राष्ट्रिय सुरक्षा नीति खोइ ?

दीपक गिरी ‘कर्महारा’

राज्यले सम्बोधन गर्न नसकेका समस्याहरू केलाउँदै जाने हो भने त्यस्ता समस्याका चाङ बन्छ । वि.सं. २०६९ साल साउनमा आएको भिषण बाढीको चपेटामा परेका धेरै मानिसहरूको उचित व्यवस्थापन हुन सकेको छैन । यसतर्फ राज्य व्यवस्थाद्वारा बेवास्ता हुनु वा उनीहरूको उचिव संरक्षणमा ढिलाइ हुन र त्यसपछिको विनाशकारी भूकम्पद्वारा ग्रसीत व्यक्तिहरूको पनि उही हाल हुनपुग्नु विडम्बना हो । अनेकन प्राकृतिक सम्पदाहरूको संरक्षण र संवद्र्धनमा कञ्जुस्याइ देखिनु, विभिन्न सुचारु विकासका कार्ययोजनाहरूले पनि पूर्णता पाउन नसकी अलपत्र अवस्थामा देखापरिरहेको अवस्थाले वर्तमान देशको समग्र राजनीतिमा राष्ट्र उत्थानको मूल एजेण्ड ‘राष्ट्रिय सुरक्षा नीति’ नगन्य रहेको देखिन्छ ।
कुनै पनि देशको राजनीतिमा ‘राष्ट्रिय सुरक्षा नीति’ सवल र स्पष्ट रूपमा लाग हुन सकेन भने त्यो राष्ट्र उन्नतिको शिखरमा उचालिनुभन्दा अवन्नतिको खाडलमा घकेलिंदै जान्छ । यो स्पष्ट छ कि आज सम्पूर्ण विश्वमा जति पनि विकसित राष्ट्रहरू छन् ती राष्ट्रहरूमा निश्चय नै राष्ट्रिय सुरक्षा नीति सवल र स्पष्ट छ । त्यसको उल्टो जुन राष्ट्रले प्राकृतिक सम्पदाले सु–सम्पन्न हुँदा हुँदैको अवस्थामा पनि सवल र स्पष्ट सुरक्षा नीति लागू गर्न नसकी कमजोर बन्न पुगेका राष्ट्रहरू पनि अनगिन्ति छन्, जसमध्ये नेपाललाई पहिलो राष्ट्रको रूपमा लिन सकिन्छ ।
समग्रमा नेपाल प्राकृतिक सम्पदाले भरीपूर्ण, अपार जल सम्पदाद्वारा विभुसित तथा अनुकूल कृषि योग्य भूमिद्वारा सु–सज्जित मुलुक हो । यति हुँदाहुँदैको बाबजुद पनि आज नेपाल विकासको बाटोमा भन्दा विनाशको बाटोमा र उन्नतिको भन्दा अवन्नतिको बाटोमा रहेको देखिन्छ । यसो हुनुको मुख्यकारण राष्ट्रिय सुरक्षा नीति सोचेको भन्दा निकै फितलो रूपमा देखापर्नु नै हो ।
गहिरिएर मनन् गर्दा आज देशका पहरेदार मानिने शीर्ष नेताहरूलाई नै राष्ट्रिय सुरक्षा नीतिबारे स्पष्ट रूपमा जानकारी नभएको प्रतित हुन्छ । यदि जानकारी हुन्थ्यो भने निश्चय नै राज्यले फड्को मार्ने थियो । भन्न मन लाग्छ, यदि हामी यो देशका वफादार नागरिक हौं, यो देशलाई विकसित मुलुकको सूचिमा राख्न चाहन्छौं र हामी नेपाली भएकोमा गर्व गर्छौं तथा हामी नेपाललाई अन्तरहृदयदेखि माया गर्ने राष्ट्रवादी नेपाली हौं भने, यो देशलाई प्रकृति सुहाउँदो सुरक्षा नीति लागू गर्नुपर्छ, ताकी अन्तरर्राष्ट्रिय जगतले नेपाललाई वीरभूमी, देशभूमी तथा सुन्दर नेपालको नामले चिनोस् त्यति बेलानै विगतदेखि भनिंदै आएको नयाँ नेपाल’ भन्ने नामले पूर्णता पाउनेछ ।
सर्वप्रथम त नेपाल भौगोलिक बनावटका हिसावले हिमाल, पहाड, तराई समेटिएको सानो तर सुन्दर तथा उर्वर भूमी पनि हो । यतिमात्र नभइ मानव जीवनको अति आवश्यक वस्तु पानीमा पनि हामी निकै धनी छौं । जडिबुटीका हिसाबले विश्व चर्चित नेपाल सुहाउँदो सुरक्षा नीतिको व्यवस्थापन गर्न सकिन्छ । हामीले यी सुरक्षा नीतिहरू भौगोलिक वातावरण सुहाउँदो तरिकाले लागू गर्न सक्छौं । जस्तो की दुई ठूला छिमेकी तथा विकसित राष्ट्र (भारत, चीन)सँग कस्तो सम्बन्ध राख्ने, कसरी राष्ट्रिय स्वाधिनता कायाम राख्ने, ताकी हामी वीर गोर्खालीका नामले पहिले झैं चिनिइरहन पाउँ । हाम्रो सुन्दर, शान्त, विसाल नेपाललाई कसैले हस्तक्षेप गर्न नसकोस् । राज्यमा रहेका प्रचूर जल सम्पदाको कसरी उपयोग गर्ने ? मित्रराष्ट्रहरूबाट कसरी राष्ट्रिय स्वार्थ जोगाउने ? विश्व परिवेशमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न कस्तो शिक्षा नीति लागू गर्ने, व्यापार घाटा कसरी कम गर्ने, उद्योगधन्दाहरू कसरी विस्तार गर्ने र चर्कदै गएको बेरोजगारीको समस्या कसरी समाधान गर्ने आदि विषयमा तर्जुमा गरिने गुरुमन्त्र नै नेपाल सुहाउँदो राष्ट्रिय सुरक्षा नीति हो ।
साँच्चै नै बहुदलीय व्यवस्थाको स्थापनाकालदेखि आजसम्मको यति लामो अवधि केवल सत्तास्वार्थको फोहोरी खेलमा लिप्त हुन पुग्यो, अवसरवादी, प्रतिक्रियावादी तथा, प्रतिगमनकारी प्रवृत्ति देशको आन्तरिक राजनीतिमा प्रवेश हुन पुग्दा राष्ट्रका मुख्य पहिचान, धरोहर तथा संकृतिको अवमूल्यन गरी जबरजस्ती उखेलेर फाल्ने धृस्टता गरियो, जसले गर्दा नेपालको वास्तविक पहिचान गुम्न पुग्यो र राष्ट्र असफलतातर्फ गयो । राज्यमा रहेका हरेक क्रियाकलापमा उल्टोगिन्ती सुरु भयो, जुन उल्टो गिन्तीको असर आज हामी सम्पूर्ण नेपालीले भागिरहेका नै छौं । हुन पनि हो, आजदेशले नराम्रो परिणति भोगिरहेको छ । कृषिप्रधान देश भनेर चिनिने देशमा कृषि प्रणाली अन्तर्गतको सुरक्षा नीतिले पूर्णता पाउन नसक्दा आज सम्पूर्ण राज्य खाद्य अभावको चपेटामा परेको छ । वर्षेनी राज्यले अनिकाल भोकमरी जस्तो लाजमर्दो विषयसँग आत्मसात् गर्न पुग्नु कितसम्मको लाजमर्दो विषय हो सहजै अनुमान लगाउन सकिन्छ । तराई क्षेत्रमा रहेको सम्पूर्ण उर्वर भूमिको समुचित व्यवस्थापन हुन नसक्दा तथा कृषि प्रणालीको उचित प्रबन्ध, कृषकहरूलाई उचित विउविजन, कृषि औजार तथा सहुलियत दिन राज्यले कञ्जुस्याइ गरेकोले आज कृषि प्रधान देश भनेर चिनिने नेपालले पूर्णता पाउनसकेको छैन ।
प्रचूर जलसम्पदाको प्रशस्त दुरूपयोग हुनाले आज देश अन्धकारमय छ । उज्यालो भए पनि नगन्यमात्रामा र आकाशे खेतीको भरमा जिउन विवस छ । राष्ट्रका तुरुण योद्धाहरू बेरोजगारको चर्काे मारले आक्रान्त भएर नचहँदा नचाहदै पनि विदेशमा पसिना बगाउन बाध्य छन् । उद्योगमा नाफा मुखी हुन सकिरहेका छैन, देश ऋणको बोझले थिचिएर हलचल गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । प्रत्येक नागरिकहरू ऋणी हुनाले उनीहरूको जीवनस्तर माथि उठ्न सकेको छैन । यी सबै विकारहरूबाट देशलाई जोगाउन विकसित तुल्याउन अविलम्ब राज्यले राष्ट्रिय सुरक्षा नीति ल्याउनै पर्छ र लागू गर्नैपर्छ ।

प्रकाशित मितिः   ३ चैत्र २०७३, बिहीबार ०८:२२