मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढाउने प्रस्ताव पारित

सुर्खेत, २ चैत ।
सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालयको विश्वविद्यालय सभा (सिनेट) राजधानीमा सम्पन्न भएको छ । स्थानीय बासिन्दाले जिल्लामै आयोजना हुनुपर्ने माग गरेको भए पनि सिनेट बुधवार काठमाडौंमा सम्पन्न भएको हो । सिनेटले विश्व–विद्यालयको मातहतमा रहने गरी मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढाउने प्रस्ताव पारित गरेको छ ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका कारण सिनेट राजधानीमै आयोजना गरिएको विश्वविद्यालयले जनाएको छ । सिनेटले सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने र त्यो विश्वविद्यालयको मातहतमा रहने प्रस्ताव अनुमोदन गरेको हो । मेडिकल कलेज स्थापनाको आवश्यक प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय सिनेटले गरेको छ । यो सँगै अब सुर्खेतमा मेडिकल कलेजको प्रक्रिया सुरु भएको र यसले विश्वविद्यालयको गरिमालाई थप बढाउने उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले बताए ।
सिनेटको अध्यक्षता गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपश्चिम विश्वविद्यालयको भौतिक तथा शैक्षिक विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यो विश्वविद्यालय स्थापनाको आफ्नै इतिहास छ, यो विश्वविद्यालयले मध्यपश्चिम क्षेत्रको समृद्धिमा ध्यान दिनुपर्दछ । गरिबी, पछौटेपन र अन्धविश्वासलाई चिर्दै विश्वविद्यालय अगाडि बढोस्, सरकार आवश्यक सहयोग गर्न तयार छ ।’ मेडिकल शिक्षाका लागि सरकार गम्भीर रहेको भन्दै उनले सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि आफूले सहयोग गर्ने जनाए । नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्न यो विश्वविद्यालयले मेहेनत गर्नुपर्ने प्रधानमन्त्रीको सुझाव थियो । साथै उनले प्राविधिक र व्यवसायिक शिक्षा प्रदान गर्दै विश्वविद्यालयले गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।
विश्वविद्यालयको छैठौं सिनेटले रोल्पाको सामुदायिक जलजला बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पसको रूपमा ग्रहण गर्ने निर्णय गरेको छ । यो सँगै यो विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूको संख्या १८ पुगेको छ । विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लका अनुसार सिनेटले विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह आयोजनाको लागि पनि अनुमति दिएको छ । यद्यपि त्यसको मिति भने तोकिएको छैन । मल्लले भने, ‘आजसम्म दीक्षान्त समारोह भएको छैन, अब सिनेटले सहमति दिएको छ । त्यसको मिति कार्यकारी परिषद्ले टुङ्गो लगाउने छ, सम्भवत असार पहिलो साता हुनेछ ।’ उनका अनुसार सिनेटले विश्वविद्यालयको अघिल्लो आर्थिक वर्षको खर्च र आगामी वर्षको प्रस्तावित बजेट पनि स्वीकृत गरेको छ । यस्तै विश्वविद्यालयका केही नियमावलीहरूमा पनि संशोधन गरिएको छ । यो नियमित सिनेट भएकाले अन्य धेरै निर्णयहरू नभएको उनले जनाए । सिनेटमा विश्व–विद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्री धनीराम पौडेलले अब सुर्खेतमा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु हुने बताए । साथै त्यसका लागि आफूले नै पहल थाल्ने उनको भनाइ छ । उनले भने, ‘विश्वविद्यालयले छोटो समयमा नै प्रगति गरेको छ, हामीले गरीबका सन्तानलाई सहज रूपमा उच्च शिक्षा दिन सक्नुपर्छ । यसतर्फ विश्वविद्यालयले ख्याल गरोस्, दक्ष र सीपयुक्त नागरिक उत्पादन मुख्य उद्देश्य बनाउनुस् ।’ जनभावना अनुसार विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए । कर्णालीको आर्थिक तथा सामाजिक अवस्था हेरेर विश्वविद्यालयले आगामी योजना बनाउनुपर्ने उनको सुझाव थियो । सो अवसरमा प्राध्यापक संघ नेपालका सभापति प्राध्यापक रामेश्वर उपाध्याय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य भिउसिं बुढाले विश्वविद्यालयमा आंगिक क्याम्पसका रूपमा पारित गरिएका क्याम्पसहरूलाई तुरुन्त कार्यान्वयन गर्न र विश्वविद्यालय स्थापनाकालदेखि हालसम्म कार्यरत शिक्षक कर्मचारीहरूको स्थायित्वमा ध्यान दिन आग्रह गरे ।
यस्तै सांसद शक्तिबहादुर बस्नेत, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. भूषण श्रेष्ठ, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. राधाकुमारी शाह, मध्यपश्चिमका क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा, जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण वेलवासे, विश्वविद्यालयका डीन, र डाइरेक्टरहरूले गुणस्तरीय शिक्षा प्रदानमा जोड दिएका थिए । उनीहरूले मध्यपश्चिमा विद्यमान गरिबी, अशिक्षा, पछौटेपन, सामाजिक कु–संस्कार तोड्ने खालको पाठ्यक्रम र शिक्षा आवश्यक रहेको बताएका विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

प्रकाशित मितिः   ३ चैत्र २०७३, बिहीबार ०८:२५