दुर्गमका नागरिकलाई राहत
वीरेन्द्रनगरमा नागरिक अतिथि सेवा गृह निर्माण थालिएको छ । दुर्गमका नागरिकलाई उपचार र अन्य कामका लागि वीरेन्द्रनगर आउन खर्चिलो हुनेभएकाले उनीहरूको सहजताका लागि अतिथि सेवा गृह निर्माण गर्न लागिएको हो । भौगोलिक विकटता र आर्थिक अभावमा प्रदेश राजधानीको बसाइ उनीहरूका लागि महँगो पर्ने गरेको छ । यही समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले वीरेन्द्रनगरमा नागरिक अतिथि सेवा गृह निर्माण सुरु गरेको हो । वीरेन्द्रनगर–६ स्थित राम मन्दिर परिसरमा उक्त भवन निर्माण भइरहेको छ । आर्थिक वर्ष २०७९/०८० मा प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा विकास निर्देशनालयमार्फत् कार्यान्वयन गर्नेगरी भवन निर्माणको काम अघि बढाएको हो ।
नागरिक अतिथि सेवा गृहका लागि कर्णाली सरकारले आर्थिक वर्ष २०७८/०७९ मा पनि बजेट विनियोजन गरेको थियो । उक्त वर्ष पाँच करोड विनियोजन गरिएपनि बजेट कार्यान्वयन भने भएको थिएन । त्यसपछि २०७९ चैत ३ गते ठेक्का सम्झौता गरी काम अघि बढाइएको थियो । दुई करोडमा २०८० असार १५ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको हो । अहिले ६ महिनाको म्याद थप गरेर भवन निर्माण कार्य भइरहेको छ । भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको हो । नगरपालिकाले डीपीआर निर्माणका लागि ११ लाख ७९ हजार रूपैयाँ खर्चिएको छ । भवनमा १७ वटा कोठा र एउटा कोठामा चार जना बस्न मिल्नेगरी निर्माण थालिएको हो । गृहमा एउटा सुविधासम्पन्न सभाहल पनि निर्माण गरिने छ । भवन निर्माण भइसकेपछि कार्यविधि बनाएर नागरिक अतिथि सेवा गृह सञ्चालन गर्ने तयारी छ । सो गृहमा सशुल्क र निःशुुल्क पनि आवास सुविधा दिने व्यवस्था गरिनेछ ।
अतिथि गृह प्रदेशका विभिन्न जिल्लाबाट उपचार गर्न आउने तथा अन्य कामको सिलसिलामा प्रदेश राजधानी झर्ने नागरिकको बसाइँको सहजताका लागि निर्माण गर्न लागिएको हो । भौगोलिक विकटता, यातायातको सहज पहुँच नहुनु र गाउँमै भरपर्दो उपचार सेवा नभएकै कारण हुम्ला, डोल्पा, मुगुु, कालिकोट र जुम्लाका नागरिक वीरेन्द्रनगर आउने गरेका छन् । यसका लागि उनीहरूले समय र पैसा दुवै खर्चिनुपर्ने अवस्था छ । जेनतेन प्रदेश राजधानी झरेपनि उनीहरूको वीरेन्द्रनगरबसाइ महँगो छ । तर आर्थिक रूपमा विपन्न नागरिकलाई वीरेन्द्रनगरमा बस्न र औषधि उपचार गर्नै मुश्किल हुन्छ । उनीहरूका लागि अतिथि सेवा गृहले राहत दिनेछ । उक्त गृहमा मुख्यगरी उपचारका लागि दुर्गम जिल्लाबाट आएका विरामी र अन्य नागरिकले सस्तो दरमा बास बस्न पाउनेछन् ।
प्रकाशित मितिः १२ चैत्र २०८०, सोमबार ०५:०३
सम्पादकीय ।