सरकारको नेतृत्व फेरिने संकेत
सुर्खेत: कर्णाली प्रदेश सरकारको नेतृत्व फेरिने भएको छ । सत्तारुढ गठबन्धनबीचको भागबण्डामा कर्णालीको नेतृत्व नेकपा (एमाले)ले गर्नेगरी छलफल अघि बढेको छ ।
औपचारिक निर्णय नभएपनि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमवार भएको भेटमा प्रदेशको नेतृत्व भागबण्डाका विषयमा छलफल भएको थियो । उक्त छलफलमा एमालेले कर्णालीसहित तीन वटा प्रदेशको नेतृत्व गर्ने आन्तरिक सहमति भएको जनाइएको छ । अब बस्ने सत्ता साझेदार दलहरूको बैठकले भागबण्डा टुँगो लगाउने तयारी छ ।
स्रोतका अनुसार कर्णाली, कोशी र गण्डकी प्रदेश सरकारको नेतृत्व एमालेले लिने तयारी छ । कर्णालीमा अहिले माओवादी नेतृत्वको सरकार छ । माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री छन् ।
एमालेले सरकारको नेतृत्व गरेमा संसदीय दलका नेता यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री हुनेछन् । कर्णालीमा एमाले–माओवादी गठबन्धनसँग सहज बहुमत छ । माओवादीसँग १३ र एमालेसँग १० सांसद छन् । समाजवादीबाट एक जना छन् ।
माओवादीले कर्णालीमा आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन पहल गरिरहेको भएपनि शीर्ष नेतृत्वबीच एमालेलाई दिनेबारे करिब टुँगो लागेको जनाइएको छ । एमाले नेताहरू भने माओवादीले पटक–पटक नेतृत्व गरिसकेकाले यसपटक एमालेले नेतृत्व गर्न पाउनुपर्ने लविङमा लागेका थिए । एमालेले अहिलेसम्म कर्णालीमा सरकारको नेतृत्व गर्न पाएको छैन । अघिल्लो कार्यकालमा संसद्को पहिलो दल भएपनि सत्ता गठबन्धनका कारण नेतृत्व गर्न पाएन ।
प्रकाशित मितिः १३ चैत्र २०८०, मंगलवार ०८:५५
साझा बिसौनी ।