सीप सिकेर उद्यमी बन्दै महिला

सुर्खेत, १ चैत ।
‘म गाउँमा जन्मिएँ, गाउँमै बसोबास भयो । ऊ बेला राम्रोसँग पढ्न पनि पाइन, जागिर पाउने सम्भावना भएन’ उनले भनिन्, ‘हातमा सीप नभएपछि सबैको हेंला सहनुपर्ने रहेछ, साबुन किन्ने पैसा पनि माग्नुपर्ने । अरुको भरमा बाँच्नु पर्दा धेरै पीडा भयो, अब त म आफ्ना लागि आफै कमाउन सक्ने भएकी छु ।’ हाते बुनाइ सम्बन्धी तालिम लिएर विभिन्न सामग्री उत्पादन गर्न सक्षम भएकी लगामकी रत्ना नामजाली आफ्नो व्यथा सुनाउँदै थिइन् ।
सुर्खेत लाटीकोइली निवासी कमला नेपालीका पनि दिन फेरिएका छन् । सीप सिकेर आम्दानी गर्नसक्ने भएपछि उनमा जिउने आत्मबल पनि बढेको छ । उनी भन्छिन्, ‘सबैभन्दा ठूलो पढाइ रहेछ, हातमा सीप नहुँदा पनि दुःख पाइने रहेछ । पढाइ र सीप नभएकै कारण आजसम्म धेरै दुःख पाएँ, घरखर्च चलाउनै मुस्किल भयो ।’ तर गाउँका साथीहरूको सल्लाहपछि हाते बुनाइ तालिम लिएको र घरखर्च आफै कमाउन सक्ने भएको उनले बताइन् । उनले थपिन्, ‘अब त झोला, गमला, र टोपी बुन्नसक्ने भएकी छु, हातमा सीप भएपछि अब अरुको भर किनपर्नु ? आफैले उत्पादन गरेका सामान बिक्री गरेपछि नगद आउँछ, त्यसैले परिवारको खर्च चलाउँछु ।’
आम्दानीको उपाय नहुँदा परिवारमा अपहेलना र खर्च चलाउन दुःख भोग्दै आएका ग्रामीण महिलाहरू सीप सिक्ने अभियानमा जुटेका छन् । कतिपय महिलाहरूले सीप सिकेर व्यवसायिक उत्पादन समेत थालेका हुन् । घरखर्चकै लागि पुरुषमा निर्भर हुँदै आएका र आर्थिक अभावकै कारण परिवारभित्र कलह सहन बाध्य महिलाहरू आयआर्जनमा लागेसँगै पीडाबाट मुक्त भएका छन् । जिल्लाको ग्रामीण क्षेत्रका महिलाहरू हिजोआज दालमोठ, अचार निर्माण, झोला, टोपी, जुत्ता सिलाइ र अन्य सामान निर्माण गर्नसक्ने बनेका छन् । सीप सिकेर गाउँ पसेका महिलाहरूले हिजोआज उद्यम नै सञ्चालन गरिरहेका छन् । यसले आफूहरू आर्थिक रूपमा आत्मनिर्भर बनेको र परिवारमा पनि सम्मान पाउन थालेको उनीहरूको भनाइ छ ।
जिल्लामा सञ्चालन भएको गरिबी निवारण कार्यक्रम अन्तर्गत यो वर्ष मात्र ८५ जनाले सीप सिकेका छन् । यो कार्यक्रम अन्तर्गत विभिन्न तालिममा सहभागी भएका महिलाहरूले गाउँमा फर्केर उत्पादन थालेका हुन् । ‘घाँस र दाउरा गर्ने यी हातले झोला पनि बुन्न सकिंदो रहेछ, सधैं भाँडा माझ्ने हातले सुन्दर गमला बनाउन सक्ने भएकी छु ।’ गुटुकी राधिका विकले आफ्नो खुशी साट्दै भनिन्, ‘अब मैलै अरुसँग ऋण माग्नुपर्ने बाध्यता टरेको छ, छोराछोरी कसरी पढाउँला भन्ने चिन्ता पनि रहेन । हातमा सीप छ, मनमा आँट पनि छ ।’ सीपले नै आर्थिक आम्दानी गर्न सजिलो हुने भन्दै उनले अब आफूहरू हाते बुनाइका सामान उत्पादन गर्ने उद्योग नै खोल्ने तयारीमा रहेको उल्लेख गरिन् । वीरेन्द्रनगरकी ललिता बयलकोटीले सीप प्राप्त गरेपछि आयआर्जनका लागि भौंतारिनुपर्ने बाध्यता हट्ने बताइन् । साथै उनले आफूहरूले उत्पादन गरेका सामग्रीको बजारीकरणमा अब समय खर्चिने जानकारी दिइन् ।
महिलाहरूलाई आयआर्जनमूलक सीप प्रदान गरिएको र यसले उनीहरू उद्यमी बन्दै गएको गरिबी निवारण कोषका जिल्ला कार्य प्रबन्धक टीकाराम पोखरेलले बताए । उनका अनुसार यो वर्ष जिल्लामा ८५ जना नयाँ उद्यमी तयार भएका छन् । यस्तै जिल्लामा एक हजार उद्यमी तयार पार्ने आफूहरूको लक्ष्य रहेको भन्दै उनले दुई वर्षको अवधिमा जिल्लामा आठ करोड रकम लगानी भएको जानकारी दिए । उनले भने, ‘बाख्रा र कुखरापालनले मात्र हुँदैन, अब नयाँ प्रविधिको सीप आवश्यक छ । हामीले महिलाहरूलाई सानो लगानीमा सञ्चालन गर्नसक्ने सीप प्रदान गरिरहेका छौं, सीप सिकेपछि उनीहरू उद्यममा लागेका छन् ।’ उनका अनुसार दालमोठ र अचार उत्पादन, झोला, टोपी, गमला, डल बुनाइ तथा जुत्ता निर्माणको तालिम प्रदान गर्ने गरिएको छ । यसमा आर्थिक रूपमा कमजोर र सिमान्तकृत समुदायलाई प्राथमिकता दिने गरिएको उनको भनाइ छ ।
सुर्खेतमा विभिन्न पाँच वटा गैरसरकारी संस्थाहरू स्याक, सुन्दर नेपाल, कोडेट, वामलगायतले गरिबी निवारण कोष अन्तर्गतको कार्यक्रम सञ्चालन गरिरहेका छन् । तालिमपछि उद्यम सञ्चालन भएको र अब बजारको खोजी गर्नुपर्ने अवस्था आएको ती संस्थाहरूको भनाइ छ । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी अमृत लम्सालले सीपले नै उद्यमी बढाउन सकिने बताए । साथै उनले साना उद्यमहरू सञ्चालन हुँदा लगानी कम चाहिने र आयआर्जनमा टेवा पुग्ने बताए । यसैबीच महिलाहरूका लागि हाते बुनाइ सम्बन्धी तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । तालिममा ग्रामीण क्षेत्रका दुई दर्जन महिलाहरूको सहभागिता रहेको थियो । सात दिनसम्म सञ्चालन भएको तालिम समापन समारोह जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत टंक लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   २ चैत्र २०७३, बुधबार ०८:०९