घरमै पुगेर औषधि खुवाइने

सुर्खेत, ३ चैत ।
हात्तीपाइले रोगविरुद्धको औषधि घरमै पुगेर खुवाइने भएको छ । जिल्लामा चैत ५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन हुँदैछ । जस अन्तर्गत पहिलो दिन तोकिएको केन्द्रबाट औषधि खुवाइनेछ । केन्द्रमा नआएकाहरूलाई घरघरमै पुगेर औषधि खुवाउने तयारी जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले गरेको छ ।
विगत पाँच वर्षको अवधिमा जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले १३ लाख ५० हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाएको जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०६८/०६९ मा दुई लाख ८० हजार, २०६९/०७० मा दुई लाख ४३ हजार, २०७०/०७१ मा दुई लाख ७० हजारलाई औषधि खुवाएको थियो । त्यस्तै २०७१/०७२ मा दुई लाख ८६ हजार र २०७२/०७३ मा तीन लाख ५७ हजारलाई औषधि खुवाएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
बिहीवार कार्यालयले पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिएको हो । कार्यक्रममा कार्यालयका प्रमुख शम्भुप्रसाद ज्ञवालीले हात्तीपाइले रोग विरुद्धको औषधि खाने कार्यक्रममा सबै सहभागी हुनुपर्ने बताए । गाउँका भन्दा पनि सहरका नागरिकहरू छुट्ने गरेको पाइएको भन्दै उनले सबैलाई ढुक्कसँग औषधि खान आग्रह गरेका छन् । यस वर्ष तीन लाख ६४ जनालाई औषधि खुवाउने लक्ष्य राखेको कार्यालयका फोकल पर्सन उदय बिसीले बताए । यसवर्ष जिल्ला हात्तीपाइले रोगको निवारणको अवस्थामा रहेको बिसीको भनाइ थियो । जिल्लामा गत वर्ष एक सय १५ जनामा हात्तीपाइले देखिएकोमा १४ जनालाई खुट्टा सुन्निएको, ९४ जनामा हाइड्रोसिल भेटिएको बिसीले जानकारी दिए । चैत ५, ६ र ७ गते जिल्लामा औषधि खुवाउने कार्यक्रम रहेको छ । जस अन्तर्गत जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मी र स्वयम्सेविकाहरूलाई तालिम दिइसकेको उनले बताए । ५ गते सम्बन्धित केन्द्रमा गएर औषधि खुवाउने तथा ६ र ७ गते घरमै गएर औषधि खुवाउने कार्यक्रम रहेको बिसीको भनाइ छ । हात्तीपाइलेको औषधि खाली पेटमा खान नहुने तथा गर्भवती महिला सात दिनसम्मका सुत्केरी, मुटु, फोक्सो, मृगौला जस्ता दीर्घ रोगीले पनि औषधि सेवन गर्न नहुने बिसीले बताए ।

प्रकाशित मितिः   ४ चैत्र २०७३, शुक्रबार १५:०४