१३२ केभीए प्रसारण लाइन: अघि बढ्यो रुख कटानको प्रक्रिया
सुर्खेत: एक सय ३२ केभिए विद्युत प्रसारण लाइन विस्तार गर्न रुख कटानका लागि छपान कार्य सकिएको छ । कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने ६ हजार दुई सय ३६ रुखमा छपान कार्य सकिएको हो ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख विद्युत विस्तार क्षेत्रमा पर्ने भएकाले कटान हुने भएको छ । त्यसैका लागि छपान गरिएको र अब कटानको फाइल प्रमाणित भएर आउन साथ रुख काट्न सुरु गरिने आयोजना प्रमुख रवि चौधरीले बताए । उनका अनुसार बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार नौ सय १६ र बर्दिया राष्ट्रिय निकुञ्जका तीन हजार तीन सय २० रुखहरूमा छपान गरिएको छ । सरकारले रुख कटानका लागि दिइएको अनुमति र आयोजनाले गरेको रुख छपानको विवरण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेस गरिएको आयोजना प्रमुख चौधरीले जनाए । उनले भने, ‘सरकारले बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ६ हजार दुई सय ३६ रुख कटान अनुमति दिइएको हो । अहिले ती रुखहरूमा छपान गरेर विभागमा विवरण पेस गरेका छौँ । विवरण प्रमाणित भए अबको केही दिनमा रुख कटान सुरु हुन्छ ।’
२०७९ असार १५ गते बसेको मन्त्रीपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान आदेश दिएको थियो । सोही आदेश अनुरूप रुखमा छपान कार्य सकिएको छ ।
सुर्खेत–दैलेख खण्डको काम सुरु
सुर्खेत–दैलेख दोस्रो खण्डको निर्माण कार्य पनि अघि बढेको छ । एक सय ३२ केभिए प्रसारण लाइन विस्तारका लागि दोस्रो खण्डमा काम सुरु भएको हो । उक्त खण्डको डिजाइनको काम सकिएको आयोजनाले जनाएको छ । दोस्रो खण्डअन्तर्गत सुर्खेतको सुब्बाकुनादेखि दैलेखको चुप्रासम्म विद्युत विस्तारको काम सुरु गरिएको हो ।
हालसम्म सर्वे, माटो परीक्षण डिजाइन लगायतको काम सम्पन्न भएको आयोजना प्रमुख चौधरीले बताए । २०८० वैशाखमा ठेक्का सम्झौता गरी दोस्रो खण्डको काम थालिएको हो । २०८२ वैशाखसम्म निर्माण सम्पन्न गर्नेगरी दोस्रो खण्डको काम थालिएको छ । ७५ करोडमा निर्माणको ठेक्का सम्झौता गरिएको छ । डिजाइनको काम सकिएकाले अब फाउनडेसन निर्माण कार्य सुरु गरिने आयोजना प्रमुख चौधरीले जानकारी दिए ।
सुल्झिएन विवाद
यद्यपि, सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा जग्गा विवाद कायमै रहेको छ । विवाद समाधानका लागि फागुनमा सरोकारवालासँग छलफल गरिएको थियो । अहिलेसम्म विवाद समाधान हुन सकेको छैन ।
विद्युत लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध सिर्जना गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्नेछ । तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । पछिल्लो पटक विवाद समाधान गर्नका लागि प्रदेश तथा संघीय सांसदसमेत प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गरेका छन् । उचित मुआब्जा दिएर विवाद समाधान गर्न लागिएको आयोजनाले जनाएको छ ।
म्याद थपको तयारी
लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । आयोजनाको ७० प्रतिशत प्रगति हासिल भएको छ । अझै ३० प्रतिशत काम गर्न बाँकी छ । २०८० चैतमा आयोजनाको सम्झौता सकिँदैछ । ६ महिना म्याद थप गरेर आयोजनाको काम अघि बढाइने आयोजनाले जनाएको छ ।
अझै ३० प्रतिशत काम बाँकी नै रहेकाले म्याद थप गरेर काम अघि बढाइने आयोजना प्रमुख चौधरीले बताए । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको हो ।
७० प्रतिशत भौतिक प्रगति
हालसम्म विद्युत प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ । एक सय पाँच वटा फाउनडेसन निर्माण गरिएको छ भने दश वटा फाउनडेसन बनिरहेका छन् । हालसम्म २२ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सव–स्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
प्रकाशित मितिः १३ चैत्र २०८०, मंगलवार ०८:५४
रजनी याेगी ।