एसइइ शान्तिपूर्ण बनाउन आचारसंहिता

सुर्खेत, ३० फागुन ।
एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक हुन लागेको कक्षा १० को परीक्षाको तयारी पूरा भएको छ । सुर्खेतमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षाको तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयले परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन ३७ बुँदे आचारसंहिता नै जारी गरेको छ ।
यसपटक कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा आगामी चैत ३ गतेबाट सुरु हुँदैछ । यो परीक्षामा यसपाली सुर्खेतबाट नौ हजार एक सय ३० जना परीक्षार्थी सहभागी हुने भएका छन् । निकै चासोका साथ लिइने यो परीक्षाका लागि जिल्लामा ३० वटा परीक्षा केन्द्र तोकिएका छन् । यस्तै केन्द्राध्यक्षहरू समेत तोकिएको र उनीहरूलाई परीक्षा सञ्चालनका लागि आवश्यक अभिमुखीकरण समेत गरिएको शिक्षा कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्नका लागि विभिन्न आचारसंहिता समेत जारी गरेको छ । यसपटकको परीक्षामा आफ्ना नातेदार परीक्षार्थी भएको केन्द्रमा कसैले पनि निरीक्षकको रूपमा जिम्मेवारी पाउने छैनन् । शिक्षा कार्यालयले परीक्षार्थी कोही पनि आफ्नो नातेदार नभएको लिखित हस्ताक्षर गरेर मात्र निरीक्षक खटाउन केन्द्राध्यक्षलाई निर्देशन दिएको छ । यदि कसैले छलेर जिम्मेवारी लिएको भए कानुन अनुसार कारबाही हुने जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताए । उनले भने, ‘तोकिएको आचारसंहिता अनुसार जिम्मेवारी पूरा गरौं, कसैले अटेर गरे सजाय हुन्छ । परीक्षालाई शान्तिपूर्ण बनाऔं, यो सबैको दायित्व हो ।’
आचारसंहिता अनुसार अब विद्यार्थीहरू अनिवार्य रूपमा विद्यालयको पोशाकमा परीक्षामा सहभागी हुनुपर्ने, प्रवेशपत्र विना परीक्षामा सहभागी हुन नपाइने, होस्टेल, कोचिङ्ग कक्षा जस्ता शैक्षिक संस्थाका सञ्चालक एवम् व्यवस्थापकहरूलाई परीक्षा सञ्चालनमा सहभागी गर्न नपाइने, मर्यादा विपरित काम गर्नेलाई तत्काल निश्कासन गर्ने, एउटै निरीक्षकलाई हरेक दिन एउटै कक्षामा नराख्ने र परीक्षा अवधिभर मोबाइल चलाउन नपाइने उल्लेख छ । विभिन्न ३७ बुँदे आचारसंहिता जारी गरिएको छ । यो पालना भएमा जिल्लामा परीक्षा मर्यादित हुने कार्यालयको ठहर छ । उच्च मनोबलका साथ परीक्षा केन्द्रमा विद्यार्थीलाई स्वागत गर्न र परीक्षा सञ्चालनमा जुट्न केन्द्राध्यक्षहरूलाई जिल्ला शिक्षा अधिकारी शाहले आग्रह गरेका छन् ।
शिक्षा ऐनमा संशोधन भएपछि यस वर्षदेखि कक्षा १० सम्मलाई माध्यमिक शिक्षा परीक्षाको रूपमा लिन सुरु गरिएको हो । परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चैत ३ गते बिहीवार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । प्राविधिक विषयसमेत गरी चैत १४ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । यसवर्षको परीक्षालाई मर्यादित बनाउने केन्द्राध्यक्षले प्रतिबद्धता जनाएका छन् । यो वर्ष सुर्खेतमा ६ जना महिला केन्द्राध्यक्ष तोकिएका छन् । यस्तै परीक्षा केन्द्रलाई बालिकामैत्री बनाइनेछ । शिक्षा कार्यालयका अनुसार महिनावारी भएका छात्रालाई सहज होस् भनेर हरेक केन्द्रमा सेनेटरी प्याड वितरण गरिने भएको छ । परीक्षालाई शान्तिपूर्ण बनाउन सुरक्षाको सबै व्यवस्था भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका एसपी मोहन आचार्यले हरेक केन्द्रमा १० जना सुरक्षाकर्मी परिचालन हुने र एक जना महिला प्रहरी अनिवार्य रहने जानकारी दिए ।
यस्तै प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले परीक्षालाई सहज रूपमा लिन सबैसँग आग्रह गरेका छन् । उनले भने, ‘सबैले सहज वातावरण निर्माण गरौं, अनावश्यक भीड जम्मा भएर परीक्षा केन्द्रलाई त्रसित नबनाऔं । हाम्रो जिल्लाको परीक्षा नमुना बनाउनेतर्फ जुटौं, अमर्यादित काम गर्नेलाई हामी कडा कारबाही गर्न बाध्य हुनेछौं ।’ परीक्षामा विद्यार्थीले सहज रूपमा लेख्न पाउनुपर्ने भन्दै उनले यसमा सहयोग गर्न राजनीतिक दल, अभिभावक र शिक्षकहरूलाई आग्रह गरे । यसैबीच परीक्षालाई मर्यादित बनाउने उद्देश्यले शिक्षा कार्यालयले केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गरेको छ । सोमवार वीरेन्द्रनगरमा भएको उक्त कार्यक्रममा केन्द्राध्यक्षहरूले तोकिएको जिम्मेवारी पूरा गर्ने जनाएका हुन् । साथै उनीहरूले यसपालीको परीक्षा भयरहित र शान्तिपूर्ण हुने अपेक्षा गरेका छन् ।

प्रकाशित मितिः   १ चैत्र २०७३, मंगलवार १७:२६