कलंक

‘बाबा’ उसको पहिलो शब्द थियो । मात्र सात महिनाको दुधेबालक हो ऊ ।
आमाले पिएको आसँुले पक्रिएको दुधे आसु पियर हुर्किरहेको छ ।
आमाको दुधले पुग्दैन उसलाई, जन्मिदैदेखि पुग्दैन । पुगोस कसरी ?
अब त हरेक सेकेन्ड, मिनेट, घन्टा, दिन, रात, वर्षमा उसलाई धेरै थोक पुग्ने छैन ?
तातेताते गर्ने बेला भएको, हरेक पटक बाबा–बाबाबा गर्दै उठ्न खोज्छ । मेरा औलाहरू दिन्छु, एकटक हेर्छु, कति अभागी रैछ ।
हरेक दिन बढिरहेको छ ।
उसलाइ थाहा छैन ।
उसको एकथोक होइन, सबथोक खोसिएको छ ।

जसले हात समायर तातेताते गर्नु पर्ने हो, ऊ परस्त्रीको हात थामेर मन्दिर, सहर, होटेल बदल्दै हिँडेको छ ।
एउटी स्वास्नी र मातृत्वको मजाक बनाएको छ, आफूले ईस्वर साँची राखेर भरेको सिन्दुरको तमासा बनाएको छ ।
बच्चाको मुस्कानमा खुसी हुँदै हाँस्नु पर्ने, खेल्नु पर्ने, काखमा निदाउनु पर्ने, उठ्नु पर्ने, सँगसँगै बचपन जिउनु पर्नेमा ऊ बदनाम गल्लिमा खुलेआम तमासा गर्दै हिँडिरहेछ ।
ऊ पापी हो, म र मेरो छोराको ।
उसले मेरो छोराको नाममा कलंक लगाएको छ ।
अब जिन्दगीभर त्यो तितो कलंक खेपेरै हरेक पलमा म र मेरो छोरा जिउनु पर्ने छ ।
जुन शब्द मेरो छोराले पहिलो पटक बोलेको छ, त्यही शब्द अभिसाप बनेर जीवनभर पछ्याईरहने छ उसलाई ।
उसले हामी दुईको विगत, वर्तमान, भविस्य सबैको हत्या गरेको हो ।
ऊ हत्यारा हो, स्वास्नी र दुधेबालक को !
मेरो छोराको भविस्यको हत्यारा हो ।
मेरो छोराको वर्तमानको हत्यारा हो ।
मेरो छोराको नामको हत्यारा हो ।
छोरोलाई काँधमा राखेर बजार घुमाउनु पर्नेमा हाम्रो जिउँदो लाशमा ऊ बदनामीलाई समाजमा घुमाइरहेको छ ।
एउटा गलत मान्छेसँग गरेको प्रेमले खुनखार अपराधिले भन्दा बढी पीडादायक अन्त्येष्टि दिँदोरैछ, जसको सिकार म भएकी छु ।
जसले मेरो आत्मसम्मान, अस्तित्वको विधिवत हत्या गरेको छ,
मलाई सबैदेखि भरोसा उडेको छ, प्रेम, विस्वास, परिवार, समाज, जीवन…सब…सबदेखि ।
आँखामा समुन्द्रको छाल झै रोकिएकै छैन । मनमा यति बिघ्न पीडा छ कि न लुकेको छ न देखिएको छ,
किन यस्तो,
मैले पढेका हरेक कथाहरू गलत साबित भएका छन्, रत्नाकर डाकुबाट बाल्मिकी बनेको । खै, त्यो कथा उसलाई सिकाइएन, उसलाई जरुरत थियो, मलाई होइन । अब सबैथोक इस्वरको हातमा गएको छ ।
कसैको संसार जलेको छ, अनि कसैलाई तमासा गर्ने ठाउँ बनेको छ !
ओहो कस्तो विचित्र,
कसैको आसु बगेको छ, अनि कसैको हाँसो खुलेको छ !
ऊ त्यहाँ हेर त बाबु; तिम्रो नाना जलेको छ ।
ऊ त्यहाँ हेर त बाबु; तिम्रो भात खाने भाडो मेरेको छ !
कति पापी हुन् मनहरू । अरुको पीडामा आफु नाचेका छन् !
ओहो कसरी सुनाउँ
ऊ त्यहाँ हेर त बाबु; तिम्रो दुधको बोतल घोप्टे परेको छ !
ऊ त्यहाँ हेर त बाबु; तिम्रो नुनु गर्ने ओछ्यान मुर्छा परेको छ !
कसैले तमासा बनाए, कसैले सम्पतिका लागि मुन्टो गाडे, आफ्नै हँु भनि आफ्नाले नै हो पिठ्यु पछाडि छुरा रोपेको !
ऊ त्यहाँ हेर त बाबु; तिम्रो खेलौना तमासा बनेको छ !
तिमी र म जीउँदा लाश बनेका छौँ ।
अनि मृत मलामी बनेका छन्, आफ्ना भन्ने आफन्तहरू !
तिम्रो एक–एक थोपा आसँुले सरापेपछि त्यो घर अब मसानघाट बनेको छ ।

ऊभन्दा पर संसार नदेखेकी म ।
अनि पुरा संसार बाहिर बसाएको ऊ ।
मेरो सबथोक भएको ऊ
अनि उसको केहीथोक नभएकी म
ऊ खुसी हुँदा खुसी, दुखी हुँदा दुखी हुने म
अनि सारा सुखसलय किन्न सक्ने दम भएको ऊ
ऊ र म अनि सन्तानको खुसी चाहाने साघुँरो सोच भएकी म
अनि अनेकौ चरित्र बोकेको सफेद २१आँै शताब्दी को ऊ !

म हरेक पटक उसका गल्ति माफ गरिरहेँ ।
ऊ गल्ति गरिरह्यो, म सम्झाइरहेँ ।
उसका हरेक गल्ति पैसाले भुलिरहेका उसका आफन्त, अनि अस्तित्वविहीन म ।
उ अकड बढाईरह्यो
ऊ लड्यो, मैले उठाएँ ।
म फेरि साथ चलेँ, ऊ मलाई साईड लगाईरह्यो  ।
म उसलाई बचाईराखेँ
उसले मलाई लडायो, म उठेँ ।
ऊ मलाई मार्न खोज्यो म अझै बाँचिरहेँ ।
तर ऊ मेरो सन्तानको स्वास रोक्नसम्म पुग्यो ।
अन्ततः मलाई अब ऊ पनि पुग्यो !
अब न म उसका गल्तिहरूको भागिदार हुनेछु, न त उसको ढाल नै । सब इस्वरको हातमा पुग्यो र अब मलाई ऊ पनि पुग्यो ।
..
जब मृत्युलाई नजिकैबाट देखेँ,
सन्तानको स्वास रोकिन थालेको देखेँ,
अब मलाई ऊ पुग्यो ।
उसले मलाई न कुनै प्रेम न सम्मान न आस न भरोसा केहि दिएन । खै म उसलाई किन प्रेम गरिरहेथँे, गरिरहेछु ?
एक नमिठो चोट लागेको छ ।

उसले उसलाई देवता अनि मलाई सस्तो वस्तु सम्झियो ।
कोही नारी नारीको नाममा कलंक हुन्छन्, ऊ त्यही हो ।
अनि ऊ त्यही पुरुष हो, जो हजाराँै राक्षस एक मुख लिएर मेरो संहार गर्न आएको थियो ।
उ कस्तो पुरुष हो, जसले आफ्नि स्वास्नी र बच्चालाई अरु कसैको लागि स्वास फेर्न नै नदिएर फ्याकिदियो, भगवान उसका हर इच्छा पुरा हुन शिवाय मेरो अस्तित्व मेटाउने !
अब मलाई सबचिजदेखि पुग्यो ।
ऊ मेरो मृत विगत बन्यो ।
भगवान म यहि माग्छु ऊ र उसको उसलाइ म र मेरो दुधे बालकको आसुँ नलागोस्, उसलाई त्यो सब दिनुस, जो उसको कर्मले दिन्छ । अब म उसको किरायको सम्बन्धबाट खालि खुट्टा निकालिएकी छु,
अब मलाई सम्बन्धदेखि विस्वास उडेको छ ।
न्याय–अन्याय, सहि–गलत कर्मको फल यहि जुनिमा देख्नुपर्ने छ । मेरो छोरालाई त्यो बदनाम सहरको हावाले कहिलै छुन नसकोस् । म छोराकै भविस्यका लागि बाँचेकी हुँ, अब हरेक पल उसले दिएको दाग मुटुमा लुकाएर जिउनु छ, मलाई मेरो छोराको जीवनका लागि स्वास फेर्नुछ !
यो अवस्थामा पु¥याएर उसले के साबित गर्दैछ, ऊ नै जानोस् ।
ऊ र उसकी ऊ दुवै पापी हुन् ।
एउटी नारी भएर नारीमाथि नै बज्रपात पार्ने ।
एउटी आमा भएर बच्चाको आसुँको कारण बन्ने ।
आफ्नो सन्तानलाई सहि बाटो देखाउन नसक्ने ।
अर्काको सन्तानको सुख चैन खोस्ने ।
यो सब सामथ्र्य कसरी राख्न सक्छन् !
कुन संस्कारमा पर्छन् यि गतिबिधिहरू, भगवान मलाई केही चाँहिदैन जसले जे कर्म गरेको छ त्यही फल दिनुहोस् ।

 

-क्रान्ति शर्मा

प्रकाशित मितिः   ३ चैत्र २०८०, शनिबार ०५:०३