गुमनाम द्वारी झरना
सुर्खेत: दैलेखको नौमुले गाउँपालिका–३ स्थित द्वारी झरना संरक्षणको पर्खाइमा छ । प्रचुर सम्भावना बोकेको पर्यटकीय स्थल उचित संरक्षणको अभावमा ओझेल परेको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नसक्ने झरना संरक्षणमा कसैले चासो दिएका छैनन् । ६१ फिट अग्लो द्वारी झरना वर्षाैदेखि गुमनाम छ ।
सरकारको प्राथमिकतामा नपर्दा झरनाको संरक्षण हुन नसकेको स्थानीयहरू बताउँछन् । नौमुले गाउँपालिका वडा नं. ३ का टिकाराम पौडेल सरकारले आवश्यक पूर्वाधार निर्माण नगर्दा पर्यटकीय स्थल ओझेलमा परेको बताउँछन् । झरनासम्म पुग्ने सडक निर्माण गरिएको छैन भने प्रचारप्रसार भएको छैन । उनकाअनुसार ५० वर्ष पहिले नै झरनाको प्राविधिक नापजाँच गरिएको थियो । ‘२०३० सालमा नै झरनाको नापजाँच गरिएको हो । त्यतिबेला ६१ फिट अग्लो रहेको पत्ता लगाइयो, अहिलेसम्म द्वारी झरनाले मुहार फेर्न सकेको छैन’ पौडेलले भने । सरकारले झरनाको संरक्षणमा चासो नदेखाएका कारण अस्तित्व मेटिँदै जान थालेको उनको गुनासो छ । पौडेलले थपे, ‘द्वारी झरनालाई संरक्षण गर्ने हो भने यहाँका स्थानीयको आय–आर्जनमा समेत टेवा पुग्छ । हालसम्म पनि सरकारले संरक्षणमा चासो दिएको छैन । अब त झरनाको स्वरूप नै हराउन थाल्यो ।’
झरना संरक्षणका लागि छुट्टाएको बजेटसमेत अन्यन्त्रै खर्च गर्ने गरिएको स्थानीयको आरोप छ । स्थानीय गणेश गिरीका अनुसार झरनाको पानीसमेत बर्सेनि घट्दै गएको छ । संरक्षणको अभाव, आगलागी र जलवायु परिवर्तनको असर झरनाबाट बहने पानीमा समेत पर्दै गएको उनले जनाए । ‘साउन र भदौमा पानी धेरै हुन्छ,’ गिरीले भने, ‘अन्य समयमा झरनाको पानी निकै कम देखिन्छ । स्थानीय सरकारले समेत संरक्षणमा चासो दिएको छैन ।’
झरनाको संरक्षण तथा व्यवस्थापनका लागि धेरै ठाउँमा पहल गर्दा पनि अहिलेसम्म कतैबाट संरक्षण नभएको नौमुले गाउँपालिका–३ का वडा अध्यक्ष नरबहादुर पुरीले बताए । उनका अनुसार आवश्यक पूर्वाधार नहुँदा झरना पर्यटकको रोजाइमा पर्न सकेको छैन । उनले भने, ‘द्वारी झरनासम्म पुग्ने पदमार्ग समेत व्यवस्थित छैन । अन्य पूर्वाधार पनि बनेका छैनन् ।’ स्थानीयका अनुसार झरना पत्ता लागेको ५० वर्ष पुग्यो । तर अहिलेसम्म संरक्षण तथा प्रचारप्रसार हुन सकेको छैन ।
यद्यपि, गाउँपालिकाले द्वारी झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि केही पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । संघ र प्रदेश सरकारसँग आवश्यक पूर्वाधार निर्माणका लागि बजेट माग गरिएको गाउँपालिकाका अध्यक्ष छबिराम सुवेदीले बताए । द्वारी झरना सौन्दर्यताका हिसाबले पर्यटकीय क्षेत्र बनाउन सकिने निकै सम्भावना भएको झरना रहेको उनको भनाइ छ । संघीय सरकारको आर्थिक सहयोगमा पाँच सय मिटर पैदल मार्ग निर्माण गरिएको सुवेदीले जनाए । आर्थिक वर्ष २०७३÷०७४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट विनियोजन गरेको थियो । संघीय सरकारको १५ लाख बजेटमा पैदल मार्ग निर्माण गरियो । त्यसयता अन्य पूर्वाधार निर्माणका काम भएका छैनन् । गाउँपालिकाका अध्यक्ष सुवेदी यो वर्ष पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गर्न बजेट माग गरिएको बताउँछन् ।
संरक्षणका साथसाथै झरनाको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । सामान्य ज्ञानका पुस्तकमा समेत द्वारी झरनाबारे सामाग्री प्रकाशित भएको झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो । यस झरनाको सरकारी तवरबाटै पूर्वाधारको विकास हुन सकेको छैन । भौगोलिक रूपमा विकट, झरनासम्म पुग्ने सडक निर्माण नहुँदा झरना हेर्न जाने पर्यटकहरू न्यून छन् । दैलेख सदरमुकामबाट १८ किलोमिटर मोटर यात्रासहित करिब चार घण्टा पैदल यात्रा गरेपछि मात्र द्वारी झरना हेर्न पाइन्छ । लामो यात्रा हिँड्नूपर्ने भएकाले त्यहाँ पुग्ने पर्यटकहरू ज्यादै न्यून छन् । जताततै हरियाली, झरनासँगै रहेको चमेरे गुफा र नौमुले यहाँका प्रकृतिक रमणीय स्थान हुन् ।
त्यसो त नौमुले गाउँपालिकामा मात्र साना–ठूला गरी एक दर्जन झरना रहेका छन् । यो वर्ष पनि नयाँ झरना फेला परेको छ । गाउँपालिकाको वडा नं. २ मा ‘रामी झरना’ फेला परेको जनाइएको छ । पालिकामा रहेका झरना मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् ।
प्रकाशित मितिः ३ चैत्र २०८०, शनिबार ०५:०५
साझा बिसौनी ।