अ जर्नी फ्रम न्यू जर्जी टू कर्णाली

कर्णाली मेरो घर हो

म्यागी डोयन

मलाई नेपालबारे केही थाहा थिएन, नक्सामा पनि यो कहाँ छ थाहा थिएन । मलाई त्यतिखेर एउटा १८ वर्षे उमेरले अनुभव गर्ने रोमाञ्चकता र रमाइलो मात्र महŒवपूर्ण थियो ।

तर अन्जानैमा म उत्तरपूर्वी भारतमा पुगेपछी यो सबै परिवर्तन भयो । त्यहाँ सिमामा काम गर्न बसाइ सरेका ठूलो संख्यामा भेटिएका नेपाली अनि अरु आप्रवासीबाट नेपाली संस्कृतिको बारेमा, नेपालको बारेमा, अझ भारतपट्टीबाट नेपाल नियाल्न पाउनु मेरो लागि ठूलो उपलब्धी रह्यो । जहिले पनि नेपाल र नेपालीलाई चिन्नु जो कोहीको लागि पनि विशेष रहन्छ, मेरो लागि पनि यो अनुभव अछुतो रहेन । म १९ वर्षको हुँदा पहिलो चोटि कर्णाली आएँ, धेरै प्रश्नहरू बोकेर । मैले किन नेपालीहरू कर्णाली छोड्न चाहन्छन् ? जस्ता थुप्रै अरु प्रश्नहरू बोकेको थिएँ ।

मैले कठोर काम गरिरहेका धेरै नेपालीहरू भारतको उत्तरपूर्वी क्षेत्रमा भेटेको थिएँ । उनीहरू जुम्ला, हुम्ला, कालीकोट, दैलेखको कुरा गर्थे, मलाई चाहीँ आँफैले आफ्नै आँखाले हेर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।

म आफूलाई भाग्यमानी ठान्छु, कि न्यू जर्जीको एउटा कुनाबाट सुरुमा उत्तरपूर्वी भारत अनि अझ त्यो पनि कर्णाली आइपुगँे । म अरुजस्तो पोखरा वा काठमाडौंमा पुगिनँ, सिधै जहाजबाट नेपालगञ्ज अनी त्यहाँबाट बस चढेर सुर्खेत बसपार्कमा ओर्लिएँ । त्यतिबेला अहिलेको जस्तो बसपार्क थिएन, एउटा सानो बस रोक्ने ठाउँजस्तो थियो ।

म आभारी छु, म यहाँ आइपुगेँ र यती राम्रो कर्णाली क्षेत्रको मायामा परेँ । म कर्णालीलाई अथाहा माया गर्छु । म यसलाई मेरो घर भन्छु, म यहाँ मेरो परिवार हुर्काइरहेको छु । मेरो टिम पनि यहीँ छ, केही कर्णालीबाटै छन्, केही बाहिरबाट छन् । मेरो यो यात्रा प्रश्नको मात्रै रहेन, यो धेरै पटक, असफलताको, सिकाइको, र पटक–पटक कोसिसको पनि रहेको छ र यसमा कर्णालीको सुन्दरता र माया बनेर सधैँ साथ रहिरह्यो ।

जब कर्णाली बाहिर कतै जुम्ला हुम्ला, कालिकोट, मुगु, अछाम र दैलेखको बारेमा सुनेर मानिसहरूले, ‘तिमी त्यहाँबाट पो हो ? तिमी किन त्यहाँ बसेको ? त्यहाँ त जङ्गल छ, त्यो त पिछडिएको छ’ भनेको सुन्छु, मलाई असाध्यै रिस उठ्छ ।

मैले यो पिछडिएको भन्ने शब्द धेरै पटक सुनेको छु । गरिब अनि पिछडिएको । अझ पछिल्लोचोटि केही वर्ष यता विकासका क्षेत्रमा काम गर्नेहरूसँग कुरा गर्दा अझै धेरै सुनेको छु, यसले मलाई अझै रिसाहा बनाउँछ, मलाई रक्षात्मक बनाउँछ ।

किनकी जोकोही पनि कर्णाली पुगेको छ उसलाई थाहा छ, कर्णाली पिछडिएको छैन । यो ठाउँमा त धेरै माया, जादु, अनि सुन्दरता छ । जब तपाईं यहाँका जिल्लाहरू जानुभयो, त्यहाँका मानिसहरूलाई भेट्नुभयो अनि उनीहरूका कथा सुन्नुभयो, उनीहरूलाई उनीहरूको सपनाको बारेमा सोध्नु भयो भने थाहा पाउनुहुन्छ उनीहरू आफ्ना केटाकेटीलाई राम्रो शिक्षा दिन चाहन्छन्, उनीहरू राम्रो अवसर चाहन्छन्, राम्रो जिविका चाहन्छन्, आफ्नो परिवार र परिवारका सदस्यहरूको राम्रो रेखदेख गर्न चाहन्छन् । मलाई उनीहरूका यस्ता चाहनाहरू असाध्यै सुन्दर अनि अग्रगामी लाग्छन् ।

हामी अहिले कर्णालीको भाष्य परिवर्तन गर्न कोशिस गर्दैछाँै । कर्णाली के हो र कर्णाली के हुनसक्छ बुझाउने प्रयास गर्दैछौँ । म अहिले ३७ वर्षकी भएँ, मैले मेरो अहिलेसम्मको आधा जीवन कर्णालीमै बिताइसकेँ, म अझै सिक्दै छु, सपना देख्दैछु, कोसिस गर्दै छु र यो सजिलो भने पक्कै छैन र रहेन पनि ।

हामीले कर्णालीलाई जनयुद्धबाट बाहिर निस्किदै गरेको पनि हेर्यौं, मैले यहाँ सडक जलेको देखेँ, यहाँको द्वन्द देखँे, शान्ति पनि देखँे र कर्णाली प्रदेश घोषित भएको पनि देखेँ । सँगै मध्यपश्चिम विश्वविद्यालय, प्रादेशिक अस्पताल, सडक बनेको पनि देखेँ । तर यो सबै हुँदा फेरी म रक्षात्मक हुन्छु, सबैतिर सडक नखोल, एउटा पनि रुख नकाट, फेरी अर्को कंक्रिटको जंगल नबनाऊ, नदिनालामा प्लास्टिक नहाल भन्न मन लाग्छ, यसको लागि म लड्छु, झगडा गर्न पनि मन लाग्छ ।

उनीहरूले मलाई अंग्रेजीमा बोल भने तर रमाइलोको लागि केही नेपाली सुनाउँछु । मैले नेपाली सिक्दै गर्दा मैले सिकेको पहिलो शब्द ‘छैन’ । म अमेरिकन हुँ, अनी म सोच्थँे किन उनीहरू सधैं चाइनाको कुरा गर्छन् ? त्यो बेला मलाई यो फरक नै थाहा थिएन, उनीहरूले ‘छैन’ भनेको, म चाइना भन्ने देश बुझ्थेँ । अनि अर्को म सम्झिन्छु, मैले सिकेको अर्को शब्द, ‘एक्छिन्’ । तर मलाई लाग्थ्यो उनीहरू एक्सन भनिरहेका छन्, एक्सन–एक्सन । मलाई याद आउँछ, उनीहरू भन्छन्, ‘म माइली छोरी । एक जना दिदी हुनुहुन्छ, अनि एक जना बहिनी पनि हुनुहुन्छ ।’

‘एक जना दिदी, एक जना बहिनी, भाइ–दाइ छैन ?’

मैले याद गरँे यहाँ दाइ–भाइ नहुनु ठूलो कुरा हुन्छ, जबकी हामी तीन दिदी–बहिनी हाँै र हामीलाई केही फरक परेको छैन । यहाँ भने दाइ–भाइ हुनु कति महŒवपूर्ण छ । मैले थाहा पाएँ, यहाँ तपाईं कसको छोरी र तपाईंको कति दाइ–भाइ छ भन्ने कुराले कति धेरै फरक पार्छ । यो मेरो लागि असाध्यै चाख्लाग्दो विषय थियो । यहाँ बस्दै जाँदा मैले थारुहरूको बारेमा थाहा पाएँ । यहाँको सुन्दर संस्कृतिको बारेमा बुझ्दै गएँ । यहाँका पहाडी मानिस चाहे त्यो जाजरकोट, हुम्ला वा जुम्लाको किन नहोस्, उनीहरूका फरक–फरक संस्कृति, धर्मिक विस्वास अनि संस्कार भित्रको सुक्ष्मता कति गहन छ, कति गर्विलो छ भन्ने थाहा पाएँ । म अरु मानिसहरूले पनि कर्णालीको त्यो प्रकृति, त्यो संस्कृति देखुन् भन्ने चाहन्छु । साथै कर्णालीमा बस्ने अनि यसलाई माया गर्ने सबैले यो संस्कृति, परम्परा र प्रकृतिलाई जोगाउन लागि परौँ पनि भन्न चाहन्छु ।

म आफैमा सिद्ध छैन, मैले यहाँ काम सुरु गर्दा धेरै सानो थिएँ, जम्मा १९ वर्षको । अहिले जब म १९ वर्षको केटीलाई देख्छु, म आफुलाई नै भन्छु, ‘हरे म त बच्चै थिएँ ।’ तर यो पनि हो कि किशोर अवस्थाको शक्ती केही थाहा नपाउनुमै हुन्छ । सबै उत्तरहरू नजान्नुमै हुन्छ । मैले पनि आफुलाई त्यही अन्जान रहनुबाटै निर्देशित गरिरहेँ । मैले सोधे आँफैलाई, ‘मलाई उत्तरहरू थाहा छैन तर मेरा प्रश्नहरू के हुन ?’

मलाई लाग्छ, जब शिक्षाजस्ता क्षेत्रमा वा अन्त कतै जब उत्तरहरू मात्र खोजिन्छ, सहि उत्तर मात्र खोजिन्छ, त्यहा पनि म आफुसँग प्रश्न मात्र लिएर बसेको पाउँछु । मैले देखेको छु हामी उत्तर खोज्छौँ र त्यो पनि सहि उत्तर । सहि हुनु कति आवश्यक छ ? मेरा उत्तरहरूले भन्दा मेरा धेरै प्रश्नहरूले मलाई कर्णालीको यात्रातर्फ निर्देशित गरे । मेरो पहिलो प्रश्न थियो, ‘किन सबैजना कर्णाली छोडिरहेछन् ?’ मलाई यो जान्नु थियो, बुझ्नुथियो । मेरो दोस्रो प्रश्न थियो ‘किन बच्चाहरू स्कुल जान छोडेर नदी किनरमा ढुङ्गा फोडिरहेछन् ?’, तेस्रो प्रश्न थियो, ‘किन हामी बच्चाहरूलाई पढ्ने ठाउँमा र अरुबेला पनि कुटिरहन्छौँ ?’

यि र यस्तै धेरै प्रश्नहरूले मलाई र मेरा सहकर्मी टोपबहादुर मल्ललाई उत्तरहरू भेट्टाउने यात्रामा डो¥यायो, तर उत्तरहरू मात्र भेट्टाउने होइन कि समाधान पनि भेट्ने गरी । अनि विस्तारै थाहा हुन्छ, प्रश्नलाई जती चोइटाउँदै गइन्छ, केही न केही सिकिन्छ, गर्दै सिक्दै जाने हो । हामीसँग पैसा थिएन, जमिन थिएन तर प्रश्नहरूमा टेक्दै अगाडि बढ्दै जाँदा हामीले विस्वास गरेको केही निर्माण गर्न सकेका छौँ । हामी हाम्रो बच्चाहरूलाई यही सिकाउँछौ कि ‘तिमीहरूसँग सबै जवाफहरू नहुन सक्छन, तर याद गर तिमीहरू कस्ता प्रश्नहरू सोध्दैछौ ?’

हाम्रो कोपिला भ्यालीका बच्चाहरूको कुरा गर्न चाहन्छु । म तपाईंहरूलाई पनि हाम्रो सुन्दर कोपिला भ्याली स्कुल भ्रमण गर्न निम्ता गर्छु । यो स्कुलमा हामी बच्चाहरूलाई प्रश्न गर्न सिकाउँछाँै । यहाँ हामीले आफ्नो लागि ऊर्जा पनि विकास गरेका छौँ, जसले पानीको जगेर्ना गर्छ, यो भूकम्प प्रतिरोधी विद्यालय हो, यहाँ हामी बच्चाहरूलाई पृथ्वीलाई सम्मान गर्न सिकाउँछौँ । पानीको सम्मान अनि जगेर्ना गर्न सिकाउँछौँ । हामी कसरी नमुना स्कुल बनाउन सक्छौँ ? हामी कसरी आवश्यकतामा रहेका केटाकेटीहरूलाई गुणस्तरीय शिक्षा दिन सक्छौँ ? यीनै प्रश्नहरूले हामीलाई कोपिला भ्याली स्कुल निर्माण गरायो, जुन मेरो मुटु बनिसकेको छ ।

म भर्खरकै छु, जम्मा ३७ वर्षकी भएँ । कहिलेकाहीँ सोच्छु, ‘यदी म भोली गएँ भने मेरा बच्चाहरूले मलाई कसरी सम्झिनेछन् होला ? के कुराहरू होलान् जुन म चाहन्छु मेरा बच्चाहरूले मेराबारे गरुन् ?’ र यो कुराहरूले मलाई झक्झ्काउँछन् कि मैले अझै धेरै राम्रो गर्नु छ । यसलाई म आफ्नो पथप्रदर्शक बनाउँछु र सोच्छु, म यदी यहाँ मेरा बच्चाहरूले मेरो बारेमा के–के भन्लान् र हामीले सिकेका कुराहरू कसरी उनीहरूले आफ्नो संस्कृतिको मूल्य मान्यताभित्र जोगाउन सकुन् ।

म आश गर्छु उनीहरूले मैले बिहानको कफी नपाउन्जेल को मेरो ठुस्स पर्ने बानी याद गरुन् । उनीहरूले सम्झिउन्, ‘उसलाई प्लास्टिक कत्ती पनि मन पर्दैन्थ्यो र कसैले प्रयोग गरेको भेटिएमा कसरी उसले त्यसलाई गाली गर्थी अनी जसरी पनि सय रूपैयाँ जरिवाना गराउथि ।’ म चाहन्छु मेरा बच्चाहरूले मलाई त्यो जहाँ पनि साईकलमा जान्थी, सुर्खेतभरी साइकलमा घुम्थी भनेर सम्झिउन् ।

अर्को म चाहन्छु उनीहरू मेरो अङगालोलाई सम्झिउन्, म जतिसुकै व्यस्त हुँदा पनि मैले दिन नछुटाउने अङ्गालोलाई सम्झिउन् । उसलाई बच्चाहरू मन पथ्र्यो, अनि भेटिने सबै बच्चाहरूलाई अङगालो मार्थी ।
म भन्छु सबै बच्चाहरू सबल हुन्छन् । कोही पनि कमजोर हुँदैनन् । हरेक बच्चाले शिक्षा, सुरक्षा र माया पाउनु पर्छ । म चाहन्छु उनीहरूले म नाँचेको सम्झिउन् । हाम्रो यात्राको महŒवपूर्ण पाटोमा मैले जहिले पनि नृत्य र संगीतलाई छुटाएको छैन । अर्को मैले उनीहरूको फुटबल कहिले पनि छुटाएको छैन, अनी सधैं छेउमा बसेर चिच्याएर उनीहरूको हौसला बढाएको उनीहरूले सम्झिउन भन्ने लाग्छ । म यो पनि चाहन्छु कि उनीहरूले सुर्खेतमा काटिएका हरेक रुखहरूले मलाई कती शोककुल बनाए र म हरेक काटिएका रुखहरूको लागि कति रोएको छु । म चाहन्छु उनीहरूले मलाई रुख संरक्षण गर्ने उग्र व्यक्तीको रूपमा पनि सम्झिउन् ।

म चहान्छु उनीहरू हाम्रो कर्णालीलाई यहाँका पुतलीहरू, चराहरू, सुनपङ्खी किराहरू, गड्यौलाहरू अनि माटो सम्झिउन् । सम्झिउन् कि सबैतिर कंक्रिट नराख्दा पनि हुन्छ । मलाई यहाँको प्रकृति, चराहरू अनि पहाड जोड्ने जमिन मनपर्छ ।

मलाई लाग्छ हामी खेल्न पाए हुने । मलाई बच्चा मनपर्छ अनि म चाहन्छु म सधैं बच्चाहरूबाटै घेरिएर उनीहरूसँगै खेलुँ । बच्चाहरू निस्छल हुन्छन्, उनीहरू हाँस्छन्, खेल्छन्, उनीहरूसँग बस्दा उनीहरूजस्तै बच्चा भैदिदा मलाई लाग्छ हामीले उनीहरूबाट कर्णालीको बारेमा धेरै सिक्न सक्छौँ । हामी उनीहरूजस्तै हुनपर्छ । उनीहरू हामी जस्तो हुन पर्दैन, हामी उनीहरू जस्तो हुन पर्छ । बरु हामीले उनीहरूको लागि संसार बनाउन पर्छ, जुन उनीहरूको लागि नै हुनुपर्छ । उनीहरूलाई माया, सुरक्षा अनि आधारभूत अधिकार जस्ता तीन वटा कुरा भए पुग्छ ।

हामी सबैसँग छनोटको सुविधा छ । म भाग्यमानी ठान्छु कि मैले मेरो जीवनमा धेरै छनोट गर्न पाएँ । मैले बस्नलाई कर्णाली छान्न पाएँ, मेरो परिवार यहाँ हुर्काउन पाएँ । हामीमध्ये कसैले धेरै छनोट गर्न पाउँछौ, कसैले कम पाउँछौ । म के विस्वास गर्छु भने यदी हामीलाई छनोट को सुविधा भयो भने हामीले प्रेम छान्नुपर्छ, अखण्डता छान्नुपर्छ, अनि सहि छान्नुपर्छ । सबैभन्दा धेरै म के चाहन्छु भने कर्णालीले माया–प्रेम छानोस्, साईकल चढ्न चाहोस्, दिगो कुराहरू छानोस, बच्चाहरूको हाँसो नि खुसी छानोस् । हामीसँग राम्रा कुराहरू छान्ने सुविधा छ र यही कुरा धरोहरको रूपमा कोपिलाका हरेक बच्चाहरूले छानुन् ।

मलाई कर्णाली मन पर्छ, यसलाई म धेरै माया गर्छु मेरो घर भन्न पाउँदा गर्व लाग्छ ।

मेरो किताब ‘बिटविन् द् माउन्टेन एण्ड स्काइ’ भर्खर नेपाली र अंग्रेजी दुवै भाषामा निस्केको छ । यो मेरो कर्णालीको लागि प्रेमपत्र हो, अनि नेपालको लागि माया हो । आशा छ, यसमा तपाईंले हाम्रा कथाहरू, केही ज्ञान अनि केही मुल्य मान्यताहरू पाउनुहुनेछ । म तपाईंहरू सबैलाई कोपिला भ्याली स्कुलमा आउन आग्रह गर्छु । केही सिक्न, केही जान्न अनि सँगसँगै हुर्किनको साथै कर्णालीलाई सुन्दर बनाउन पनि सघाउनुहोस् भन्न चाहन्छु ।

(म्यागीले कर्णाली उत्सवमा न्यूजर्सीदेखि कर्णालीसम्मको यात्रा–कथा सुनाएकी थिइन्, त्यसैको अनुवाद यहाँ समावेश गरिएको हो ।)

प्रकाशित मितिः   ३ चैत्र २०८०, शनिबार ०५:०४