अपाङ्गता भएका विद्याथीलाई आवासीय विद्यालय

सुर्खेत: कर्णाली प्रदेशमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई अध्ययन गर्नका लागि आवाससहितको विद्यालय निर्माण थालिएको छ । सातवटै प्रदेशमा पूर्वाधारयुक्त अपाङ्गमैत्री आवासीय विद्यालय सञ्चालन गर्ने संघीय सरकारको नीति अनुरूप कर्णालीमा पनि विद्यालय भवन निर्माण थालिएको हो । वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा भवन निर्माण भइरहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

कर्णालीमा अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको छुट्टै विद्यालय छैन । आर्थिक वर्ष २०७८/०७९ बाट भवन निर्माणको काम थालिएको निर्देशक दिपा हमालले जानकारी दिइन् । उनका अनुसार ११ करोड लागत अनुमान गरिएको छ । पहिलो वर्ष भवन निर्माणका लागि सरकारले एक करोड बजेट विनियोजन गरेको थियो । उक्त योजनाको निरन्तरताका लागि आर्थिक वर्ष २०७९/०८० मा दुई करोड विनियोजन भयो । यसैगरी आवासीय विद्यालयको भवन निर्माण कार्यको निरन्तरताका लागि चालु आर्थिक वर्षमा पनि दुई करोड बजेट विनियोजन भएको छ ।

हालसम्म एउटा होस्टेल र एउटा विद्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले नयाँ ठेक्का सम्झौता गरेर थप भवन निर्माणको काम थालिएको हमालले जनाइन् । निर्देशनालयका इन्जिनियर हिमाल रावतले भवन निर्माण कार्य धमाधम भइरहेको बताए । २०८० पुस २६ गते भवन निर्माणका लागि नयाँ ठेक्का सम्झौता गरिएको हो । शिक्षा विकास निर्देशनालयले उषा कन्ट्रक्सन बाजुरासँग एक करोड २० लाखमा भवन निर्माणको ठेक्का सम्झौता गरेको हो । २०८१ असार १४ गतेसम्म भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

अपाङ्गता भएका बालबालिकाको लागि आवासीय विद्यालय भवन बन्न लागेको भन्दै हमालले प्रदेशभरिकै बालबालिकाले अध्ययन गर्ने बताइन् । अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच पु¥याउने उद्देश्यले कर्णाली प्रदेश सरकारमार्फत् संघीय सरकारको बजेटबाट उक्त बौद्धिक अपाङ्गता आवासीय विद्यालयको भवन निर्माण थालिएको जनाइएको छ । आर्थिक वर्ष २०७८/०७९ बाट भवन निर्माण कार्य थालिएको हो ।

कर्णाली प्रदेशकै गौरवका रूपमा अपाङ्गमैत्री वातावरणमा पठनपाठन गराउनु मुख्य उद्देश्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको पठनपाठनसहित आवासको व्यवस्थापन, विभिन्न किसिमको फिजियोथेरापी सेवा सञ्चालन गर्ने मुख्य लक्ष्य रहेको छ । प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि उक्त विद्यालय सञ्चालन हुनेछ । अहिले संघीय सरकारको लगानीमा विद्यालयको पूर्वाधार निर्माणको काम भइरहेको र विद्यालय सञ्चालनका लागि भने तीन तहका सरकारको समन्वय रहने मन्त्रालयका शिक्षा महाशाखा प्रमुख बलवीर सुनारले जानकारी दिए ।

तीन तहकै सरकारको समन्वयमा विद्यालय सञ्चालन हुनेछ । भौतिक संरचना निर्माणमा संघीय सरकार तथा प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विद्यालय सञ्चालन हुने छ । विद्यालयमा परामर्श कोठा, आइटी कक्ष, सुविधा सम्पन्न पुस्तकालय, आधारभूत उपकरण सहितको फिजियोथेरापी कक्ष, संगीत थेरापी कक्ष, स्पिच थेरापी कक्ष, प्राथमिक उपचार कक्ष, अपाङ्गता सम्बन्धी छलफल कक्ष, अभिभावक र बालबालिकाका लागि परामर्श कक्ष, वार्डेन कक्ष बनाइनेछ । आवासीय विद्यालयको पूर्वाधार निर्माण गर्दा मनोसामाजिक अपाङ्गता, हेमोफिलिया, अटिजमसम्बन्धी अपाङ्गता र बहुअपाङ्गता भएका बालबालिकाकाहरूको लागि छुट्टाछुट्टै ब्लक निर्माण हुने छ । आवश्यक पूर्वाधार निर्माण गरेर विद्यालय सञ्चालन गर्नेगरी तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

 

७० प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर

कर्णाली प्रदेशमा अपाङ्गता भएका ७० प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा ५२ हजार ६ सय चार जना अपाङ्गता भएका व्यक्तिमध्ये १४ हजार नौ सय ७४ जना बालबालिका छन् । यी बालबालिकामध्ये अधिकांश विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् ।

हाल कर्णालीमा ३३ वटा अपाङ्गता भएका बालबालिहरूका लागि अध्यापन गराइने विद्यालयहरू छन् । जसमा दृष्टीविहीन विद्यालय आठ,बहिरा विद्यालय १४, बौद्धिक अपाङ्गता भएका बालबालिका पढ्ने विद्यालय नौ वटा र शारीरिक र समावेशी विद्यालय एक÷एक छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशका जनवकालत अधिकृत जीतलाल ढकालले ७० प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको बताए । भौगोलिक कठिनाइ, अपाङ्गता भएकालाई आवश्यक पर्ने सामग्री तथा पाठ्य सामग्री अभाव, शिक्षक अभावजस्ता कारणले कर्णालीमा अपाङ्गता भएका बालबालिका शिक्षाबाट वञ्चित हुनुपरेको ढकालको भनाइ छ । सबै क्षेत्रमा सांकेतिक भाषाको व्यवस्था नभएकाले पनि उनीहरूलाई शिक्षा लिन समस्या हुनेगरेको छ ।

प्रकाशित मितिः   ६ चैत्र २०८०, मंगलवार ०५:०५