पर्यटनका लागि पूर्वाधार
कालीकोटको पचाल झरना गाउँपालिका–३ स्थित पचाल झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पूर्वाधार निर्माण थालिएको छ । पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गर्न लागिएको हो । गत आर्थिक वर्षबाट पूर्वाधार निर्माणको काम थालिएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७९/०८० बाट पूर्वाधार निर्माणको काम सुरु गरिएको मन्त्रालयकि प्रवक्ता रेनुका न्यौपानेले बताइन् । उनका अनुसार योजना कार्यान्वयन डिभिजन वन कार्यालय कालीकोटले गरेको छ । अहिले पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । पदमार्ग, मन्दिर, सभाहल, क्यान्टिन लगायतका पूर्वाधार निर्माणका काम भइरहेको डिभिजन वन कार्यालय कालीकोटले जनाइएको छ । विभिन्न चरणमा पूर्वाधार निर्माणका भइरहेको हो ।
पूर्वाधार निर्माणका लागि बसना न्यौपाने जेभी सुर्खेतसँग २०७९ असार २३ गते ठेक्का सम्झौता गरिएको छ । चार वर्षमा निर्माण सम्पन्न गर्नेगरी ६ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको इन्जिनियर सेजुवालले जनाए । २०८३ असारसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । हालसम्म पूर्वाधार निर्माणको ६५ प्रतिशत काम सकिएको छ । पिकनिक स्थल र पार्क निर्माण, प्रतिक्षालय निर्माण, जिपल्यान्ड समेत बनाइनेछ । पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) २०७८ मा निर्माण गरिएको थियो । डीपीआरअनुसार नौ करोड ६५ लाख लागत अनुमान छ । खार्डुगाउँदेखि पचाल झरनासम्म चार किलोमिटरको पदमार्ग निर्माण गरिनेछ । अहिलेसम्म १६ सय मिटर पदमार्ग निर्माणको काम सकिएको छ । दुई वटा मन्दिर निर्माण हुनेछन् । एउटा मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । पूर्वाधार निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने लक्ष्य रहेको पचाल झरना गाउँपालिकाले जनाएको छ । झरनाको नाँपजाँच समेत गरिएको छ । २०८० असोज २ गते नापी विभागले पचाल झरनाको नापजाँच गरेको हो तर विभागले नापजाँचको विवरण सार्वजनिक गरेको छैन । गाउँपालिकाले तीन सय ८१ मिटर उचाइ र ठोक्किएको ठाउँबाट तल झरेको ठाउँको समेत दूरी लिँदा चार सय १५ मिटर अग्लो रहेको दाबी गरेको छ ।
पदमार्ग निर्माण, सभाहल निर्माण र झरनाको बेस क्याम्पमा होमस्टेको तयारी हुँदै गरेकोले पर्यटकीय सम्भावना बढेको छ । पचाल झरनाबाट खसेको पानी करिब दश किलोमिटर ओरालो बगेर कर्णाली नदीमा मिसिएको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो झरना अवलोकन भ्रमणका लागि निकै आकर्षक देखिन्छ । स्थानीयहरूका अनुसार यो झरनाको बीचमा ठूलाठूला गुफाहरू पनि छन् । यो ऐतिहासिक झरनाको संरक्षण, विकास र प्रवद्र्धन गर्न सके कर्णालीको पर्यटन विकासमा ठूलो योगदान पुग्नेछ । आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्ने देखिन्छ ।
प्रकाशित मितिः ११ चैत्र २०८०, आईतवार ०५:०३
सम्पादकीय ।