आवासीय विद्यालय
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा ५२ हजार ६ सय चार जना अपाङ्गता भएका नागरिक छन् । त्यसमध्ये १४ हजार नौ सय ७४ जना बालबालिका छन् । बालबालिकामध्ये अधिकांश विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् । विद्यालयहरू अपाङ्गतामैत्री छैनन् । अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै विद्यालय पनि निकै न्यून छन् । हाल कर्णालीमा अपाङ्गता भएका बालबालिहरूका लागि अध्यापन गराइने ३३ वटा विद्यालयहरू छन् । जसमा दृष्टीविहीन विद्यालय आठ, बहिरा विद्यालय १४, बौद्धिक अपाङ्गता भएका बालबालिका पढ्ने विद्यालय नौ वटा र शारीरिक र समावेशी विद्यालय एक÷एक छन् । यो पर्याप्त संख्या होइन । जसले गर्दा सबै बालबालिका विद्यालय जान पाउँदैनन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशको तथ्यांकअनुसार यहाँका ७० प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर छन् । भौगोलिक कठिनाइ, अपाङ्गता भएकालाई आवश्यक पर्ने सामग्री तथा पाठ्य सामग्री अभाव, शिक्षक अभावजस्ता कारणले कर्णालीमा अपाङ्गता भएका बालबालिका शिक्षाबाट वञ्चित हुनुपरेको हो । सबै क्षेत्रमा सांकेतिक भाषाको व्यवस्था नभएकाले पनि उनीहरूलाई शिक्षा लिन समस्या हुनेगरेको छ । यस्ता समस्या निराकरण गर्ने उद्देश्यसहित सुर्खेतमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई अध्ययन गर्नका लागि आवाससहितको विद्यालय निर्माण थालिएको छ । सात वटै प्रदेशमा पूर्वाधारयुक्त अपाङ्गमैत्री आवासीय विद्यालय सञ्चालन गर्ने संघीय सरकारको नीति अनुरूप कर्णालीमा पनि विद्यालय भवन निर्माण थालिएको हो । वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा भवन निर्माण भइरहेको छ । आर्थिक वर्ष २०७८/०७९ बाट भवन निर्माणको काम थालिएको हो । पहिलो वर्ष भवन निर्माणका लागि सरकारले एक करोड बजेट विनियोजन गरेको थियो । उक्त योजनाको निरन्तरताका लागि आर्थिक वर्ष २०७९/०८० मा दुई करोड विनियोजन भयो । यसैगरी आवासीय विद्यालयको भवन निर्माण कार्यको निरन्तरताका लागि चालु आर्थिक वर्षमा पनि दुई करोड बजेट विनियोजन भएको छ । हालसम्म एउटा होस्टेल र एउटा विद्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले नयाँ ठेक्का सम्झौता गरेर थप भवन निर्माणको काम थालिएको छ । २०८० पुस २६ गते भवन निर्माणका लागि नयाँ ठेक्का सम्झौता गरिएको हो । शिक्षा विकास निर्देशनालयले उषा कन्ट्रक्सन बाजुरासँग एक करोड २० लाखमा भवन निर्माणको ठेक्का सम्झौता गरेको हो ।
विद्यालयमै विभिन्न किसिमको फिजियोथेरापी सेवासमेत सञ्चालन गरिने छ । विद्यालयमा परामर्श कोठा, आइटी कक्ष, सुविधा सम्पन्न पुस्तकालय, आधारभूत उपकरण सहितको फिजियोथेरापी कक्ष, संगीत थेरापी कक्ष, स्पिच थेरापी कक्ष, प्राथमिक उपचार कक्ष, अपाङ्गतासम्बन्धी छलफल कक्ष, अभिभावक र बालबालिकाका लागि परामर्श कक्ष बनाइनेछ । पठनपाठनसहित आवासको व्यवस्थापनले विद्यालयको पहुँचबाहिर रहेका बालबालिकालाई शिक्षा प्रदान गर्न सहज हुनेछ ।
प्रकाशित मितिः ७ चैत्र २०८०, बुधबार ०५:०३
सम्पादकीय ।