भोलि सुर्खेतमा एमालेको सभा
५० हजार जनता उतार्ने दाबी, तीन सय स्वयम्सेवक, शीर्ष नेताहरू आउँदै
सुर्खेत, ३ चैत ।
नेकपा एमालेले सुर्खेतमा प्रदेशस्तरको आमसभा गर्दैछ । भोलि (शनिवार) वीरेन्द्रनगरमा हुने आमसभाको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ । ५० हजार जनता उतार्ने र हालसम्मकै ठूलो आमसभा हुने एमालेले दाबी गरेको छ । आमसभामा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
नेकपा एमाले प्रदेश नम्बर ६ ले बिहीवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर आमसभाको तयारीबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एमाले प्रदेश नम्बर ६ का सह–संयोजकसमेत रहेका पोलिटब्यूरो सदस्य यामलाल कँडेलले हालसम्मकै ठूलो आमसभा हुने बताए । साथै सुर्खेतमा अहिलेसम्म कुनै पार्टीले पनि गर्न नसकेको आमसभा आफूहरूले आयोजना गर्न लागेको र हजारौं जनता सडकमा उतार्ने दाबी गरे । जनताको उत्साहजनक सहभागिता रहने र त्यसलाई उचित व्यवस्थापन गर्न तीन सय स्वयम्सेवक परिचालन गर्न लागिएको उनको भनाइ छ ।
स्थानीय निर्वाचन, सामाजिक सद्भाव र राष्ट्रिय एकताको लागि भन्दै एमालेले अहिले मेचीकाली अभियान सञ्चालन गरिरहेको छ । यही अभियानको समापन भोलि सुर्खेतमा हुने र प्रदेश ६ मा पार्टीको शक्ति प्रदर्शन गर्ने नेताहरूले बताएका हुन् । वीरेन्द्रनगरमा हुने सभामा सुर्खेतसहित प्रदेशका अन्य जिल्लाहरूबाट पनि सहभागी आउनेछन् । यस्तै सुर्खेतमा मात्र कार्यकर्ता ओसार्न एक सय भन्दा बढी गाडी गाउँमा पठाइएको नेता कँडेलले जानकारी दिए । आमसभामा सहभागी हुन हरेक कमिटीलाई अनिवार्य संख्या तोकिएको छ । सोही संख्यामा आमसभामा सहभागी गराउन भन्दै अहिले घरदैलो अभियान पनि सञ्चालन गरिएको छ । गाउँबाट ठूलो संख्यामा कार्यकर्ता आउने र महिनाको पहिलो शनिवार वीरेन्द्रनगर बजार बन्द हुने भएकाले पनि सभामा जनताको सहभागिता बढ्ने एमालेको आँकलन छ ।
आमसभामा सम्बोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल आउनेछन् । यसअघि स्थानीय घण्टाघरचौकमा आमसभास्थल तोकिएको थियो । तर सहभागीको संख्या बढ्ने र उक्त स्थान साँघुरो हुने भन्दै आयोजकले आमसभा खुलामञ्चमा गर्ने निर्णय गरेका छन् । सहभागीको संख्या धेरै देखाउन दलहरूले साँघुरो स्थानमा आमसभा गर्दै आएका थिए । तर यसपटक एमालेले भने खुलामञ्च नै रोजेको छ । स्थानीय निर्वाचन नजिकिएको र शक्ति प्रदर्शन गर्न भन्दै एमालेले बुलुबले गेटबाट ¥याली निकाल्ने तयारी गरेको छ । यस्तै सभालाई व्यवस्थापन गर्न तीन सय बढी स्वयम्सेवक तयार पारिएको छ ।
एमालेका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालीले सुर्खेतमा भोलि एमालेको हैसियत देखिने बताए । उनले भने, ‘सडकमा हजारौं जनता उत्रिनेछन्, हामीले ५० हजार उतार्ने तयारी गरेका छौं । एमाले के भन्ने सुर्खेतमा देखिनेछ, अब एमालेलाई कसैले रोक्न सक्दैन ।’ एमालेको लोकप्रियता र जनलहर देखेर मान्छेहरू आत्तिएको भन्दै उनले अब एमालेले आफ्नौ हैसियत देखाउने चेतावनी दिए । उनले थपे, ‘केही मान्छेहरू झुण्ड बनाएर हामीलाई अवरोध गर्न खोज्दैछन्, यो लोकतन्त्रमाथिको आक्रमण हो । अब एमाले कसैले रोकेर रोकिदैंन, जनसागर बनेर अगाडि बढ्छ ।’ सुर्खेतमा हालसम्मकै ठूलो आमसभा हुने र यसले एमालेको शक्ति प्रदर्शन हुने उनको भनाइ छ । यो आमसभापछि पार्टीले नयाँ रणनीति बनाएर जनताको बीचमा जानेसमेत उनले जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।