पूर्वाधार निर्माणमा तीव्रता

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो वर्ष कर्णाली प्रदेशमा हुँदैछ । २०८१ मंसिर २ लाई प्रतियोगिता आयोजनाको मिति निर्धारण गरिएको छ । त्यसका लागि आवश्यक पूर्वाधारको तयारी धमाधम भइरहेको छ । प्रतियोगितालाई लक्षित गरी जिल्ला–जिल्लामा खेलपूर्वाधार निर्माण भइरहेका छन् । प्रतियोगिता नजिकिदै गर्दा पूर्वाधार निर्माणको कामले पनि तीव्रता पाएको छ ।

दैलेखमा कभर्डहल मर्मतको काम भइरहेको छ । २०८० माघ ९ गते ठेक्का सम्झौता भइ काम अघि बढेको हो । १३ लाख ८२ हजारमा २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यस्तै, हुम्लामा हकी खेलमैदान निर्माणको काम सुरु भएको छ । समुन्द्र निर्माण सेवा जुम्लासँग २०८० फागुन ६ गते खेलमैदान निर्माणको ठेक्का सम्झौता गरिएको हो । २०८१ असार २० गते निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको छ । एक करोड ५० लाखमा हकी खेलमैदान निर्माण हुनेछ । जुम्लामा भलिवल खेल मैदान तथा प्याराफिट निर्माणको काम थालिएको छ । हिरा नेपाल निर्माण सेवा जुम्लासँग ठेक्का सम्झौता गरी काम अघि बढाइएको खेलकुद विकास समिति जुम्लाले जनाएको छ । रूकुमपश्चिममा पनि कभर्डहल मर्मतको काम थालिएको छ । २०८० माघमा ठेक्का सम्झौता गरी मर्मतको काम सुरु गरिएको हो । वीरेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको छ । चार करोड ५९ लाख लागत रहेको संरचना निर्माणको जिम्मेवारी अभियान कन्स्ट्रक्सन काठमाडौंले लिएको छ । २०८० चैत ५ गते अभियान कन्स्ट्रक्सन काठमाडौंसँग ठेक्का सम्झौता गरिएको हो । २०८१ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरमा निर्माण थालिएको कालिञ्चोक क्रिकेट मैदानको पनि ८० प्रतिशत काम सकिएको छ । अब २० प्रतिशत काम बाँकी छ । सबैभन्दा उच्च महत्वका साथ हेरिएको वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला निर्माणको काम पनि हालसम्म ७० प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म ३० करोड बजेट कार्यान्वयन भएको छ । अब रंगशालाको ३० प्रतिशत काम मात्र बाँकी रहेको छ । निर्माणाधिन प्रदेश रंगशालामा १४ प्रकारका खेल सञ्चालन गर्ने तयारी छ ।

प्रदेशमै पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन लागेको हो । भौगोलिक विकटताले गर्दा सबै जिल्लामा खेल सञ्चालन गर्न सहज छैन । पूर्वाधार निर्माणका लागि योजनागत रूपमा काम अघि बढाइए पनि निर्माण समयमै सम्पन्न गर्नुपर्ने चुनौतीहरू छन् । यद्यपि, परिषद्ले पूर्वाधारको अभावकै कारणले खेलकुद प्रतियोगिता नरोकिने जनाएको छ ।

प्रकाशित मितिः   १३ चैत्र २०८०, मंगलवार ०८:५५