४५ हजारलाई कोरोनाविरुद्धको खोप

सुर्खेत: कर्णाली प्रदेशका करिब ४५ हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसअघि खोप लगाउन छुटेका नागरिकलाई तीन दिने अभियानमार्फत् फाइजर खोप लगाइएको हो । प्रदेशका पाँच जिल्लामा बिहीवारदेखि तीन दिनसम्म खोप अभियान सञ्चालन गरिएको थियो ।

कोरोनाको जोखिम कायमै रहेको र खोपको कभरेज कम भएका कर्णालीका पाँच जिल्लामा पुनः खोप अभियान सञ्चालन गरिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सुर्खेत, कालीकोट, जुम्ला, दैलेख र सल्यानका १६ वटा स्थानीय तहमा अभियान सञ्चालन भएको थियो । त्यसक्रममा करिब ४५ हजार नागरिकले फाइजर खोप लगाएका हुन् ।

जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा ईपीक नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा खोप अभियान सञ्चालन भएको हो । ईपीक नेपालका प्राविधिक विषेशज्ञ प्रदिप श्रेष्ठका अनुसार खोपको कम कभरेज भएका कर्णालीका १६ वटा स्थानीय तहमा यसअघि छुटेका नागरिकले खोप लगाएका हुन् । खोप अभियान सफल बनाउन दुई सय ७८ वटा खोप केन्द्र स्थापना भएका थिए । खोप अभियानका लागि ६० हजार डोज खोप प्राप्त भएको थियो । प्रारम्भिक तथ्यांकअनुसार करिब २० हजार पुरुष र २४ हजार महिलाले खोप लगाएका छन् ।

खोपको कुनै मात्रा नलिएका तथा बुस्टर डोज लगाउन छुटेका १२ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई प्राथमिकता दिइएको थियो । सुर्खेतमा वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका तथा चौकुने र चिङ्गाड गाउँपालिकामा खोप अभियान सञ्चालन भएको थियो । यस्तै दैलेखको नारायण र चामुण्डाविन्द्रासैनी नगरपालिका तथा भगवतीमाई र गुराँस गाउँपालिकामा, कालीकोटको तिलागुफा, रास्कोट र खाँडाचक्र नगरपालिका, जुम्लाको तातोपानी र गुठिचौर गाउँपालिका तथा सल्यानको सिद्धकुमाख, कालिमाटी र सारदा नगरपालिकामा खोप अभियान सञ्चालन भएको थियो ।

ईपीक नेपालका प्राविधिक विषेशज्ञ श्रेष्ठले खोपको माग भएकाले बाँकी रहेका नागरिकलाई आगामी वैशाख महिनामा खोप लगाइने बताए । उनले बैशाखमा सञ्चालन हुने अभियानान खोपको कम कभरेज भएका कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशलाई समेटिने बताए । यस्तै स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले कोरोनाको जोखिम कायमै रहेकाले सबै नागरिकलाई खोपको मात्रा उपलब्ध गराउनुपर्ने बताए ।

प्रकाशित मितिः   ५ चैत्र २०८०, सोमबार ०५:०१