएपछि कमाउनको लागि भारत जानुप¥यो । पहिलो पटक एसएलसीमा दुई विषय लागेको थियो तर, अधिकारी कमाउन भारत गएका कारण उनले पुनः परीक्षा दिन पाएनन् । उनलाई पढ्नुपर्छ भन्ने हौसला उनका दाईहरू शशीराम, भगवान, कृष्णप्रसाद, खड्कप्रसाद, साथीहरू पूर्ण सापकोटा र हर्षराज न्यौपानेले दिएका
थिए । पढाइ छोडेको मान्छेलाई पढाइ छोड्नु हुन्न भनेर पढ्नको लागि हौसला दिएका थिए ।
पहिलो पटक एसएलसी दिएको १४ वर्षपछि अधिकारीले फेरि एसएलसी परीक्षा दिए र पास पनि भए । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झै पढ्न पनि उमेरले छेक्दैन । अधिकारीलाई पनि एसएलसी पास गर्ने सपना १४ वर्ष ढिलै भए पनि पूरा गरे । एसएलसी दिएपछि भने उनले कक्षा १२ सम्मको पढाइ पनि पूरा गरे । द्वन्द्वकालमा जाजरकोटबाट सुर्खेत आएका अधिकारीले जीवनको अध्याय यसरी सुरु होला भनेर सोचेका थिएनन् ।
जाजरकोटमा द्वन्द्वका कारण बस्न नसकेर सुर्खेत आएका अधिकारी दिदीको घरमा बसेका थिए । उनी सुर्खेत आएका त थिए तर, जीवनले नयाँ मोड लिन्छ भन्ने सोचेका थिएनन् । उनको दिदीको घर नजिकैको घरमा उनले एक युवतीलाई देखे । उनले देखेको युवती अरु कोही नभएर देवीसरा थिइन् । दुवैले एकअर्काेलाई देखे मन पनि पराए तर, बोल्न भने सेकेनन् ।
अधिकारीको भिनाजु र देवीसराको दाईमार्फत् दुवैको घरपरिवारसँग विवाहको कुरा चल्यो । अधिकारीलाई ढुङ्गा खोज्दा देउता मिलेझै भयो । मन पराएकै केटीसँग आफ्नो विवाहको कुरा चल्दा उनको सुखीको सीमा नै थिएन । उनले भने, ‘मनले रोजेको केटी पाएपछि मलाई अरु के नै चाहिन्थ्यो र ।’ विवाहको लागि दुवै जना राजी भए र २०५८ सालमा मागी विवाह भयो । विवाहपछि अधिकारीले देवीसरालाई सुर्खेतमा नै राखे । दुःख सुख जे परेपनि सँगै बाँड्ने कसम खाएका यो जोडीले सुरुमा दिनमा धेरै संघर्ष गरे ।
विवाह अघि एक्लो जीवन थियो जे र जहाँ गएर पनि खान सकिन्थ्यो । तर, विवाह पछि अरुको जिम्मेवारी पनि थपिएको थियो अधिकारीको काँधमा । अधिकारीले सुर्खेतमा आफूलाई स्थापित गराउनको लागि निकै संघर्ष गर्नुप¥यो । उनले नेपालगन्ज एक्सप्रेसमा मासिक एक सय तलब लिएर पत्रिका वितरण गर्ने काम गरे । त्यस्तै उनले काँक्रेविहार, सुसेली साप्ताहिक पत्रिकामा पनि वितरकको रूपमा रहेर काम गरे । अहिले अधिकारी सुन्दर नेपाल संस्थामा कार्यालय सहयोगीको रूपमा काम गर्दै आइरहेका छन् । उनी भन्छन्, ‘जीवनका दुःख धेरै गरें, दुःख पछि नै सुख आउने रै’छ ।’
उनले जीवन निवार्ह गर्नको लागि घुम्ती पसल पनि गरे । दुवै जनाले संघर्ष गरेर जीवनलाई सहज बनाउने प्रयास सधैं नै गरिरहे । दुःखसँग रम्न सिकेका यो जोडी एकआपसमा कहिल्यै झगडा गरेनन् । अभावै–अभावमा जीवन बिताएका जोडी जीवन भनेकै संघर्ष रै’छ भन्ने सोचाइका साथ संघर्षलाई निरन्तर जारी नै राखे ।
पिता विष्णुप्रसाद ढकाल र माता जौकला ढकालको कोखबाट २०४१ सालमा बर्दियामा जन्मिएकी देवीसराको बाल्यकाल पनि दुःखद्सँगै बित्यो । देवीसरा आठ भाइबहिनीमध्येकी कान्छी छोरी हुन् । उनी चार वर्षको हुँदा उनको बुबाको निधन भयो । धेरै भाइबहिनी त्यसमा बुबाको निधन भएपछि देवीसराको बाल्यकाल पनि दुःखद् नै रह्यो । बाल्यकालदेखि नै अलि कडा स्वभावकी देवीसरा कसैले आफूलाई चित्त नबुझ्ने कुरा भन्ने बित्तिकै त्यसको विरोध गर्थिन् । कक्षा चारसम्म पढेकी देवीसराले घरको आर्थिक अवस्था कमजोर भएकै कारण बीचमा नै पढाइ रोक्नुप¥यो ।
सासु ससुरा विनाको घरमा विवाह गरेर आएकी देवीसरा विवाहपछि घरको सम्पूर्ण जिम्मेवारी निभाउनुप¥यो । उनलाई बुहारी हुँदाको अनुभव कस्तो हुन्छ थाहा भएन । माइतीमा छोरी भएर हुर्किएकी देवीसरा विवाह पछि कसैको श्रीमती भएर घरको जिम्मेवारीलाई निभाउनमा नै व्यस्त भइन् । दुवै जनाले दुःखलाई नजिकबाट बुझेका कारण एकअर्काेको दुःख सुखमा सहज रूपमा रम्न सक्ने भए । भनिन्छ नि, ‘दुःख पाएको मान्छेले नै अर्काे मान्छेको दुःख बुझ्छ ।’ त्यस्तै अधिकारी र देवीसराको जीवन पनि दुःखबाट नै सुरु भयो ।
यो जोडीका अनुसार दाम्पत्य जीवन सफल बनाउनको लागि एकअर्काेमा विश्वास, समझदारी हुन आवश्यक छ । जबसम्म एकअर्काे बीचमा विश्वास हुँदैन तबसम्म जुनसुकै सम्बन्ध पनि दिगो रहनसक्दैन । त्यसैले दाम्पत्य सम्बन्धलाई दिगो राख्न र बनाउनको लागि विश्वास नै दरिलो कडी हो । उनीहरू भन्छन्, ‘जीवन भनेको दुःख सुखको संगम हो ।’ जीवनमा जसले दुःखसँग रम्न जान्छ उसैले प्रगति गर्नसक्छ । जीवनमा संघर्ष नै भएन भने त्यो जीवन सार्थक नै हुँदैन । त्यसैले जीवन संघर्ष नै हो जो निरन्तर संघर्षमय नै हुन्छ ।
यो जोडीको जीवनमा सबैभन्दा दुःखको क्षण भनेकै विवाहपछिका दिनमा पाएको दुःख हो । उनीहरू विगत सम्झदै भन्छन्, ‘हामीले जीवनको नयाँ अध्याय सुरु गर्दा खल्तीमा एक रूपैयाँ थिएन, न त बस्ने बास थियो । संघर्ष भने गर्न छोडेनौं । दुःखलाई साथी बनाएर अगाडि बढेका हामी मागेर खाने स्थितिमा पनि पुगेका थियौं । तर, जीवनमा संघर्ष गर्न नछोड्ने व्यक्ति नै जीवनमा अगाडि बढ्नसक्ने रै’छ । जुन संघर्ष हामीले ग¥यौं त्यो संघर्षको फल आज हामी सुखी परिवारको साथमा बसेका छौं ।’
उनीहरू भन्छन्, ‘जीवनसाथी भनेको हरेक दुःख सुखमा साथ दिनसक्ने साथी हो ।’ एक हातले ताली नबजे जस्तै मान्छेको जीवन पनि एक्लो कहिल्यै कट्दैन । जीवनमा केही गर्न र अगाडि बढ्नको लागि साथ र हौसला दिने जीवनसाथीको आवश्यकता पर्दछ । जीवनमा सही मार्ग निर्देशन दिने काम र निस्वार्थ भावनाले माया जीवन साथीले नै गर्छन् । आमा पछिको निस्वार्थ माया गर्ने साथी भनेको जीवनसाथी नै हो । अधिकारीको जीवन पनि सुखमय बनाउनको लागि देवीसराको ठूलो हात छ । अधिकारी भन्छन्, ‘उनी मेरै जीवनमा नआएको भए मैले यतिको प्रगति गर्नसक्ने थिएन, होला मलाई उनले नै जीवनमा दुःख गरेर अगाडि बढ्न सिकाएकी हुन् ।’
उनीहरूको अनुसार विवाह र प्रेम एकअर्काको परिपूरक हुन् । प्रेमपछि विवाह हुनैपर्छ र हुन्छ नै भन्ने हुँदैन तर, विवाह पछिको सम्बन्धमा प्रेम हुन जरुरी हुन्छ । प्रेम जो कसैसँग वा वस्तुसँग पनि हुन्छ तर, विवाह एक जनासँग मात्र गरिन्छ । विवाहपछि अनिवार्य रूपमा प्रेम हुन्छ । यो जोडी नवदम्पत्ती जोडीलाई पहिला एकअर्काेको भावना बुझेर, पढाइ सकेर र आफ्नो खुट्टामा उभिनसक्ने भएर मात्र विवाह गर्न सुझाव दिन्छन् । विवाह दुई व्यक्तिबीचको मात्र नभएर दुई परिवार र दुई समाजको सम्बन्ध कायम गर्ने भएकाले विवाह गर्दा आफ्नो व्यक्तिगत भन्दा पनि परिवारको सल्लाहमा विवाह गर्दा जीवन सहज रूपमा अगाडि बढाउन सकिने उनीहरूको भनाइ छ ।