राष्ट्रिय प्रतियोगिताको फाइनलमा कर्णाली
सुर्खेत: कर्णाली प्रदेशको क्रिकेट टिम विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी–ट्वान्टी च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सेमीफाइनलमा शुक्रवार लुम्बिनी प्रदेशलाई पराजित गर्दै कर्णाली उपाधि नजिक पुगेको हो ।
लुम्बिनीले दिएको एक सय ५२ रनको लक्ष्य कर्णालीले १९औँ ओभरमा पाँच विकेट गुमाएर पुरा ग¥यो । कर्णालीको जितमा अर्जुन घर्तीले ४३, दिनेश अधिकारीले ३६ र कप्तान रविन्द्रजंग शाहीले २४ रनको योगदान दिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीलाई एक सय ५१ रनमा समेट्दा कर्णालीका लागि दिपेन्द्र रावतले चार, प्रकाश जैसीले तीन, दिवान पुनले दुई र दिनेश अधिकारीले एक विकेट लिएका थिए ।
अब कर्णालीले उपाधिका लागि शनिवार बलियो टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको खेलमा आर्मीसँग कर्णाली पराजित भएको थियो । यद्यपि, मधेस प्रदेश र एपीएफ क्लबलाई पराजित गर्दै समूह उपविजेताको रूपमा सेमीफाइनल पुगेको थियो । शुक्रवार सेमीफाइनलमा जित निकाल्दै उपाधि नजिक पुगेको छ ।
राष्ट्रियस्तरको प्रतियोगितामा कर्णाली दोस्रो पटक फाइनल प्रवेश गरेको हो । यसअघि गत जेठमा जनकपुरमा भएको महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कर्णालीले जितेको थियो । उक्त उपाधि कर्णालीको पुरुष क्रिकेट टिमले राष्ट्रियस्तरको प्रतियोगितामा हात पारेको पहिलो उपाधि थियो ।
प्रकाशित मितिः ३ चैत्र २०८०, शनिबार १०:५४
साझा बिसौनी ।