परीक्षार्थीलाई पुष्पगुच्छाले स्वागत
पाँच सय विद्यार्थी अनुपस्थित, तीन जना निरीक्षक निष्कासन
सुर्खेत, ३ चैत ।
माध्यमिक शिक्षा परीक्षा अन्तर्गत पहिलो दिन सुर्खेतमा परीक्षार्थीलाई पुष्पगुच्छा र अविरले स्वागत गरिएको छ । परीक्षालाई भयरहित र मर्यादित बनाउन जिल्लाका सबै परीक्षा केन्द्रमा परीक्षामा सहभागी विद्यार्थीहरूलाई केन्द्रमा पष्पगुच्छा, अविर र मुस्कानसहित स्वागत गरिएको हो । यसअघि आफूले नमस्कार गर्दै आएका शिक्षक शिक्षिकाबाटै परीक्षाको दिन उल्टै नमस्कार पाउँदा विद्यार्थीहरू दंग परेका थिए ।
परीक्षाको पहिलो दिन बिहीवार बिहानैदेखि परीक्षा केन्द्रको प्रवेशद्वारमा नै केन्द्राध्यक्ष तथा निरीक्षकहरू परीक्षार्थीहरूलाई स्वागत गर्न बसेका थिए । जब परीक्षार्थीहरू केन्द्रमा आए, तब उनीहरूलाई पुष्पगुच्छा र अविरले स्वागत गरिएको थियो । साथै केन्द्राध्यक्ष र निरीक्षकहरूले उनीहरूलाई परीक्षा सफलताको शुभकामना समेत दिए । परीक्षा केन्द्रमा पाएको स्वागत र सम्मानले विद्यार्थीहरूको मनोवल बढेको थियो । सूर्यप्रकाश मावि पलैंटे परीक्षा केन्द्रमा परीक्षार्थीलाई पुष्पगुच्छाले स्वागत गरेपछि केन्द्राध्यक्ष अमृता बुढाथोकीले यसले उनीहरूको मनोवल बढेको बताइन् । परीक्षालाई त्रासको रूपमा नभइ सहज रूपमा दिनसक्ने वातावरण सिर्जना गर्न आफूहरूले मुस्कानसहित स्वागत गरेको उनको भनाइ छ ।
जिल्ला शिक्षा कार्यालयले जिल्लाका ३० वटै परीक्षा केन्द्रमा मुस्कानसहित विद्यार्थीलाई स्वागत गरिएको जनाएको छ । शिक्षा कार्यालयका सूचना अधिकारी भोजप्रसाद लम्सालले भने, ‘पहिलो दिनको परीक्षा शान्तिपू्र्ण रूपमा सम्पन्न भयो, सबै केन्द्रमा मुस्कानसहित विद्यार्थीलाई स्वागत गरिएको छ । अधिकांश केन्द्रमा त पुष्पगुच्छा र अविरले नै स्वागत भएको छ, यसले परीक्षार्थीको आत्मवल पनि बढेको छ ।’ यस्तै अनिवार्य
अंग्रेजी विषयको पहिलो दिनको परीक्षामा सुर्खेतमा साढे पाँच सय परीक्षार्थी अनुपस्थित भए । शिक्षा कार्यालयका अनुसार पाँच सय ४५ जना परीक्षार्थी पहिलो दिनको परीक्षामा अनुपस्थित भएका छन् । यस्तै जिल्लामा तीन जना निरीक्षकलाई निष्कासन गरिएको छ । सुर्खेतमा यो परीक्षाका लागि नौ हजार एक सय ३० जनाले आवेदन भरेका थिए ।
तर पहिलो दिनको परीक्षामा साढे पाँच सय विद्यार्थी सहभागी भएनन् । सूचना अधिकारी लम्सालका अनुसार आदर्श मावि लेखफर्सा परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई निष्कासन गरिएको छ । प्रक्रिया विपरित राखिएकाले उनीहरूलाई निष्कासन गरिएको शिक्षा कार्यालयले जनाएको छ । अनुपस्थित भएकामध्ये स्तर वृद्धिका लागि आवेदन दिएका चार सय, आशिंकतर्फका ३६ र नियमिततर्फका एक सय नौ जना विद्यार्थी छन् । डी प्लस भन्दा कम अंक प्राप्त गरेका विद्यार्थीले स्तर वृद्धिका लागि आवेदन दिएको र परीक्षा नहुँदै उनीहरू अन्यत्र भर्ना भएकाले पनि अनुपस्थित भएको हुनसक्ने शिक्षा कार्यालयले अनुमान गरेको छ । परीक्षालाई मर्यादित बनाउन सुर्खेतमा ३७ बुँदे आचारसंहिता जारी गरिएको छ ।
साझा बिसौनी संवाददाता ।